राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक सुरु भएको छ।
बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा केही बेरअघि सुरु भएको हो।
आजको बैठकमा निलम्बित महासचिव मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाहीलगायत ५ एजेन्डामा छलफल हुनेछ।
यी हुन् छलफलका विषय:
१. समसामयिक पार्टी गतिविधि
२. राष्ट्रिय भेलाको तयारी
३. अनुशासनात्मक कारबाही
४. स्थानीय छाया सरकार कार्यविधि
५. विविध
रास्वपा नेताहरूका अनुसार अनुशासनात्मक कारबाहीअन्तर्गत आजको बैठकले निलम्बित महामन्त्री डा. मुकुल ढकालबारे अन्तिम निर्णय लिने सम्भावना छ।
पार्टीविरुद्ध लागेको भन्दै निलम्बनमा परेका महामन्त्री ढकाललाई रास्वपाले पटकपटक स्पष्टीकरण सोधेको थियो।
पार्टी अनुशासनविपरित गतिविधि गरेको भन्दै महामन्त्री र प्रवक्ता पदबाट निलम्बन गरेको रास्वपाले स्पष्टीकरणका लागि सुरुमा ३५ दिनको समय दिएको थियो।
त्यसपछि पनि उनलाई पार्टीले दोहोर्याएर स्पष्टीकरणको मौका दिएको थियो। यद्यपि, ढकालले कारबाहीमा परेपछि झनै पार्टीप्रति प्रश्न गर्न नछाडेपछि अन्ततः साधारण सदस्यबाट पनि निकाल्ने तयारीमा रास्वपा पुगेको हो।
पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार, अनुशासन आयोगले ढकाललाई कारबाही गर्न आवश्यक प्रमाण पार्टीमा बुझाइसकेको छ।
Shares
प्रतिक्रिया