प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल आज (बुधबार) बिहानै कालापानी प्रस्थान गरेका छन्।
गृह मन्त्रालय स्रोतका अनुसार भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीनजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस क्याम्प निरीक्षणका लागि दुवै सुरक्षा निकायका प्रमुख त्यसतर्फ प्रस्थान गरेका हुन्।
त्यसका लागि उनीहरू काठमाडौंबाट धनगढीसम्म स्काई ट्रकमा गएकाे गृह स्रोतले जानकारी दियो। त्यसपछि उनीहरू सेनाकै हेलिकप्टरबाट दार्चुलाको छाङरु जानेछन्।
सीमाका विषयमा दुई ठूला छिमेकी भारत र चीनबीच तनाव बढिरहेका बेला नेपालका सुरक्षा प्रमुख भारतले नै मिचेको नेपाली भूमिको निरीक्षणमा निस्किएका हुन्।
याे पनि: भारत र चीनबीच भीषण भिडन्तमा २० भारतीय सैनिकको मृत्यु
दुवै सुरक्षा प्रमुखले सीमा सुरक्षा अवस्थाबारे त्यहाँका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखसँग जानकारी लिने कार्यक्रम रहेकाे गृह स्रोतले जानकारी दिएको छ।
याे पनि: कालापानीमा सशस्त्र प्रहरी गस्ती जाँदा भारतीय सुरक्षाकर्मीको अवरोध, बीओपी थपिँदै
प्रतिक्रिया