ad ad

राजनीति


२८ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

२८ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

गीता चिमोरिया
भदौ ५, २०८१ बुधबार १९:४३, काठमाडौँ

भदौ लागिसक्दा समेत देशका २८ स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन्। भदौको पहिलो हप्तासम्म पनि बजेट ल्याउन नसक्ने स्थानीय तहमध्ये २० गाउँपालिका र ८ नगरपालिका छन्। 

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम स्थानीय सरकारहरूले हरेक वर्षको असार १० गतेसम्म आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नगर÷गाउँसभामा पेस गरिसक्नुपर्ने व्यवस्था छ। पालिकाहरूले असार मसान्तसम्म बजेट पारित गरिसक्नुपर्छ।  

तर, २८ स्थानीय तहले भने अझै बजेट ल्याउन नसकेका हुन्।  

बजेट ल्याउन नसक्ने २० गाउँपालिकामध्ये सबैभन्दा बढी (१४ वटा) मधेस प्रदेशका छन्। यस्तै बजेट पास गर्न नसकेका ८ नगरपालिकामध्ये पनि सबैभन्दा धेरै मधेस प्रदेशकै ६ वटा नगरपालिका रहेको नेपाल नगरपालिका संघले जानकारी दिएको छ। बागमती प्रदेशका दुई नगरपालिका, ललितपुरको गोदावरी र चितवनको राप्तीले बजेट ल्याउन सकेका छैनन्।  

गाउँपालिका राष्ट्रिय महासंघका अनुसार मधेस प्रदेशका १४, सुदूरपश्चिमका दुई, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका एक÷एक गाउँपालिकाले हालसम्म बजेट पास गर्न सकेका छैनन्।

मधेस प्रदेशका एकसय ३६ स्थानीय तहमध्ये १४ गाउँ र ६ नगर गरी २० स्थानीय तहले बजेट पास गर्न बाँकी छ। 

जनप्रतिनिधि र कर्मचारीबीच आपसमा कुरा मिल्न नसक्दा पर्साको जिराभवानी गाउँपालिकाले हालसम्म बजेट पास गर्न सकेको छैन। 

गाउँपालिका अध्यक्ष अनोज चौधरी छलफल गरेर विवाद मिलाइसकेकाले अब पालिकाले बजेट ल्याउने बताउँछन्। 

चौधरीले भने, ‘हामीले नीति तथा कार्यक्रम ल्याउने दिन सबै जनप्रतिनिधि आउनु भएन, हाकिमसँग मनमुटाव रहेछ। हामीले बसेर छलफल गर्‍यौँ, सदस्यज्यूहरूको अलिकति चित्त दुखाइ थियो। अब सबै विषय मिलिसक्यो, अब बजेट आउँछ।’  

पाँच वटा वडा रहेको जिरा भवानीमा अध्यक्ष र उपाध्यक्षसहित ३ वटा वडा नेपाली कांग्रेसले जितेको छ भने दुईवटा वडा एमालेले जितेको हो।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको विवादका कारण महोत्तरीको सोनमा गाउँपालिकाले हालसम्म बजेट पास गर्न सकेको छैन। ८ वटा वडा रहेको सोनमामा अध्यक्ष र उपाध्यक्ष दुवै एउटै पार्टी (लोसपा) ले जितेको छ। असारको २९ गते परिषद् भए पनि अध्यक्ष र उपाध्यक्षबीच कुरा नमिल्दा बजेट पास हुन नसकेको हो। दुवै जनप्रतिनिधि आफूले भने अनुसारको हुनुपर्ने अडानमा छन्।   

प्रमुख प्रशासकीय अधिकृत रामएकवाल साह आफूले समन्वयको काम गरिरहेको बताउँछन्। साहले भने, ‘मैले मिलाउनु पर्ने सबै मिलाइरहेको छु, तर उहाँहरूमा अलि मतभेद भयो। मेरो तर्फबाट गर्नुपर्ने कोसिस त सबै गरिरहेको छु।’

जनप्रतिनिधिमाथि भ्रष्टाचारको आरोप लागेपछि ललितपुरको गोदावरी नगरपालिका र सर्लाहीको बागमती नगरपालिकामा पनि बजेट रोकिएको थियो। गोदावरीका मेयर र उपमेयरले भ्रष्टाचारको आरोपमा केही दिनअघि सफाइ पाएका छन्। 

बागमती नगरपालिकाका मेयर भरत थापा र उपमेयर लीलाकुमारी मोक्तान दुवैजना निलम्बनमा छन्। जेष्ठ वडा अध्यक्ष (वडा नम्बर ४ का वडा अध्यक्ष) कृष्ण लामाले हाल कार्यवाहकको जिम्मेवारी लिएका छन्। बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीलाल पुरीले नगरले केही दिनअघि बजेट पास गरेको जानकारी दिए।    

जनप्रतिनिधिबीचको राजनीतिक विवादका कारण अछामको तुर्माखाँद गाउँपालिकाले पनि हालसम्म बजेट पास गर्न सकेको छैन। विगत ६ महिनादेखि निमित्तको भरमा चलिरहेको तुर्माखाँदले हिजोबाट मात्रै प्रमुख प्रशासकीय अधिकृत पाएको छ। 

उपाध्यक्ष विमलाकुमारी शाही यही १५ गतेभित्र पालिकाले बजेट पास गर्ने बताउँछिन्। 

शाहीले भनिन्, ‘हामीले असारको ९ गते नीति तथा कार्यक्रम र १० गते परिषद्मा बजेट पेस गरेको हो, पास हुनचाहिँ बाँकी छ। हिजोमात्रै हाकिमसाब आउनुभयो, अब ७ गते बैठक बस्छ।’

उपाध्यक्ष शाहीले जनप्रतिनिधिबीच विवाद नरहेको दाबी गरिन्। गाउँपालिकाले ७ गतेका लागि कार्यपालिका बैठक बोलाएको छ। 

तुर्माखाँदमा अध्यक्ष, उपाध्यक्षसहित दुईवटा वडा (३ र ८) एमालेले, एउटा वडा (४ नम्बर) माओवादीले र बाँकी वडा कांग्रेसले जितेको छ।  

वडा नम्बर २ का वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीले ७ गतेको बैठकमा बजेटबारे छलफल हुने बताए। वडाहरूबीचमा बजेट बाँडफाँटमा मिल्न नसकेको कुराबारे पनि बैठकमा छलफल हुने उनले बताए। 

दोलखाको विगु गाउँपालिकाले अबको केही दिनमै बजेट पास गर्ने तयारी रहेको जनाएको छ। जनप्रतिनिधिको व्यस्तताका कारण समयमा बजेट आउन नसकेको पालिकाका प्रवक्ता लोकबहादुर नेपालीले जानकारी दिए। 

बजेट आउन नसकेका स्थानीय तहमा जनप्रतिनिधिबीचको विभिन्न राजनीतिक विवाद तथा बजेट फाँडफाँट लगायतका विषयमा कुरा मिल्न नसक्दा समस्या देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .