प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दैनिक ज्यालादारीमा बाँच्ने नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्यालादर कम नहुने गरी तत्काल विशेष राहत प्याकेज घोषणा गर्न माग गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्तिमार्फत दिनभर काम गरेर साँझ खाने वर्गलाई लकडाउनले बढी असर गरेको भन्दै राहतको प्याकेज ल्याउन माग गरेका हुन्।
देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘न्यून आय भएका कर्मचारी, अन्य श्रमिक, बेरोजगार युवा तथा राजधानी लगायत सहरी क्षेत्रमा डेरा गरी बसेका विद्यार्थीलाई विविध ढंगले राहत पुग्ने गरी योजना र कार्यक्रम तत्काल निर्माण गर्न सरकारसँग माग गर्दछु।’
त्यस्तै कांग्रेसले २० लाखसम्मकोऋण लिएका साना व्यवसायीलाई लकडाउनको असर र व्यवसाय तंग्रिने अनुमानित अवधि ख्याल गरी कम्तीमा ३ महिनाको ब्याज पूरै मिनाहा गर्न र त्यसपछिको निश्चित अवधिकालागि ब्याजदर घटाउन माग गरेको छ।
ठूला व्यवसायीलाई समेत ऋणको ब्याज घटाउन र हालको किस्ता तिर्ने अवधि ३ महिना पछि सार्न प्रतिपक्षी दलले माग गरेको छ।
कांगेसले साप्ताहिक तथा दैनिक पत्रपत्रिका नै बन्द हुने स्थितिमा पुगेको भन्दै श्रमजीवी पत्रकारलाई राहत दिन समेत सरकारको ध्यानाकर्षण गराएको छ।
विश्व स्वास्थ्य संगठनले सचेत हुन अपिल गरेको महिना दिन बितिसक्दा सरकारले स्वास्थ्यकर्मीलाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट पर्याप्त मात्रामा दिन नसकेको भन्दै कांग्रेसले तत्काल पीपीई, परीक्षण किट, आइसोलेसन वार्ड र भेन्टिलेटरको पर्याप्त प्रबन्ध मिलाउन सरकारलाई अपिल गरेको छ।
प्रतिक्रिया