ad ad

राजनीति


ओलीलाई थापाको समर्थन मन्त्री रहँदासम्म मात्र, थप पाँच मन्त्री अप्ठेरोमा

ओलीलाई थापाको समर्थन मन्त्री रहँदासम्म मात्र, थप पाँच मन्त्री अप्ठेरोमा

सागर न्यौपाने
बैशाख १९, २०७७ शुक्रबार १३:४७,

 ‘प्रधानमन्त्रीले राजीनामा दिने कुरा आउँदैन। अहिलेको अवस्थामा उहाँले राजीनामा दिन हुँदैन।’

बुधबारको नेकपा सचिवालय बैठकमा गृहमन्त्री रामबहादुर थापाले राखेको धारणा थियो यो। उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र माधवकुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावसमेत आवश्यक नभएको उनले बताए।

सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागिरहँदा उनको समर्थनमा यति धेरै खुलेर बोल्ने एक मात्र नेता थिए थापा।

सचिवालय बैठकमा ओलीको पक्षमा धारणा राखेपछि थापाले ‘लाइन परिवर्तन’ गरेको अड्कल काट्न सुरु भएको छ।

पार्टी एकतापछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै जोडबलमा थापा सचिवालय सदस्य बनेका थिए। उनलाई गृहमन्त्री बनाउन पनि प्रचण्डको ठूलो हात थियो।

थापा नेकपाभित्रका आफुलाई एउटा शक्तिकेन्द्र ठान्छन्। स्थायी समितिमा उनीनिकट अन्य २ नेता छन्। त्यस्तै, केन्द्रीय समितिमा उनका पक्षमा ४२ जना छन् भने राष्ट्रियसभा र प्रतिनिधिसभामा गरेर १० जना सांसद पनि उनीनिकट छन्।

त्यसैले थापाले ओलीलाई साथ दिन्छन् या प्रचण्ड–नेपाल गठबन्धनलाई, त्यसले अहिलेको शक्ति समिकरणमा ठूलो अर्थ राख्छ। नेकपाभित्र विवाद चुलिँदै जाँदा संसदीय दलमा मतदान भए थापाको पक्षमा रहेका सांसद निर्णायक बन्न सक्छन्।

प्रधानमन्त्री ओली अध्यादेश प्रकरणपछि रक्षात्मक अवस्थामा आइपुगेका छन्। उनी जसरी हुन्छ, सरकार टिकाउने प्रयासमा छन्। त्यसका लागि संसदीय दलमा बहुमत पु¥याउने, उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नेजस्ता चाल चलिरहेका छन्।

अध्यादेश प्रकरणपछि अध्यक्ष प्रचण्डसहित सचिवालयका ५ नेताले भैँसेपाटीमा भेला भएर ओलीविरुद्ध गठबन्धन बनाए। सचिवालयमा हालसम्म ओलीको पक्षमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल मात्र स्पष्टसँग देखिएका थिए।

थापाले भने सचिवालयमा लामो समय तटस्थ खालको धारणा राख्दै आएका थिए। उसो त उनी बैठकहरुमा सितिमिति मुखै खोल्दैनथे। पछिल्लो समय भने उनले प्रधानमन्त्री ओलीको समर्थनमा बोलिरहेका छन्।

तर, उनी निकटका नेताहरु थापाले बाध्यताले मात्रै ओलीको समर्थन गरेको दाबी गर्छन्।

‘अहिले मन्त्री भएका बेला प्रधानमन्त्रीकै विरुद्धमा उभिन मिल्दैन,’ उनी निकट एक स्थायी समिति सदस्यले नेपालखबरसँग भने, ‘कि राजीनामा दिएर आउनुप¥यो, होइन भने क्याबिनेटमा बसेर प्रधानमन्त्रीभन्दा फरक कित्तामा छु भन्न नैतिकताले दिँदैन।’

थापानिकट नेताहरु निर्णायक अवस्थामा उनले प्रचण्ड–नेपाल गठबन्धनलाई नै साथ दिने ठोकुवा गर्छन्।

‘यदि शक्ति संघर्ष उत्कर्षमा पुग्यो भने थापाले निर्णायक मत गठबन्धनलाई दिनुहुनेछ,’ थापा निकट सांसद गौरीशंकर चौधरीले भने, ‘उहाँले केही मुद्दामा मात्र प्रधानमन्त्री ओलीलाई साथ दिनुभएको हो। यसै पनि सरकार पार्टीले चलाउने हो। भैँसेपाटी गठबन्धनमा पार्टीका बहुमत नेताहरु हुनुहुन्छ। परिआउँदा थापा गठबन्धनतिरै खुल्नुहुनेछ।’

थापाले आफूनिकट नेताहरुसँग छलफल गरिरहेको र प्रचण्डसँग पनि नियमित भेटघाट गरिरहेको चौधरीले बताए।

संकटमा मन्त्रीगण
पार्टीमा विवाद चुलिँदै जाँदा गृहमन्त्री थापा मात्रै होइन, स्थायी समितिमा रहेका अन्य मन्त्रीहरु समेत अप्ठेरोमा परेका छन्। प्रचण्ड–नेपाल समूहका मन्त्रीहरू खुलेर बोल्न सकेका छैनन्।

स्थायी समिति सदस्यहरु घनश्याम भुसाल, वर्षमान पुन, प्रदीप ज्ञवाली, योगेश भट्टराई, लेखराज भट्ट र गिरिराजमणि पोखरेल मन्त्री छन्।

यीमध्ये परराष्ट्रमन्त्री ज्ञवालीले भने आफू प्रधानमन्त्री ओलीतिरै रहेको संकेत दिएका छन्। सोमबार माधवकुमार नेपाल समूहसँग ओली समूहले गरेको अनौपचारिक छलफलमा उनी ओली समूहबाट कोटेश्वर गएका थिए। तर, अन्य मन्त्रीहरुले मुख खोल्न सकेका छैनन्।

वैशाख २० गते बस्ने नेकपाको सचिवालय बैठकले स्थायी समिति बैठकको मिति तोक्ने सम्भावना पनि छ। प्रधानमन्त्री ओलीलाई स्थायी समितिको बैठक डाक्न नेताहरुले दबाब दिइरहेका छन्।

मन्त्रीहरुले कसको समर्थन गर्छन्, त्यो स्थायी समितिको बैठकमा मात्र स्पष्ट हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .