ad ad

राजनीति


निकटस्थलाई प्रचण्डको ब्रिफिङः ओलीजीले अन्टसन्ट कुरा गर्नुभो, सहमतिको सम्भावना कम छ

निकटस्थलाई प्रचण्डको ब्रिफिङः ओलीजीले अन्टसन्ट कुरा गर्नुभो, सहमतिको सम्भावना कम छ

नेपालखबर
असार २१, २०७७ आइतबार १६:२३,

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पार्टी एकता कायम राख्न इच्छुक नभएको बताएका छन्।

ओलीसँग भेटेर निवास फर्केपछि निकटस्थ नेताहरुलाई ओलीले कांग्रेससँग मिल्ने प्रयास तीव्र बनाएको बताएका थिए।

‘आजको छलफलमा केही भएन, ओलीजी सहमतिमा आउने सम्भावना एकदम कम छ, कांग्रेससंग मिल्ने तयारी तीव्र पारिएको छ,’ प्रचण्डको भनाइ उधृत उनीनिकट एक नेताले भने।

‘ओलीमा मिल्ने र पार्टीलाई एकताबद्ध बनाउने कुनै चासो देखिएन, बरु अन्टसन्ट कुरा गर्नुभयो, मिलनबिन्दुमा उहाँ आउनै मन गरेको देखिएन,’ प्रचण्डको भनाइ थियो।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग सहमति हुने कुनै संकेत नदेखेपछि बालुवाटारबाट प्रचण्ड सीधै खुमलटार निवास आएका थिए।

आइतबार ओली र प्रचण्डबीच भएको छलफलमा महासचिव विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा समेत सहभागी थिए।

भेटमा सहभागी एक नेताका अनुसार सहमति खोज्न भन्दै पौडेल, पोखरेल, पुन र शर्मा सहभागी एक अनौपचारिक कार्यदल पनि बनाइएको छ। सो टोलीले सोमबार बिहानसम्म छलफल गरी अध्यक्षद्वयलाई जानकारी गराउनेछ।

ओलीको कटाक्षः डेलिगेसन गएर आउनुभो होइन त?
ओलीलाई भेट्नुअघि प्रचण्डले आइतबार बिहान वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसँगै गएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए। शीतल निवासमा प्रचण्डसहित तीनै जनाले राष्ट्रपतिलाई पार्टीभित्रको आन्तरिक समस्या पार्टीमै छलफल गरेर हल गरिने बताएका थिए।

राष्ट्रपतिलाई महाअभियोग लगाउने कुनै योजना नभएको भन्दै बालुवाटारले नचाहिँदो अफवाह फैलाएको स्पष्टीकरण उनीहरुले दिएका थिए। 

त्यसलगत्तै बालुवाटार पुगेका प्रचण्डलाई ओलीले राष्ट्रपतिकहाँ ‘डेलिगेसन’ गएर आएको भन्दै कटाक्ष गरेका थिए।

‘डेलिकेसन गएर आइयो होइन त?’ बैठकको सुरुमै ओलीले प्रचण्डलाई व्यंग्य गरेका थिए, ‘ तपाईंहरु मैले राष्ट्रपति भेट्दा विरोध गर्नुहुन्छ तर अहिले आफैँ भेटेर आउनुभयो।’

‘तपाईंले राष्ट्रपतिका विरुद्ध नचाहिँदा कुरा गरेपछि प्रष्ट पार्न गएको हो,’ जवाफमा प्रचण्डले भनेका थिए, ‘डेलिगेसन जान आवश्यक नै छैन नि!’

असार १० गतेदेखि सुरु भएको स्थायी समिति बैठकमा ओलीको राजीनामा मागिएपछि नेकपा चरम संकटमा पुगेको छ। प्रधानमन्त्री ओलीले स्थायी समितिको निर्णय मान्नुभन्दा पार्टी फुटाउने तयारी गरेको नेकपा नेताहरुको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .