ad ad

राजनीति


रविले ‘रमाइलो झुट’ बोलेको भन्दै विश्वप्रकाशले भने– फाइल खोल्दा तपाईंको दल नै खुलेको थिएन

रविले ‘रमाइलो झुट’ बोलेको भन्दै विश्वप्रकाशले भने– फाइल खोल्दा तपाईंको दल नै खुलेको थिएन

तस्बिर : प्रदीपराज वन्त/रासस


नेपालखबर
साउन १३, २०८१ आइतबार १७:६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्को रोष्ट्रमबाटै ‘रमाइलो झुट’ बोलेको टिप्पणी गरेका छन्। 

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसदसमेत रहेका शर्माले गृहमन्त्रीबाट बिदा हुँदैगर्दा रविले संसद्‌बाट जनतालाई नै भ्रम पर्नेगरी झुट बोलेको आरोप लगाए। 

‘म एउटा रमाइलो झुट सम्झन चाहन्छु। जाँदाजाँदै निवर्तमान गृहमन्त्रीले रोस्ट्रमबाटै भन्नुभयो– कुनै फाइल खोलेको २४ घण्टामा सरकार ढालियो। संसद्को रोष्ट्रमबाट ठूलो स्वरमा उहाँले बोल्दैगर्दा नेपाली जनतालाई पनि लाग्यो– नक्कली भुटानी शरणार्थीको फाइल खोल्नेबित्तिकै सरकार ढालिएको हो कि? त्यो भ्रम दिने मिठो कोसिसलाई म चिर्न चाहन्छु,’ उनले भने। 

उनले पछिल्ला केही चर्चित घटनाक्रमको अनुसन्धान सुरु भएको र मुद्दा दर्ता भएको मिति नै पढेर कुनैपनि घटनाको फाइल खुल्दा रवि गृहमन्त्री नभएको ठोकुवा गरे। 

यस्तो छ विश्वप्रकाशले संसद्‌मा सुनाएका तथ्य–
–रविजी २०८० फागुन २३ गते पछिल्लो पटक गृहमन्त्री बन्नुभएको हो। नक्कली भुटानी शरणार्थीको फाइल खुलेर मुद्दा नै दायर भएको मिति २०८० जेठ १० गते। अर्थात् नक्कली शरणार्थीको फाइल खुलेको ९ महिना १३ दिनपछि रविजी गृहमन्त्री हुनुभएको रहेछ।

–फाइल खोलेको २४ घन्टामा सरकार ढालियो। यो वाक्य मनन गर्दै मैले अरु पनि फाइल पल्टाउन लागेँ। बालमन्दिरको जग्गा प्रकरणको फाइल हो कि भनेर पल्टाएर हेरेँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ बाट अनुसन्धान सुरु गरेको रहेछ। त्यो फाइल खुल्दैगर्दा रविजीको दल पनि खुलेको रहेनछ। 

–६१ केजी सुन प्रकरणको फाइल पो कि भनेर हेरेँ। त्यो फाइल खुलेर ८० असोजको ९ गते त मुद्दा नै दर्ता भएको रहेछ। कतै बाँसबारीको जग्गा प्रकरणको फाइल पो हो कि भनेर हेरेँ। चौधरीजीको चर्चित गिरफ्तारी त ०८० माघ १८ मा भएको रहेछ। अर्थात् रविजी गृहमन्त्री बन्नुभन्दा एक महिना ५ दिन अघि। 

उनले अन्तिममा भनेका छन्, ‘त्यसकारण कुनै फाइल खुलेको २४ घन्टामा सरकार ढालियो भन्ने आरोप निराधार छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .