ad ad

राजनीति


भारती सिलवालले सोधिन्- किताब लगेको याद छ?, देउवाको जवाफ- सम्झना छैन

मञ्चमा बसेका देउवालाई भनिन्– म अझै प्रतिक्षामा छु
भारती सिलवालले सोधिन्- किताब लगेको याद छ?, देउवाको जवाफ- सम्झना छैन

नेपालखबर
भदौ ४, २०८१ मंगलबार १८:५, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको दोस्रो स्मृतिका अवसरमा राजधानीमामा मंगलबार एक ‘विमर्श कार्यक्रम’ आयोजना भएको छ।

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा माओवादी केन्द्रकाका महाचिव शक्तिबहादुर बस्नेत, नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायत वक्ता थिए। 

नैनसिंह महर अध्यक्ष रहेको स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको सो कार्यक्रममा अभियन्ता समेत रहेकी भारती सिलवाल गिरीलाई पनि वक्ताको रुपमा आमन्त्रण गरिएको थियो। 

भारतीले कार्यक्रमको सुरुमै सम्बोधन गरिन्। उनले सम्बोधनको क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो अनुमतिबिना एउटा किताब लगेको र अहिलेसम्म पनि त्यसको प्रतिक्षामा बसेको बताइन्। 

‘मेरो एउटा जयकृष्णमूर्तिको किताब हातमा लिएर जानुभयो, मेरो अनुमतिबिना,’ उनले भनिन्। 

उक्त किताबको नामबारे उनले सँगै मञ्चमा रहेका देउवालाई पटक पटक प्रश्न गरिन्– याद छ तपाईंलाई?

देउवा हाँसिरहे मात्रै।

भारतीले अघि भनिन्, ‘लास्ट फ्रिडम कि के थियो त्यसको नाम, याद छ शेरबहादुरजी तपाईंलाई? छैन। याद छ? छैन। अनि मैले भनेँ, मेरो त्यो किताब किन लान लाग्नुभएको? दिनुस् त मलाई। मैले त्यो जयकृष्णमूर्तिजीको पढ्दैछु।’

त्यसपछि प्रदीपले देउवालाई किताब देऊ भनेपछि आफूले रोक्न नसकेको उनको भनाइ थियो। 

‘अनि पिजे (प्रदीप गिरि) ले भन्नुभयो– छाड्दिउ न छाड्दिऊ। लान देऊ,’ भारतीले भनिन्।

उनले यसो भनिरहँदा सोही मञ्चमा उनका कुरा सुनिरहेका थिए देउवा। हलमा आएका नेता, कार्यकर्ताहरूमा हाँसोको फोहोरा छुट्यो। 

उनले देउवातिर इंकित गर्दै भनिन्, ‘त्यसैले होला, पिजे (प्रदीप गिरी) ले शक्तिशाली गिरिजाबाबुको पक्षमा नबसेर शेरबहादुरजीको पक्षमा बस्नुभयो।’

उनले केहीबेर प्रदीपले पुर्‍याएको योगदानबारे चर्चा गरिन्। केहीबेर भावुक पनि बनिन्। 

र अन्तिममा फेरि देउवातिरै फर्किएर भनिन्, ‘...जाँदाजाँदै शेरबहादुरजीले मेरो लानुभएको किताब, उहाँ गृहमन्त्री पनि भइसक्नुभयो। पाँचपटक प्रधानमन्त्री पनि भइसक्नुभयो। छैटौँपटक प्रधानमन्त्री हुने सम्भावना छ। तर, उहाँले मेरो किताब फर्काउनुभएको छैन। म त्यो किताबको प्रतिक्षामा छु।’

भारतीले सम्बोधन सक्नेबित्तिकै कार्यक्रम सञ्चालिकाले भनिन्, ‘शेरबहादुर दाई अब घर गएर किताब खोज्नुपर्ने प्रेसर परेजस्तो छ।’

सँगै रहेका कांग्रेस नेता महरले सभापति देउवालाई मञ्चमै केही भने। उनीहरूबीच केहीबेर हाँसो चल्यो। 

त्यसपछि लोसपा महासचिव डा. सुरेन्द्र झा, माओवादी नेता शक्तिबहादुर बस्नेत, एमाले महासचिव शंकर पोखरेल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सम्बोधन गरे।

अनि अन्तिम वक्ताका रुपमा पोडियममा पुगे, सभापति देउवा। 

भारतीले सुरुमै किताब फिर्ता गराउन दिएको चुनौतीलाई देउवाले नजरअन्दाज गर्न सकेनन्। 

सम्बोधनको सुरुमै देउवाले भने, ‘अघि भारती सिलवालजीले एउटा कुरा भन्नुभयो, के किताब मैले लगेँ भनेर त्यसको मलाई सम्झना छैन। तैपनि त्यो किताबले मलाई फाइदै पुर्‍याएको होला। उहाँलाई धन्यवाद दिन चाहन्छु।’

त्यसपछि देउवा गिरीको सम्झना र पूराना दिनहरूको बारेमा बोल्न थाले।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .