ad ad

राजनीति


हाम्रो सहभागिताबिना संविधान संशोधन सम्भव छैन : माधव नेपाल

हाम्रो सहभागिताबिना संविधान संशोधन सम्भव छैन : माधव नेपाल

फाइल फोटो


नेपालखबर
भदौ ९, २०८१ आइतबार १६:१८, काठमाडौँ

प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूको सहभागिताबिना संविधान संशोधन गर्ने सम्भावना नरहेको बताएका छन्।

सत्तारुढ कांग्रेस र एमाले अपारदर्शी ढंगले सो प्रस्ताव ल्याएको जिकिर गर्दै अध्यक्ष नेपालले त्यसमा आफूहरूको सहभागिताबिना सम्भव नरहेको दाबी गरेका हुन्।

आइतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहमा बोल्दै उनले सरकारमा सहभागी नभएका दलहरूको संख्याले संविधान संशोधन गर्न नदिने स्पष्ट पारे।

आफ्नो पार्टीको सहभागिता बिना संविधान संशोधन सम्भव होला भन्नेकुरा कसैले ठानेको भए त्यो गलत हुने अध्यक्ष नेपालको भनाई थियो।

‘यो जुन हिसाबले संविधान संशोधनको विषय आएको छ । यो पनि बडो अपारदर्शी छ। के हो के? बुझ्न सकिएको छैन’ उनले भने, ‘हाम्रो सहभागिता बिना संविधान संशोधन गरौँला, सम्भव होला भन्ने कुरा कसैले ठानेको छ भने उसले गलत ठानिरहेको छ। त्यो सम्भव छैन। हाम्रो संख्याले पनि दिँदैन म भन्छु तपाईहरुलाई। हाम्रो संख्या र त्यसमा सहभागी नभएकाहरुको संख्याले यो संविधान संशोधन गर्न दिँदैन।’

उनले संविधान संशोधन गर्ने सत्तारुढ कांग्रेस–एमालेको सहमति मध्यरातमा भएकाले त्यो आफैँ सन्देहस्पद रहेको पनि दोहोर्‍याए। उनले संविधान संशोधन आवश्यक भएको उल्लेख गर्दै त्यसमा खुला बहस गरेर अघि बढ्नुपर्ने धारणा पनि राखे।

अध्यक्ष नेपालले भने, ‘यो समीकरण रातारात परिवर्तन भयो। कसरी मान्छेहरूलाई झुक्याइँदो रहेछ। हुन त सबै झुक्किँदा रहेनछन्। धेरै सोझो भएर पनि झुक्किँदा रहेछन् धेरै बाठो भएर पनि झुक्किँदा रहेछन्।’

अध्यक्ष नेपालले नेपालमा दुई पार्टी पद्धति सम्भव नरहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .