ad ad

राजनीति


‘प्रचण्डकी बुहारी’ को पहिचान बदल्ने बिनाको योजना

‘प्रचण्डकी बुहारी’ को पहिचान बदल्ने बिनाको योजना

सागर न्यौपाने
चैत ५, २०७६ बुधबार १४:२६,

‘बिना मगर आफ्नै क्षमताले मन्त्री बनेकी हो भनेर देखाउन पनि मैले काम पूरा गर्नैपर्ने छ,’ खुमलटारस्थित निवासमा बुधबार बिहान खानेपानी मन्त्री बिना मगरले नेपालखबरसँग भनिन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी भएकैले मन्त्री बनाइएको आरोप उनले खेप्दै आएकी छन्।

२ चैत २०७४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा उनी मन्त्री बनेकी थिइन्।

उनी मन्त्री बनेको दुई वर्ष पुगेको छ। यो अवधिमा ‘देखिने गरी कुनै ठूलो काम नभएको’ भन्दै उनको आलोचना बढेको छ। उसो त ओली क्याबिनेटका अन्य मन्त्रीहरुले पनि राम्रो प्रदर्शन गर्न सकेका छैनन्।

जिन्दगी नै राजनीतिमा समर्पित गरेपनि आफूलाई ‘प्रचण्डकी बुहारी’ का रुपमा मात्रै हेर्ने जमात ठूलो रहेको उनको गुनासो छ। त्यसैले काम गरेरै आफ्नो पहिचान स्थापित गर्ने उनको ध्येय छ।

‘मैले जिन्दगी नै पार्टीमा समर्पित गरेको छु। कञ्चनपुरबाट निर्वाचित सांसद हुँ,’ उनी भन्छिन्, ‘तर मलाई प्रचण्डको बुहारी मात्रै भनेर प्रचार गरिन्छ, त्यसले पार्टीमा मेरो योगदान र जिम्मेवारीलाई छायामा पारेको छ।’

कार्यप्रगतिकै आधारमा प्रधानमन्त्री ओलीले मंसिर ४ गते मन्त्री फेरबदल गर्दा मगरलाई पनि हटाउन खोजेको हल्ला चलेको थियो।

श्रममन्त्री गोकर्ण विष्टलाई हटाएर ‘प्रचण्डकै जोडबलमा मगरलाई राखिएको’ भन्दै चर्को आलोचना भएको थियो। यद्यपि, आलोचनाले आफूलाई थप काम गर्ने उर्जा दिएको मगर बताउँछिन्।

‘अरुलाई जस्तो कागजी योजना मात्रै बनाउने छुट मलाई छैन। मन्त्रालयको जिम्मेवारी छँदैछ, निर्वाचन क्षेत्रको काम पनि गरिरहेकी छु,’ मगरले थपिन्।

bina33

‘सबैले मेलम्चीको रिजल्ट कुरेका छन्’
आफूप्रति लक्षित यी सबै आलोचनालाई राम्ररी बुझेकी छन् मन्त्री मगरले। तर, मृगतृष्णा बनिसकेको मेलम्चीको पानी काठमाडौँ ल्याएर सबै आलोचकको मुख बन्द गर्ने उनको योजना छ।

‘मलाई मेलम्ची योजना सफल पार्नुछ, अहिले सबै समय र ध्यान यसमै केन्द्रित गरेकी छु,’ उनले भनिन्, ‘दुई वर्षसम्मको मिहिनेत बल्ल देखिँदैछ। अब त पानी आउने पक्का भइसकेको छ।’

मन्त्री बनेदेखि नै आफ्नो प्रमुख ध्याउन्न मेलम्चीको पानी ल्याउनु नै रहेको उनको भनाइ थियो।

‘मेलम्चीले आम नागरिकमा आशाभन्दा बढी वितृष्णा पैदा गरेको इतिहास छ। त्यस्तो इतिहासबाट उक्सिन निकै गाह्रो हुने रहेछ,’ मगर भन्छिन्, ‘धेरै सरकारलाई नै असफल बनाएकाे याे आयोजना सम्पन्न गरेरै देखाउनुछ मैले।’

उनले आफ्नो कार्यकालमा मेलम्ची आयोजनामा ठूलो प्रगति गरेको बताइन्।

‘त्यो आयोजनाभित्र थुप्रै द्वन्द्व थिए। त्यसलाई मैले समाधान गरेकी छु। मेरै पालामा मेलम्चीको टनेल ब्रेक थ्रु भएको छ,’ मगरले लामो सास फेर्दै भनिन्, ‘त्यहाँका स्थानीयको माग, कर्मचारीको कार्यशैली, काम गर्ने कम्पनीले गरेको बेइमानी सबै अध्ययन गरेर समस्याको जड पत्ता लगाएपछि मेलम्ची आयोजना सार्थक दिशामा अघि बढ्यो। हामीले आइतबार एक किलोमिटर सुरुङमा पानी राखेर टेस्ट गर्दा त्यो सफल भयो, अब काठमाडौं पानी झर्ने दिन टाढा छैन।’

देशको जुनसुकै भागमा पुग्दा पनि मानिसहरुले मेलम्चीसम्बन्धी जिज्ञासा राखेको उनको अनुभव छ।

‘सबैले रिजल्ट कुरेका छन्, अहिलेजस्तै कर्मचारीको साथ र सहयोग जारी रहे अबको केही महिनामा राष्ट्रिय गौरवको एउटा योजना सफल पार्ने कामको नेतृत्व मेरै नाममा रहनेछ,’ मन्त्री आशावादी देखिइन्, ‘यतिबेला निर्माणस्थलमा ४५ जना चिनियाँ र ३ सय नेपालीले काम गरिरहेका छन्।’

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण काम नरोकियोस् भनेर उनले कुनै पनि सामान अभाव हुन नदिन, संक्रमित व्यक्तिहरुलाई निर्माण स्थलमा आउजाउ गर्न रोक लगाउन र श्रमिकहरुको सुरक्षाका लागि विभिन्न उपाय अपनाउन निर्देशन दिएकी छन्।

बच्चाहरूसँग खेल्छिन्, घुम्छिन्
एक बच्चाकी आमा हुन् मगर। घरमा उनको छोरा प्रणव, प्रकाश दाहालको पहिली पत्नी सिर्जना त्रिपाठीको छोरा प्रसिद्ध र गंगा दाहालकी छोरी इशान्वी छन्।

कामबाट थाकेको बेला उनको मुड फ्रेस गर्ने माध्यम यी तीन बच्चा नै हुन्।

उनले आफू बच्चाहरूसँग रहेको, उनीहरू खेलेको, खाजा खाएको तस्बिर बेलाबेलामा सामाजिक सञ्जालमा राख्ने गरेकी छन्।

‘मलाई बच्चाहरु साह्रै मनपर्छ, त्यसमा पनि दुईवटा छोरा र एउटी सानी भान्जीलाई खेलाउने, घुमाउने गर्छु। कहिलेकाहीँ आफैँले गाडी, स्कुटी चलाएर घुमाउन लैजान्छु,’ उनले भनिन्, ‘तनाव भयो भने, फ्रेस हुन बच्चासँग घुम्न निस्कन्छु, मेरो बच्चासँग रमाउने स्वभाव छ।’

बच्चाहरुले भनेको नमान्दा फूपू गंगा दाहालको नाम लिने गरेको उनको भनाइ छ।

‘प्रसिद्ध र प्रणव फूपूदिदीसँग मात्रै डराउँछन्, भनेको नमान्दा उहाँको नाम लिइदिन्छु,’ उनले भनिन्।

२०७४ मंसिर ३ गते प्रकाश दाहालको निधन भएपछि प्रसिद्धको सबै रेखदेखको जिम्मेवारी बिनाले लिएकी छन्। प्रसिद्ध १० वर्षका भए।

प्रसिद्ध लजालु भएको उनको भनाइ छ। स्कुलमा खाजा खाने पैसा माग्नपरे पनि उनी केही नबोल्ने मगरले बताइन्।

‘हत्तपत्त पैसा माग्दैन तर, चाहिएको भए मैले देख्नेगरी ठिङ्ग उभिन्छ अनि बुझ्नुपर्छ जेठो छोरालाई पैसा चाहियो,’ उनले भनिन्, ‘त्यसपछि उसको हातमा पैसा राखिदिने गरेकी छु।’

bina-magar86.jpg

छोरा लिएर मन्त्रालय
मन्त्रालयको काममा व्यस्त हुँदा उनी बच्चालाई धेरै समय दिन पाउँदिनन्। स्कुल विदा भएको बेला पर्‍यो भने प्रणवलाई मन्त्रालयमै लगेर पनि रेखदेख गरेको उनी बताउँछिन्।

‘बच्चा सानै छ, कहिलेकाहीँ मान्दै मान्दैन। अनि सिंहदरबार कार्यकक्षमै लानुपर्छ,’ उनले भनिन्, ‘मन्त्रालयमा पनि चुप बसे त हुन्थ्यो हिँडेको हिँड्यै गर्छ।’

छोराहरुलाई समय दिनकै लागि उनी घरमा बिहानको समय राजनीतिक भेटघाट गर्दिनन्।

‘नभेटी नहुने बाहेक बिहान भेटघाट गर्दिनँ,’ मन्त्री मगरले भनिन्, ‘बिहान भेट कम गरेपछि बच्चालाई केही समय दिन सकिने रहेछ।’

खानेपानी मन्त्रालय जनसरोकारसँग सम्बन्धित भएकाले धेरै मानिस र जनप्रतिनिधि मन्त्रालयमा आउने गरेको उनले बताइन्। खानेपानीका क्षेत्रमा धेरै समस्या रहेको उनको भनाइ छ।

‘उपत्यकाबाहिरका थुप्रै गाउँहरुमा खानेपानीको व्यवस्थापन भएका छैनन्, त्यहाँ एकीकृत योजना बनाएर कार्यक्रम पठाउन जनप्रतिनिधि र राष्ट्रियसभाका सांसदहरुले माग गर्नुभएको छ,’ उनले भनिन्, ‘त्यसको सम्बोधन गर्ने योजना बनाइरहेकी छु।’

bina4

सीताले गर्छिन् माया, प्रचण्ड दिन्छन् सुझाव
खुमलटारस्थित प्रचण्ड निवासमै बस्छिन् मगर। सबै परिवार राजनीतिमा भएकाले आफूलाई काम गर्न सजिलो भएको उनको अनुभव छ।

आफूलाई सबैभन्दा बढी माया र प्रेरणा सासु सीता दाहालले दिने गरेको उनले बताइन्।

‘ममीले उत्प्रेरणा दिनुहुन्छ, राम्रो काम गर भन्नु हुन्छ,’ उनले भनिन्।

प्रकाशको मृत्युपछि सीताको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ।

उनलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भएको छ। यो यस्तो दुर्लभ रोग हो, जसले बिरामीलाई हिँड्न, बोल्न, खान र मानसिक सन्तुलन कायम राख्न पनि कठिन हुने गर्छ।

बिरामी अवस्था रहेकी सासुले आफूलाई असाध्यै माया गर्ने मगर बताउँछिन्।

‘बुबा बिहानदेखि भेटघाटमा व्यस्त, हामीपनि मन्त्रालयकै काममा व्यस्त हुन्छौँ। तपाईं बिरामी भएपनि राम्ररी हेरचाह गर्न पाएका छैनौँ भन्दा उहाँ तिमीहरु राम्रो काम गर, म त बसिरहने त हो नि भन्नुहुन्छ,’ उनले भनिन्।

भइपरी आउने समस्या समाधान गर्न ससुरा प्रचण्डको सहयोग लिने गरेको उनले बताइन्।

‘महत्वपूर्ण छलफल बुबासँग गर्छु। उहाँले सझाव दिनुहुन्छ, त्यसैलाई पालन गर्छु,’ मगरले थपिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .