विपक्षी दल नेपाली कांग्रेसले आफ्ना कार्यकर्तालाई सरकारले अनाहकमा दुःख दिएको र झुठ्ठा मुद्दामा फसाएको आरोप लगाएको छ।
मंगलबार विज्ञप्ति निकालेर कांग्रेसले आफ्नातर्फबाट निर्वाचित जनप्रतिनिधिहरु, कांग्रेसका जिल्लास्तरीय नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई अनाहकमा दुःख दिने, झुठ्ठा मुद्दामा फसाउने, कुटपिट एवं दुव्र्यवहार गर्ने जस्ता घटनाहरुप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हालसालै सोलुखुम्बु जिल्लाका सोलुदुधकुण्ड नपा, लिखुपिके, थुलुक, खुम्बु पासाङ्ग ल्हामु, नेचा सल्यान गापा र सो गापाहरु अन्तर्गतका जलविद्युत आयोजना र विकास निर्माणका कार्यहरुमा भएको भ्रष्टाचार र अनियमितता तथा नागरिकहरु कोभिड-१९ का कारण रोग र भोकसँग जुधिरहेको संवेदनशील अवस्थामा समेत राहत वितरणमा व्यापक अनियमितता, पक्षपातपूर्ण व्यवहार भएको घटनालाई अत्यन्त सालिन, सभ्य र सुसंस्कृत ढंगबाट विरोध गर्दा नेकपाका कार्यकर्ताहरुले प्रहरी प्रशासनको आडमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु, पार्टीका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुलाई कुटपिट गर्ने, दुव्र्यवहार गर्ने, झुठ्ठा मुद्दामा फसाउने र त्यस विरुद्धमा प्रहरी प्रशासनबाट उजुरी समेत दर्ता गर्न नमान्ने जस्ता गैर जिम्मेवार क्रियाकलाप निन्दनीय र खेदजनक छन्।’
कांग्रेसले यस्ता अनियमित, अवांछित, अमर्यादित घटनाहरुलाई तत्काल रोकी आम नागरिकहरुले संविधानको मर्म र भावना अनुरुप स्वतन्त्र र निष्पक्ष रुपमा कानूनी अधिकारको उपभोग गर्न पाउने वातावरण निर्माण गर्न तथा घटनाको छानविन गरी कुटपिटमा संलग्न दोषीहरुलाई कानूनी कारवाही गर्न सरकारसँग माग गरेको छ।
प्रतिक्रिया