ad ad

समाज


हेडक्वार्टर नै संक्रमणको ‘हटस्पट’ बनेपछि जनशक्ति जोगाउँदै प्रहरी

हेडक्वार्टर नै संक्रमणको ‘हटस्पट’ बनेपछि जनशक्ति जोगाउँदै प्रहरी

उजिर कार्की
साउन १८, २०७७ आइतबार १६:६,

प्रहरी प्रधान कार्यालयका आधाभन्दा बढी कर्मचारीले अहिले काम गर्दैनन्। उनीहरुलाई आपतकालीन जगेडाका रुपमा साँचिएको छ। एउटा कोठाबाट अर्को कोठाका प्रहरीबीच पनि सकेसम्म भेटघाट हुँदैन। बाहिरबाट आवतजावत बन्द गरिएको छ।

‘१५ जनाले गर्ने काममा ५ जना खटाएका छौं,’ प्रहरी प्रवक्ता कुवेर कडायत भन्छन्, ‘कोरोना संक्रमण देखिएका प्रहरी बसेका ब्यारेक खाली गराएका छौं। मेस खाली गरिएको छ। डिसइन्फेक्सन गरिएको छ।’

एसएसपी कडायतका अनुसार प्रधान कार्यालयको नियमित काम सकेसम्म कम जनशक्तिबाट गराउन थालिएको छ।

‘भोलि आपत पर्‍यो भने ‘रिप्लेस’ गर्नु पर्‍यो। कार्यालयमा हुने काममा पनि फाइल लिएर एक कोठाबाट अर्को कोठामा पठाउँदैनौं। मिल्नेसम्म इमेल र फोनबाट काम गरिरहेका छौं,’ कडायतले भने।

शुक्रबार प्रहरी प्रधान कार्यालयले सबै कोठा, गाडीहरुमा औषधि छर्किएर संक्रमण रहित बनाएको छ। प्रधान कार्यालयमा प्रहरी पनि ज्वरो नापेर र मास्क लगाएर मात्रै प्रवेश गर्न पाउँछन्।

dig police head

हालसम्म प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमितको संख्या ७२ पुगेको छ। साउन ११ गते त्यहाँका ४ प्रहरीमा कोरोना संक्रमण देखिएको थियो। उनीहरुलाइृ कहाँबाट कोरोना सर्‍यो भन्ने पत्ता नलागेको र अनुसन्धान भइरहेको प्रहरी मुख्यालयले जनाएको छ।

उनीहरुको सम्पर्कमा रहेका व्यक्तिको पनि परीक्षण गर्दै जाँदा कोरोना संक्रमित प्रहरीको संख्या थपिँदै गएको हो। मुख्यालय प्रभावित भइरहेका बेला प्रहरीको ट्राफिक महाशाखा पनि तीन दिनदेखि ठप्प छ।

ट्राफिक महाशाखाका ३१ प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ। महाशाखाभित्र रहेका ३ सय ७५ प्रहरीलाई पनि भित्रै राखिएको छ। महाशाखा प्रमुख एसएसपी भीम ढकाल समेत कार्यालयमै छन्।

कोरोना परीक्षणको रिपोर्ट नआउन्जेल उनीहरुलाई काममा नपठाइने एसएसपी ढकालले बताए।

ट्राफिक महाशाखाका दुई प्रहरीमा संक्रमण देखिएपछि कार्यालय लकडाउन गरिएको हो। यसबाट नियमित काम समेत प्रभावित भएको छ। ट्राफिक व्यवस्थापनका लागि सवारी चाप कम भएका स्थानबाट चाप बढी हुने स्थानमा प्रहरी सारेर ड्युटी मिलाइएको छ।

आइतबार थप ५० जना ट्राफिक प्रहरीको कोरोना परीक्षण गरिएको छ। संक्रमण भएकामध्ये केही प्रहरीमा भने कोरोनाको लक्षण समेत देखिएको छ।

देशभर हालसम्म २ सय ५३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता कडायतले बताए। संक्रमित भएका मध्ये १ सय ३ प्रहरी डिस्चार्ज भइसकेका छन्। संक्रमण बढ्दै जाँदा काममा समेत असर पर्ने चिन्ता थपिँदै गएको छ। प्रहरीले अत्यावश्यक बाहेकका ड्युटीमा नखटाएर जनशक्ति जोगाउन थालेको छ।

राजधानीमा दैनिकजसो हुने भीडभाड र जुलुसका कार्यक्रमले प्रहरीसँगै सर्वसाधारणमा जोखिम बढाएको छ। लकडाउन खुलेसँगै यस्ता भीडभाड हुने कार्यक्रम बढेका छन्।

राजधानीबाहिर प्रदेश १ मा २९, प्रदेश २ मा ४२, गण्डकी प्रदेशमा ४८, प्रदेश ५ मा १५, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिममा १२ जना प्रहरीमा संक्रमण देखिएको छ।

संक्रमण देखिने प्रहरीमा जवानदेखि एसपीसम्म छन्। एक जना प्रहरी उपरीक्षक, ६ जना प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक १२ जना, प्रहरी सहायक निरीक्षक १६ जना, हवल्दार ६९ र प्रहरी जवान १ सय ५१ जनामा संक्रमण देखिएको छ। चार जना कार्यालय सहयोगीमा पनि कोराना संक्रमण देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .