ad ad

राजनीति


के नेकपामा ओली र प्रचण्डबीच मिल्ने सहमति भइसकेको हो?

के नेकपामा ओली र प्रचण्डबीच मिल्ने सहमति भइसकेको हो?

नेपालखबर
असार २८, २०७७ आइतबार १५:५८,

सत्तारुढ नेकपाको आन्तरिक विवाद केही दिनयता कम भएको छ। फुटको संघारमा पुगेको पार्टीमा अचानक युद्धविराम भएपछि केहीले भने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भइसकेको आकलन गर्न थालेका छन्।

स्थायी समिति बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए। तर, सहमति खोज्न भन्दै लगातार स्थगित गरिएको बैठक बाढी–पहिरो पीडितको उद्दार र सहयोगका लागि भन्दै एक साता रोकिएको छ।

यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका नेताहरुले अहिलेलाई पार्टी विभाजन टरेको भन्दै सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन्।

गृहजिल्ला चितवन पुगेका प्रचण्डले पनि आफू हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा नरहेको बताएका थिए। यसले पनि ओली र प्रचण्डबीच सहमति भइसकेको संकेतका रुपमा धेरैले लिएका छन्।

तर, माधवकुमार नेपाल पक्ष पनि दुवै अध्यक्षहरुबीच सहमति नभएकोमा विश्वस्त देखिएको छ।

‘दुवै अध्यक्षहरुबीच सहमति भएको विषयमा कुनै जानकारी छैन। दाहाल र नेपाल निरन्तर रुपमा सम्पर्कमा हुनुहुन्छ,’ नेता नेपाल निकट एक नेताले भने।

तर, प्रचण्डसहित नेकपाका थुप्रै नेताहरुको अभिव्यक्तिले भने अध्यक्षद्वयबीच केही न केही सम्झौता भएको संकेत गर्छ।

जिम्मेवारी सम्हाल्न शुक्रबार बुटबलतर्फ लाग्नुअघि ओली निकट स्थायी कमिटीका सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चुँडिन लागेको पार्टी एकताको डोरी अध्यक्षद्वयले जोड्ने विश्वास व्यक्त गरेका थिए।

त्यसमा अरु सबैको सकारात्मक साथ सहयोग रहने उनको धारणा थियो।

‘पार्टी एकताले नै आजको शक्ति आर्जन भएको हो र पार्टी एकताको रक्षाबाट नै उज्यालो भविष्य सुनिश्चित हुन्छ। पार्टी एकताको रक्षाका लागि एकताको मूल मर्म र भावनाको अनुशरण गरौं,’ पोखरेलले लेखेका छन्, ‘निषेध र उपेक्षाले पार्टी एकताको रक्षा हुनसक्दैन।’

ओलीका अर्का विश्वासपात्र कृष्णगोपाल श्रेष्ठले पार्टी फुट टरेको भन्दै खुसी व्यक्त गरेका छन्।

‘नेकपाको फुट टर्‍यो, दुर्घटनाबाट जोगाउन भूमिका खेल्ने सबैलाई धन्यवाद,’ श्रेष्ठले फेसबुकमा लेखेका छन्।

तर, नेपाल पक्षधर एक नेताले भने समस्या समाधानका लागि ओलीले पहल नगरेको बताए।

‘बाढी पहिरो अन्य कारणले गर्दा अहिलेको देशभित्रको परिस्थिति ठिक नभएको कारण केही विषय बाहिर नआएको मात्रै हो। त्यसलाई सहमति भनेर प्रचार गरिएको हो भने केही छैन। तर, समस्या समाधान गर्ने गरी कुनै कुरा अघि बढेको छैन,’ ती स्थायी समिति सदस्यले भने, ‘अहिले उठेको विषयमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न चाहे तत्कालै समाधान निस्किन्छ। नत्र यो विवाद लामो समय चल्छ।’

असार १० बाट शुरु भएको स्थायी समिति बैठक पछिल्लो समय ओलीको राजीनामामा केन्द्रित भएको थियो। ओलीले सरकार र पार्टी दुवै चलाउन नसकेको भन्दै प्रचण्ड–नेपाल पक्षले राजीनामा मागेको थियो। तर ओलीले दुवै पद नछाड्ने अडान लिएका थिए।

यो टकरावले २६ महिनाअघि एकीकृत भएको पार्टी विभाजित हुने चिन्ता बढाएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .