ad ad

राजनीति


स्थायी समिति बैठक बजेटपछि धकेल्ने ओली रणनीति

स्थायी समिति बैठक बजेटपछि धकेल्ने ओली रणनीति

सागर न्यौपाने
बैशाख २८, २०७७ आइतबार १६:५९,

केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अभियान सुरु गर्दा माधवकुमार नेपाल पक्षका नेताहरूले संसदमा नयाँ बजेट प्रस्तुत गर्नुअघि नै सरकार फेर्ने योजना बनाएका थिए। त्यही योजनाअनुसार उनीहरूले प्रयास नगरेका पनि होइनन्।

परिस्थिति यस्तो बन्यो कि ओलीलाई प्रधानमन्त्रीबाट हटाउन त सम्भव भएन नै, उनले स्थायी समिति बैठक पनि अब बजेट आउनुअघि नराख्ने संकेत दिएका छन्।

स्थायी समितिमा अल्पमतमा रहेका ओलीले बजेट ल्याउनुअघि स्थायी समितिको बैठक नराख्ने उनी निकट केही नेताहरुले बताएका छन्। बजेटअघि नै प्रधानमन्त्रीबाट हटाउन लागेकाहरूलाई सन्देश दिन र समय थपेर आफ्नो राजीनामा माग्नेहरूको सामना गर्ने योजना बनाउन पनि ओलीले यस्तो रणनीति लिएको उनीहरूको भनाइ छ।

ओली निकट स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तत्काल स्थायी समितिको बैठक आवश्यक नभएको जिकिर गरे।

‘कोरोना संकटको बेलामा केन्द्रित हुनुपर्ने सरकार र नेताहरु अनावश्यक कुराको माग गरिहनुभएको छ,’ गुरुङले नेपालखबरसँग भने, ‘बैठक माग गर्ने विधि र प्रक्रिया ठीक भएपनि यो समयको हिसाबले उपयुक्त होइन।’

प्रधानमन्त्री ओली पनि तत्काल बैठक राखेर अनावश्यक तनाव लिने पक्षमा नरहेको उनको भनाइ छ।

यसअघि आन्तरिक दबाब बढ्दै गएपछि सचिवालय बैठकले २५ वैशाखमा स्थायी समिति बैठकको मिति तोकेको थियो। तर, सो बैठकको एजेन्डा तय गर्न २४ वैशाखमा बसेको सचिवालय बैठकको बीचमै ओली उठेर हिँडेपछि स्थायी समिति अनिश्चित बनेको थियो। जसको मिति अझै तोकिएको छैन।

मुख्यमन्त्री गुरुङका अनुसार स्थायी समितिमा अनावश्यक एजेन्डा पार्न खोजेपछि प्रधानमन्त्री बैठकको बीचमा उठेर हिँडेका थिए।

२६ वैशाखदेखि संसदको बर्खे अधिवेशन प्रारम्भ भएको छ। २८ र २९ वैशाखमा संसदमा प्रिबजेट छलफल हुँदैछ भने २ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा ल्याउँदैछिन्।

यी सबै कामको चाप देखाएर प्रधानमन्त्री ओलीले स्थायी समितिको बैठक राख्न खोजिरहेका छैनन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने नेताहरुले तत्काल बैठक राखेर पार्टी र सरकारका विषयमा छलफल गर्नुपर्ने दबाब दिएका छन्।

स्थायी समितिको बैठक सारेर प्रधानमन्त्री ओलीले आफूहरुको अपमान गरेको स्थायी समितिका नेताहरुले आरोप लगाउँदै आएका छन्।

उनीहरुले पार्टीभित्र देखिएका समस्याबारे छलफल नहुँदा समस्या भएको भन्दै तत्काल बैठक राखेर निकास दिन आग्रह गरेका छन्।

