ad ad

राजनीति


बेलकामा प्रहरी र आन्दोलनकारीबीच झडप, सत्ता-विपक्षीका बेग्लाबेग्लै जुलुश

बेलकामा प्रहरी र आन्दोलनकारीबीच झडप, सत्ता-विपक्षीका बेग्लाबेग्लै जुलुश

नेपालखबर
साउन १८, २०७७ आइतबार १६:७,

उदयपुरको बेलका नगरपालिकाको रामपुर ठोक्सिला बजारस्थित नगरपालिका परिसरमा आज दिउँसो आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाका प्रहरी जवान र एक आन्दोलनकारी घाइते भएका छन्।

इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाका अनुसार बेलका नगरपालिका नेपाली कांग्रेस, संघीय समाजवादी पार्टी र राप्रपाले नगरपालिकाविरुद्ध विरोधसभा गरेको र सो कार्यक्रम बरगाछी बजारको जनजाति हल परिसरमा गर्ने सम्झौता भएको थियो। बरगाछी क्षेत्रमा कोरोना संक्रमण व्यापक फैलिएको कारण २५ जनामात्र भेला भएर कार्यक्रम गर्ने भनिए पनि ५०० भन्दा बढीको संख्या आन्दोलनकारी आएर नगरपालिकाको कार्यालय नै तोडफोड गर्न खोजेको र नगरपालिकाभित्र प्रवेश गर्न खोजेपछि सुरक्षामा बसेका प्रहरी र आन्दोलनकारीबीच झडप भएको इप्रका रापुरले बताएको छ।

आन्दोलनकारीको ढुंगा लागेर प्रहरी जवान राजकुमार बुढाथोकीको टाउकोमा गम्भीर चोट लागेको छ भने आन्दोलनकारीपट्टि पनि एकजना घाइते भएको इप्रका रामपुर ठोक्सिलाका प्रमुख तथा प्रहरी निरीक्षक रामचन्द्र साहले बताए। नगरपालिका हल परिसरमा प्रहरीले कार्यक्रम गर्न नदिएपछि अहिले आन्दोलनकारीहरुले नगपालिकाको गेटबाहिर कार्यक्रम गरिरहेको प्रहरीले जनाएको छ।

यता नेकपा पार्टी बेलका नगरपालिकाले पनि विपक्षीले बेमौसमी आन्दोलन गरेर बेलका नगरपालिकामा अतिक्रमण गर्न खोजेको भन्दै एक विरोध जुलुस निकालेर अहिले स्थानीय बुद्धचौकमा सभा गरिरहेको प्रहरीले उल्लेख गरेको छ। बेलकामा दिनदिनै कोरोना संक्रमण बढ्दै गइरहेको र केही दिनदेखि यता बेलकाको बरगाछी तथा रामपुर बजार क्षेत्रलाई सिल गरेर हिँड्डुल आवतजावतमा रोक लगाइएको भए पनि राजनीतिक दलले त्यसलाई बेवास्ता गर्दै आएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .