अमेरिकाले भारत-चीन सीमा विवादमा वार्ता वा सहमतिबाट चीनलाई मनाउन नसकिने भएकाले भारत युद्धका लागि तयार रहनुपर्ने अवस्था आएको बताएकाे छ।
भारतको अंग्रेजी अखबार टाइम्स अफ इन्डियाको पहिलो पृष्ठमा छापिएको खबरअनुसार अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनले चीनको आक्रामक कदमविरुद्ध प्रतिकारमा उत्रिनुपर्ने अवस्था आएको बताएका हुन्।
चीन आफ्नो प्रभुत्व बढाउने प्रयासमा रहेको आरोप लगाउँदै उनले भने, ‘हामीले यो कुरा स्वीकार गर्नुपर्ने बेला आएको छ कि जनगणतन्त्र चीनलाई वार्ता वा सहमतिबाट मनाउन वा बाध्य पार्न सकिन्न। यस्तो प्रयासले कुनै उपलब्धि हुँदैन। जुन प्रयास हामी लामो समयदेखि गरिरहेका छौं।’
चीनकाे यस्ताे व्यवहार प्रस्ट रुपमा देखिएकाे दाबी गर्दै ब्रायनले चीनले भारत-चीन सीमाको वास्तविक नियन्त्रण रेखा (एलएसी) शक्तिबाट कब्जा गर्न खोजिरहेको आरोप लगाएका छन्।
अमेरिकाबाट चीनप्रति यस्तो आक्रामक भनाइ यस्तो बेला आएको छ कि अक्टोबर १२ अर्थात् भाेलि लद्दाखमा भारत र चीनका कमान्डरबीच वार्ता हुँदैछ।
यही अक्टोरब २६ र २७ तारिखमा नयाँ दिल्लीमा भारत र अमेरिकाका विदेशमन्त्री एवं रक्षामन्त्रीबीच टु प्लस टु बैठक हुँदै छ। यस आधारमा अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकारबाट यस्तो भनाइ आउनुलाई महत्वपूर्ण मानिएको छ।
यसअघि अमेरिकाका विदेशमन्त्री माइक पोम्पिओले पनि चीनले भारतीय सीमामा ६० हजार सेना तैनाथ गरेको दाबी गरेका थिए।
याे पनि : चिनियाँ दूतावासबाहिर ताइवानको पोस्टर टाँगेपछि चीनले भारतलाई भन्यो : आगोसँग खेलबाड नगर्नू
प्रतिक्रिया