ad ad

राजनीति


‘ओलीको रणनीतिले पार्टीलाई विभाजनमा पुर्‍याउँछ’

‘ओलीको रणनीतिले पार्टीलाई विभाजनमा पुर्‍याउँछ’

सागर न्यौपाने
कात्तिक १४, २०७७ शुक्रबार १५:१३,

प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद समाधानको ठोस योजना अघि नसार्दा सत्तारुढ नेकपाको विवाद पुनः चर्किंदै गएको नेताहरुले बताएका छन्।

गत चैतयता बढ्दै गएको विवादमा भदौको बैठकपछि विराम लागेको थियो। तर, असोजको अन्तिममा तीन मन्त्रीको नियुक्ति, राजदूतहरुको नियुक्ति, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव, पर्सामा पूर्वमाओवादीका नेता मुकेश चौरसिया, भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग ओलीको भेटजस्ता विषयले पुनः नेकपामा विवाद खडा गरेका छन्।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भदौ २६ को स्थायी समिति बैठकले गरेका निर्णय कार्यान्वयन नहुँदा समस्या देखा परेको बताए। विवाद समाधानका लागि प्रधानमन्त्री ओलीले तदारुकता नदेखाएको उनको भनाइ छ।

‘स्थायी समितिको निर्णय कार्यान्वयन नहुँदा यो समस्या देखिएको हो,’ श्रेष्ठले भने, ‘अध्यक्ष तथा प्रधानमन्त्रीले समस्या समाधानको लागि बैठक राख्नुपर्ने, छलफल गर्नुपर्ने हो। तर, त्यसो गर्नुभएको छैन।’

विवादका कारण प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कात्तिक ४ यता संवाद हुन सकेको छैन। प्रचण्डसँग संवाद टुटेपछि तीन दिनयता ओली आफूनिकट नेताहरुसँग छलफल गरिरहेका छन्।

प्रधानमन्त्री ओलीनिकट स्थायी समिति सदस्य सुवास नेम्वाङका अनुसार पार्टीभित्र देखापरेको समस्या समाधानका छलफल भइरहेको छ।

‘अहिले विभिन्न तहमा छलफल भइरहेको छ,’ उनले भने, ‘म, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोरखेल, महासचिव विष्णु पौडेल लगायतसँग खुमलटार अध्यक्षको पटकपटक भेट भएको छ, टेलिफोनमा बालुवाटार सम्पर्क गरेर कुराकानी भइरहेको छ,’ नेम्वाङले भने।

भदौ २६ मा स्थायी समितिले गरेको निर्णय कार्यान्वयन गर्नु नै जारी विवाद समाधानको एकमात्र विकल्प भएको उनको भनाइ छ।

‘भदौ २५ गते उहाँहरुको बीचमा जे सहमति भएको छ, जसलाई लिएर कार्यदलले त्यत्रो रिपोर्ट तयार गर्‍यो, सचिवालयले अनुमोदन गर्‍यो, स्थायी समितिले निर्णय गर्‍यो, त्यसैलाई कार्यान्वयनमा लैजान प्रयास भइरहेका छन्,’ उनले थपे।

केन्द्रीय कमिटिको बैठक पनि दुई अध्यक्षबीच सल्लाह भएरै एक महिना पर सारिएको उनले बताए।

‘महासचिव बालुवाटार आउनुभयो, प्रधानमन्त्रीको कुरा सुन्नुभयो, अनि खुमलटार जानुभयो, अध्यक्षको कुरा सुन्नुभयो, दुईजना अध्यक्षकै साझा कुरा भनेको एक महिना सारौँ भन्ने थियो, अनि महासचिवले एक महिना सार्ने काम गर्नुभयो,’ उनले भने।

‘प्रचण्ड र नेपाललाई ओलीले फुटाउन खोजे’
प्रधानमन्त्री ओलीले प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच खेल्न खोजेकाले थप समस्या बल्झिएको प्रचण्डनिकट नेताहरुले बताए।

‘प्रधानमन्त्रीले प्रचण्डसँग छलफल गर्ने, सहमति गर्ने अनि काम गर्नै नदिने गर्नुभयो,’ प्रचण्ड निकट एक नेताले नेपालखबरसँग भने, ‘अब पनि उहाँले कहिले प्रचण्डसँग त कहिले नेपालसँग मिलेर आफ्नो योजना पुरा गर्ने गरिरहनुभएको छ। नेपाल र प्रचण्डबीच दुरी बढाउनतिर उहाँ लाग्नुभयो।’

प्रधानमन्त्री ओलीले पार्टीलाई विभाजनतिर लैजाने रणनीति अख्तियार गरेको उनको आरोप छ।

‘पार्टी एकताको रक्षाकै लागि प्रचण्डले सबै कुरा सहेरै बस्नुभएको थियो। तर, जब कर्णाली प्रदेशमा प्रधानमन्त्रीले हस्तक्षेप गरेर सर्कुलर पठाउनुभयो, अनि त्यसलगत्तै वरिष्ठ नेता नेपालसँग पटकपटक वार्ता गर्नुभयो, तब उहाँको रणनीति एकता जोगाउन नभई विभाजनतिरै लैजाने देखियो,’ ती नेताले भने।

ओली पार्टी विभाजन गर्न योजनबद्ध रुपमै लागेको उनको आरोप छ।

ओली समस्या समाधानका लागि गम्भीर नभएको भन्दै प्रचण्डले सचिवालयका केही नेताहरुसँग छलफल गरिरहेका छन्। उनले वरिष्ठ नेता झलनाथ खनाल, नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरेका हुन्।

१० दिनदेखि प्रचण्डसँग संवाद टुटेपछि पुनः संवादको वातावरण बनाउन प्रधानमन्त्री ओलीका तर्फबाट सुवास नेम्वाङ, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र शुक्रबार बिहान परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रचण्ड निवास खुमलटार पुगेका थिए।

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्तावको हल्ला!
पछिल्लो समय नेकपा वृत्तमा प्रचण्ड र नेपाल समूह मिलेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको चर्चा छ। तर, प्रचण्डनिकट नेताहरुले त्यसको खण्डन गरेका छन्।

यो हल्ला बालुवाटारनिकट नेताहरुले नै चलाएको दाबी प्रचण्डनिकट एक नेताले गरे।

‘उहाँहरुको मनमा के छ भन्न सकिँदैन तर, अहिलेसम्म अविश्वासको प्रस्तावको विषयमा छलफल नै भएको छैन,’ ती स्थायी समिति सदस्यले भने, ‘प्रचण्डले त्यसरी सोच्नु पनि भएको छैन, त्यस्तो सोच्ने भए वैशाखमै ल्याउनुहुन्थ्यो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .