ad ad

राजनीति


कृषि क्रान्तिको नेतृत्व बाँके–बर्दियाले लिनुपर्छ : मुख्यमन्त्री पोखरेल

कृषि क्रान्तिको नेतृत्व बाँके–बर्दियाले लिनुपर्छ : मुख्यमन्त्री पोखरेल

नेपालखबर
फागुन १७, २०७६ शनिबार १३:८,

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपालमा कृषि क्रान्तिको नेतृत्व बाँके–बर्दियाले लिनुपर्ने बताएका छन्।

बाँकेको खजुरा गाउँपालिकामा कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकायअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भवन निर्माणको शिलान्यास तथा बीएससी एजीको कक्षा उद्घाटन समारोहमा उनले भेरी–बबई डाइभर्सन र सिक्टा सिँचाइ आयोजना केही समयमै सम्पन्न हुन गएकाले सिँचाइको उपयोगबाट बाँके र बर्दियावासीले अब आधुनिक कृषि क्रान्तिको नेतृत्व लिनसक्नुपर्ने बताएका हुन्।

‘राज्यले अर्बौ लगानी गरेर सिँचाइको व्यवस्था गरिरहेको छ, अब जग्गा जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य हुनुपर्दछ’, मुख्यमन्त्री पोखरेलले भने, ‘भेरीको पानी बबई हुँदै बर्दियाका खेतमा पुगेको छ, सिक्टा सिँचाइले बाँकेको जमिन सिँचाइ हुँदैछ, अब व्यावसायिक कृषितर्फ लागौँ।’

बाँके–बर्दियाका खेतीयोग्य जमिन बाँझै रहने गरेको प्रसंग जोड्दै उनले आधुनिक प्रविधिबाट खेती किसानी गर्नुपर्नेमा जोड दिए। ‘कृषि कर्म गर्न धेरै जमिन चाहिँदैन, थोरै जमिनबाट पनि धेरै उत्पादन गर्न सकिन्छ, त्यसका लागि आधुनिक प्रविधि र इच्छाशक्ति चाहिन्छ’, उनले भने।

बाँकेको खजुरा क्षेत्रको बस्ती इजरायली रूपबाट बनेको भए तापनि कृषिमा प्रगति नदेखिएको बेला स्थापना भएको कृषि विद्यालयले बाँके र बर्दियाका किसानलाई विद्यार्थीमार्फत प्रविधि र सीपको विकास गराउनुपर्ने उनको भनाइ छ। ‘कृषि क्याम्पसले विद्यार्थीलाई कोठामा राखेर शिक्षा दिनुको औचित्य छैन, विद्यार्थीलाई किसानको घरसँग जोडिदिनुस् तब मात्र व्यावहारिक सीप र ज्ञान प्राप्त हुनेछ’, मुख्यमन्त्री पोखरेलले भने, ‘विद्यार्थीमार्फत किसानलाई आधुनिक कृषि प्रविधिको ज्ञान, सीप दिनुस् त्यसमा सहयोग र समन्वय गर्न प्रदेश सरकार तयार छ।’

कृषि क्याम्पस सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले कलेजको विस्तृत परियोजना प्रतिवेदनको आधारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए। प्रदेश सरकारले किसानलाई लक्षित गरी सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रम शुरु गरेको बताउँदै त्यसको सदुपयोग गरी आधुनिक कृषि प्रणाली अपनाएर कृषिबाट आर्थिक समृद्धिको दिशामा लाग्न आग्रहसमेत गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .