ad ad

राजनीति


महासमिति बैठकमा तीनवटा मात्र प्रतिवेदन थिएनन्, हामीले उठाएका विषय पनि समेटियोस् : नैनसिंह महर

महासमिति बैठकमा तीनवटा मात्र प्रतिवेदन थिएनन्, हामीले उठाएका विषय पनि समेटियोस् : नैनसिंह महर

नेपालखबर
साउन २५, २०८१ शुक्रबार १४:५, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार सुशासन, सेवा प्रवाह र संविधान संशोधन गर्ने विषयमा खरो उत्रिनुपर्ने बताएका छन्।

पार्टीको केन्द्रीय समिति बैठकमा उनले शुक्रबार सरकार बनेको एक महिना पुग्दै गर्दा त्यसतर्फ अब खरो उत्रिनुपर्ने बताए।

‘कांग्रेस–एमालेको सरकार बन्नुका कारण सुशासन कायम गर्ने, जनतामा आशा जगाउने, सेवा प्रवाह बढाउने र संविधान संशोधन गर्ने थियो। सरकार बनेको एक महिना पुग्दै गर्दा त्यसतर्फ अब खरो उत्रिनुपर्छ,’ उनले भने।

महरले सरकारले न्युनतम साझा कार्यक्रम छिटो ल्याएर जनतामा आशा र भरोसा देखाउनुपर्नेमा जोड दिए। 

यस्तै स्थानीय, प्रदेश र संघको सरकार सञ्चालनका लागि पार्टीको संयन्त्र बनाउने विषय किन रोकियो भन्दै उनले प्रश्न गरे।

‘त्यो किन रोकियो ? कहिले बन्छ संयन्त्र ?,’ बैठकमा महरको प्रश्न थियो, ‘महासमिति बैठकमा तीन वटा मात्र प्रतिवेदन थिएनन्। धेरै कुरा आएका छन्। मैले आफैले उठाएका विषय पनि थिए। त्यसको कायान्वयन गर्ने गरी  बैठक निर्णयमा पुगोस्।’

विगतमा कांग्रेस र एमालेले एकअर्काविरुद्ध सडकदेखि सदनसम्म उठाएको प्रश्नको जवाफ जनताले मागिरहेको भन्दै महरले बैठकले त्यसलाई प्रस्ट पार्नुपर्ने उनको भनाइ थियो।

‘हिजो हामीले सत्ता र प्रतिपक्षमा हुँदा एकअर्का पार्टी र व्यक्तिविरुद्ध सडकदेखि सदनसम्म केही प्रश्न उठाएका छौं,’ उनले भने, ‘जनताले ती प्रश्नको सफाइ मागेका छन्। हाम्रोतर्फबाट ती प्रश्नको प्रस्टीकरण आउन जरुरी छ। कुनै विषयमा हामी दोषी छौं भने पनि कारबाहीको भागेदार हुनुपर्छ।’ 

मितव्यायिता र सुशासनको कुरा गरिरहेका बेला कांग्रेस सम्मिलित मधेस प्रदेश सरकारमा २० जना मन्त्री बनाएकोमा महरले आपत्ति जनाए। प्रदेशमा मन्त्रिपरिषदको आकार ठूलो बनाउने कुरा सुशासनको विरुद्धमा हुने उनको भनाइ थियो। 

कांग्रेस शिक्षा विभाग प्रमुख समेत रहेका महरले नेपालको शिक्षा क्षेत्रमा ठूलो चुनौती खडा भएको पनि बताए। ‘एसईईमा ४८ प्रतिशत र प्लस टूमा ५२ प्रतिशत विद्यार्थी मात्र पास भएको अवस्था छ। प्लस टूमा पास भएका ५२ प्रतिशत विद्यार्थीमध्ये अधिकांश ड्रप आउट हुने कहालीलाग्दो अवस्था छ। शिक्षित युवा जनशक्ति पलायन रोक्न विशेष शिक्षा नीति बनाउन आवश्यक छ,’ उनले भने। 

विद्यालयदेखि उच्च शिक्षासम्मको अध्ययनमा सीप र रोजगारीलाई जोड्ने नीति कार्यान्वयनका लागि कांग्रेस लाग्नुपर्ने महरले बताए।

आधारभूत शिक्षा, माध्यमिक शिक्षा, प्राविधिक तथा व्यवसायिक शिक्षाको क्षेत्रमा डिपार्च चेन्ज गरेर अगाडि बढ्नुपर्ने महरले बताए। यस्तै उनले बंगलादेशमा अन्तरिम सरकार बनेको भन्दै भविष्यमा लोकतान्त्रिक प्रक्रिया अनुसार अगाडि बढ्ने बताए। ‘

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .