पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संविधानमा उल्लेख भएको समाजवादको व्याख्या गरेर जाने बेला आएको बताएका छन्।
शुक्रबार काठमाडौँमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘वास्तवमा आज हामी उहाँलाई यो सम्मान किन गर्दैछौँ त भन्दा यो लोकार्पण किन गर्दैछौँ त भन्दा हामी हामी ठूलो तयारीमा फेरि जाँदैछौँ। राष्ट्रलाई विपद् परेको बेलामा, विपद्को भुमरिमा परेको बेलामा त्यसलाई जोगाउनका लागि हामी जाँदैछौँ,’ सापकोटाले भने, ‘समाजवाद संविधानमा उल्लेख छ तर त्यसको राम्रो व्याख्या छैन। अब व्याख्या गरेर अघि जानुपर्छ। अघि गयौँ भने यही नै हुनेछ की कमरेड जगतबहादुर बोहराप्रतिको सच्चा श्रद्धाञ्जली,’ उनले भने।
समाजवाद संविधानमा उल्लेख गरिएपनि राम्रो व्याख्या नगरिएको बताउँदै सापकोटाले आफ्नो जीवनको अन्तिम घडीसम्म कुनैपनि कुरा त्याग्न परे आफू त्याग्न तयार रहेको घोषणा गरे।
सारा तागत लगाएर नेपाली जनताको समाजवाद स्थापना गर्ने सपना साकार पार्नुपर्ने उनको भनाइ थियो।
‘म के विश्वास दिलाउन चाहन्छु भने जीवनको अन्तिम घडीसम्म मैले त्याग्न केही कुरा बाँकी छ भने सम्पूर्ण कुरा त्याग्न म तयार छु। सारा तागत लगाएर हामी अघि बढौँ। नेपाली जनताको समाजवाद स्थापना गर्ने सपना साकार भइ छोड्नेछ,’ सापकोटाले भने।
पूर्वसभामुख सापकोटाले प्रतिष्ठानलाई माथि उठाउन आफूले गर्नुपर्ने सबै सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताए।
Shares
प्रतिक्रिया