प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले बनाएको पुष्पलाल प्रतिष्ठान नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कब्जा गरेको आरोप लगाएका छन्।
बुधवार एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएपनि अहिले पूर्वप्रधानमन्त्री नेपालले निजी सम्पत्ति झैँ लगेको ओलीले बताए।
उनले पुष्पलालले पार्टी नछोडेको भन्दै नेपालले पार्टी छोडेपछि एमालेले नै पुष्पलाल प्रतिष्ठानको संरक्षणको जिम्मेवारी पाउनुपर्ने दाबी गरे।
उनले भने, ‘नेताका नाममा प्रतिष्ठान हुने, तर त्यो प्रतिष्ठान देशका लागि नहुने। अनि कसैले त्यसलाई कब्जा गरेर बस्ने ? पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो, खेलो फ्ड्को गर्दै माधव नेपाल जस्ता मान्छेहरु अध्यक्ष भए, पार्टीलाई त्यो प्रतिष्ठान सरक्क छोड्नुपर्ने ठाउँमा निजी प्रपर्टी जस्तो। पुष्पलालजी कुद्नुभएको हो र पार्टीबाट माधव नेपाल पो कुद्नुभएको त। पुष्पलाल त कुद्नुभएको होइन नि। पुष्पलाल प्रतिष्ठान बोकेर लिएर जाने?’
यस्तै ओलीले मदन भण्डारीका नाममा अन्तर्राष्ट्रिय स्कुल खोलिएको भन्दै असन्तुष्टि जनाए। उनले मदन भण्डारी प्रतिष्ठानको दुरुपयोग भएको पनि बताए।
‘अर्को एक जनाले मदन भण्डारी अन्तर्राष्ट्रिय स्कुल भनेर खोल्या छ। अनि मदन भण्डारीका विचार भन्दा फरक कुराहरू सिकाउने गरेर त्यसको दुरुपयोग गरेको छ’ ओलीले भने, ‘यस्ता कुरालाई समयक्रममा हामीले आन्दोलनको हितमा, जनता, देशको पक्षमा उभ्याउनुपर्छ। कसैलाई कब्जा गरेर बस्न दिनु हुँदैन।’
Shares
प्रतिक्रिया