ad ad

राजनीति


रास्वपा सांसद ढकालले विद्युत् महसुल बक्यौताको कुरा उठाएपछि सभामुखले काटे माइक, संसद्‌मा हंगामा

रास्वपा सांसद ढकालले विद्युत् महसुल बक्यौताको कुरा उठाएपछि सभामुखले काटे माइक, संसद्‌मा हंगामा

नेपालखबर
साउन २९, २०८१ मंगलबार १४:१३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दैगर्दा विवाद भएपछि केहीबेर बैठक अवरुद्ध बन्न पुगेको छ। 

बैठकमा आकस्मिक समयको चौथो वक्ताको रुपमा बोल्न थालेका सांसद ढकालले सुरुमा सडक यातायातमा हुने दुर्घटनाबारे आफ्नो कुरा राखे। उनले प्राकृतिक प्रकोपले मात्रै नभइ राजनीतिक प्रकोपले पनि सडक र पुलमा दुर्घटना बढेको बताएका थिए। 

त्यसपछि उनले विषयान्तर गरेर विद्युत् प्राधिकरणबारे आफ्नो कुरा राख्न थाले। ढकालले ‘विद्युत् प्राधिकरणमा म जान चाहेँ। मिटर जडान गरेर महसुल असुल गर्ने ठाउँमा...’ भन्नासाथ सभामुख घिमिरेले माइक काटिदिए। 

‘तपाईंको आफ्नो विषय सकियो। बस्नुस्। किनभने, यहाँले यातायातमा परेको अवरोधबारे बोल्न राख्नुभएको थियो, त्यो सकिसकेको छ, मैले बस्न अनुरोध गरेँ,’ सभामुख घिमिरेले भने। 

उनले ढकाललाई बोल्न नदिएपछि प्रतिपक्षी बेञ्चमा बसेका रास्वपासहित राप्रपाका सांसदहरूले पनि उठेर विरोध गरे।

केहीबेर अवरोध भएपछि सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानेलाई बोल्न समय दिए। उनले भने, ‘हरि ढकालजीले विद्युत् महसुलको विषयमा बोल्दाबोल्दै लाइन काटिएको थियो। विद्युत् महसुल भन्नेबित्तिकै लाइन काटिनु गम्भीर आपत्तिको विषय हो।’

लामिछानेपछि सभामुख घिमिरेले राप्रपा अध्यक्ष लिङ्देनलाई समय दिए। 

‘हामीले आकस्मिकमा जुन समय प्राप्त गर्छौं, यो पटकबाट परम्परा बिगारिराखिएको छ,’ उनले भने, ‘प्रतिनिधिसभा सदस्यलाई तिमिले यो मात्रै बोल्न पाउँछौँ भन्ने व्यवस्था मान्य हुँदैन।’

उनले जनताका प्रतिनिधिले आफ्ना कुरा राख्न पाउनुपर्ने बताए। 

उनीहरूले बोलेपछि पनि सभामुख घिमिरेले ढकाललाई समय दिएनन्। बरु भने, ‘समय मैले दिने हो, मैले दिएपछि मात्रै बोल्ने हो।’

यतिबेलासम्म ढकालको माइक काटिएकै अवस्थामा थियो। केहीबेर सभामुख घिमिरे र ढकालबीच सवालजवाफ भयो। 

‘हामीले पारित गरेको नियमावलीको आधारमा सभालाई सञ्चालन गरौँ,’ सभामुखले आग्रह गरेका थिए। 

उनको आग्रहपछि रास्वपा सांसद गणेश पराजुली लगायत पुनः आक्रमक देखिए। सत्तापक्षको सिटबाट एमाले सांसद रघुजी पन्तले हात उठाइरहे।

‘माननीय सदस्यहरूले माइक नभएपनि बोलेका कुराहरू सुनिरहेको छ, यी सबै कुराहरूमा ध्यान गएको छ,’ सभामुख घिमिरेले थपे। उनले आकस्मिक समयबारे नियमावली नै पढेर सुनाए। 

केहीबेर सवालजवाफ चलिरह्यो। 

सभामुख घिमिरेले कतिबेला समय दिने, कतिबेला लाइन काट्ने वा नकाट्ने विषयमा ध्यानाकर्षण भएको बताए।

प्रतिपक्षीको निरन्तरको अवरोधपछि सभामुख घिमिरेले पुनः ढकाललाई समय दिए। 

उनले समय पाएपछि भने, ‘विषय त भ्रष्टाचार नै हो, महसुल नै हो। बिजुली नै हो।’ 

समितिमा व्यापक छलफल भएको उल्लेख गर्दै भने, ‘जसरी लाइन जोड्न निर्देशन दिनुभएको थियो, महसुल उठाउन उसैगरी निर्देशन दिनुपर्‍यो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .