राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय सदस्य पदमा छनोट गरेको छ।
नवीन राप्रपा कार्ययोजनाअनुसार २० युवालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
पार्टीका वरिष्ठ उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा छनोट समिति गठन गरेर २० युवालाई पार्टीको केन्द्रीय सदस्यमा छनोट गरिएको हो। जसमा १० जना पुरुष र १० जना महिला छन्।
पुरुषतर्फ दार्चुलाका अशोकसिंह सम्राट, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौँका विनोद श्रेष्ठ र शमीर शर्मा, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका गोपीकृष्ण चौलागाईं, दाङका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, पश्चिम नवलपरासीका नवतीतकुमार मिश्र र युके प्रवासका डेभिड थापा राप्रपाको केन्द्रीय सदस्य बनेका छन्।
त्यसैगरी महिलातर्फ धादिङकी बिना लामा, पर्साकी बिना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी थापा, सुनसरीकी नजियाँ खातुन मियाँ, ललितपुरकी सजिना कार्की, सल्यानकी अनिशा नेपाली, तनहुँकी रेजिना श्रेष्ठ, काभ्रेपलाञ्चोककी दीपा श्रेष्ठ, काठमाडौँकी आश्माकुमारी केसी र हुम्लाकी तारा जैसी पनि केन्द्रीय सदस्यमा छनोट भएका छन्।
आश्माकुमारी केसी मिस नेपाल वर्ल्ड २०२४ कि विजेता हुन्।
Shares
प्रतिक्रिया