२५ वैशाखमा संसद् भवनमा पत्रकारसँग बोल्दै प्रचण्डले प्रधानमन्त्रीसँग सल्लाह गरेर एक–दुई दिनभित्रै बैठकको मिति तोकिने बताएका थिए।

त्यसयता प्रचण्डले ओलीसँग चार पटक भेट गरिसकेका छन्, दुई अध्यक्षबीच घन्टौँ छलफल भएपनि स्थायी समितिको बैठक बोलाउने विषयमा कुनै प्रगति भएको छैन।

बजेट भाषणअघि बैठक बस्ने सम्भावना कम रहेको ओली निकट नेताहरुले बताइरहेका बेला बैठक माग गर्ने नेताहरुले प्रचण्डलाई भेटेर कुनै हालतमा बैठक राख्नुपर्ने सुझाइ रहेका छन्।

‘स्थायी समितिको बैठक दुईजना अध्यक्षको सहमतिको आधारमा तोकिनुपर्ने हो, ओलीजीले बैठकमा उतिसारो मन गर्नुभएको छैन,’ एक स्थायी समितिका सदस्यले नेपालखबरसँग भने, ‘बजेटअघि बैठक बस्नुपर्छ भन्ने हाम्रो माग यथावत छ।’

ओली र प्रचण्डबीच दैनिक छलफल भएपनि यसबारेमा कुरै नभएको प्रचण्ड निकट स्रोतले जनाएको छ।

‘एक जना अध्यक्षले नचाहँदा बैठक बस्न सक्तैन, २ जना अध्यक्ष जहिले तयार हुन्छन् त्यही दिन बैठक बस्न समय लाग्दैन,’ ती नेताले भने, ‘मुख्य कुरा अहिले ओलीले बैठक राख्न मन गर्नुभएको छैन।’

मुख्यमन्त्री गुरुङ चाहिँ दुई अध्यक्षबीच मन मिले तत्काल बैठक बस्न सक्ने बताउँछन्।

‘दुई जना अध्यक्षबीच एजेन्डामा सहमति जुट्यो भने भोलि नै बैठक बस्न सक्छ,’ उनले भने, ‘बैठक बोलाउने भनेर निर्णय गरिसकेपछि साथीहरु कहिले कोटेश्वर, कहिले हात्तीवनमा बैठक गरेका छन् अनि प्रधानमन्त्री आफ्नै पद दाउमा राखेर किन बैठक राख्नुहुन्छ त?’

सरकारले ८ वैशाखमा दुई वटा विवादास्पद अध्यादेश ल्याएपछि नेकपाकै २० जना नेताहरुले तत्काल स्थायी समितिको बैठक माग गरेर अध्यक्षद्वयलाई हस्ताक्षर बुझाएका थिए।

पार्टीभित्रको तीव्र दबाबका कारण सरकारले ल्याएको अध्यादेश १२ वैशाखमा फिर्ता लिएको थियो।

अध्यादेश फिर्ता लिएर आफ्नो आधा माग सच्चिएको भन्दै नेकपाका नेताहरुले आधा मागको सम्बोधन भने बैठक राखेपछि मात्रै हुने बताएका थिए।

सरकारको कार्यशैली, पार्टी सञ्चालनको प्रक्रिया, स्पष्ट जनमत हुँदाहुँदै पनि सरकारबाट भइरहेका अलोप्रिय कामहरुले जनतामा निरासा छाएको भन्दै नेताहरुले स्थायी समितिको बैठकबाट गम्भीर समीक्षा गरेर अघि बढ्नुपर्ने माग गरेका थिए।

बैठक स्थगित भएपछि स्थायी समितिका नेताहरुले प्रचण्ड निवास खुमलटार पुगेर बैठकको एजेन्डा समेत दिएका थिए।

प्रचण्डले प्रधानमन्त्रीसँग भेटेर कुरा राख्ने बताएपनि त्यसपछि अहिलेसम्म बैठकबारे कुनै जानकारी नआएको स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .