ad ad

राजनीति


ओलीलाई शेखरकाे सुझाव: नैतिकताका आधारमा राजीनामा दिनु राम्राे

ओलीलाई शेखरकाे सुझाव: नैतिकताका आधारमा राजीनामा दिनु राम्राे

नेपालखबर
फागुन १५, २०७६ बिहिबार ७:१६,

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार एकपछि अर्को काण्डमा परिरहेका कारण उनले नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका छन्।

कोइरालाले बिहीबार बिहान ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा सो धारणा व्यक्त गरेका हुन्।

‘मैले त तपाईंले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने आवाज उठाइरहेको छु है,’ कोइरालाले ओलीसँग भएको संवाद उद्धृत गर्दै कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले नेपालखबरसँग भने।

जवाफमा प्रधानमन्त्री ओलीले प्रतिपक्षको दलको एउटा नेताको रुपमा त्यो आवाज उठाएकोमा आफ्नो कुनै गुनासो नभएको बताएका थिए।

‘प्रतिपक्षको नेताको धर्म हो, त्यसमा मेरो कुनै गुनासो छैन,’ ओलीले भनेका थिए।

पछिल्ला समयमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसन काण्ड, संविधान संशोधन विवाद, पार्टीभित्रको विवाद र अन्य अनियमितताका विषयहरु बाहिर आइरहँदा प्रधानमन्त्रीले राजीनामा दिनु राम्रो हुने सुझाव दिएको थपलियाले बताए।

कोइरालासँग ओलीले बिहान साढे ८ बजेदेखि १० बजेसम्म खुलस्त कुराकानी गरेका थिए।

केहि समययता प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि कोइरालाले भेट्न चाहेको र बिहीबार बिहान समय मिलेपछि भेट भएको थियो।

‘उहाँहरु बीच राजनीतिकबाहेक अत्यन्त अन्तरङ्ग व्यक्तिगत सम्बन्ध छ। बेलाबेला भेटघाट गरिरहनुहुन्छ, बिहीबार पनि त्यस्तै एउटा भेटघाट हो,’ थपलियाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .