ad ad

राजनीति


टीआरसी विधेयक पारित भएपछि बाबुरामले सार्वजनिक गरे वामदेवसँग सहमति गर्दाको ‘दुर्लभ’ तस्बिर

टीआरसी विधेयक पारित भएपछि बाबुरामले सार्वजनिक गरे वामदेवसँग सहमति गर्दाको ‘दुर्लभ’ तस्बिर

चर्चित १२ बुँदे समझदारीको तयारीस्वरूप २०६२ असोज अन्तिम साता वा कार्तिक पहिलो साता रोल्पाको छ्यार्लाबाङमा माओवादी र एमालेका तत्कालीन कार्यवाहक महासचिव वामदेव गौतमबीच सहमति गर्दा। तस्बिर : बाबुराम भट्टराईबाट


नेपालखबर
साउन ३०, २०८१ बुधबार २०:३२, काठमाडौँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाबाट पारित भएकामा खुसी व्यक्त गरेका छन्। 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बुधबार संसद्‌मा पेस गरेको विधेयक बहुमतले पारित भएको हो। 

यसबाट उत्साहित हुँदै जनयुद्धका एक शीर्ष नेता डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘शान्ति प्रक्रियाका बाँकी रहेका टीआरसी र बेपत्तासम्बन्धी आयोगका काम सर्वपक्षीय सहमतिका आधारमा छिटो टुंग्याउने वातावरण बन्दै जानु सकारात्मक छ।’

यो शान्तिप्रक्रिया सार्वभौम नेपालीहरूको पहल र अपनत्वमा नै भएको उल्लेख गर्दै उनले अगाडि लेखेका छन्, ‘हाम्रो सामूहिक संकल्प र निर्णयलाई संसारको कुनै तागतले पनि रोक्न सक्दैन र हुँदैन भन्ने विषयमा समान समझदारी बनाउनु र विश्वस्त हुनु हो।’

यस क्रममा डा. भट्टराईले २०६३ मंसिर ५ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वरमा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर हुँदै गर्दा र चर्चित १२ बुँदे समझदारीको तयारीस्वरूप २०६२ असोज अन्तिम साता वा कात्तिक पहिलो साता रोल्पाको छ्यार्लाबाङमा माओवादी र एमालेका तत्कालीन कार्यवाहक महासचिव वामदेव गौतमबीच सहमति गर्दाका दुई तस्बिर पनि सार्वजनिक गरेका छन्।

डा. भट्टराईले पहिलो तस्बिर (गिरिजावाला) सबैले देखे/बुझेको भए पनि दोस्रो तस्बिर (वामदेववाला) कमैले मात्र देखेको दाबी गरेका छन्। 

तत्कालीन कांग्रेस सभापति गिरीजाप्रसाद कोइराला सुरक्षाका कारण त्यहाँ उपस्थित हुन नसकेकाले उनकै अनुरोधमा सीमा पारि गएर एक महिनापछि अर्थात् २०६२ मंसिर ७ गते १२ बुँदे समझदारी भएको उनको भनाइ छ।

डा. भट्टराईले अगाडि लेखेका छन, ‘नेपालको शान्तिप्रक्रियाको यो धरातलीय यथार्थलाई बुझौँ र अरूले के भन्छन् भन्ने भयबाट मुक्त होऊँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .