ad ad

राजनीति


अब बहुदलीय जनवादको बहस सुरु गर्नुपर्ने हुनसक्छ : प्रधानमन्त्री ओली

अब बहुदलीय जनवादको बहस सुरु गर्नुपर्ने हुनसक्छ : प्रधानमन्त्री ओली

सागर न्यौपाने
कात्तिक १९, २०७७ बुधबार १४:१२,

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश एकका आफूनिकट नेताहरुसँग पार्टीको पछिल्लो अवस्था, विचार र एकता प्रक्रियामा देखा परेका समस्याहरुबारे छलफल गरेका छन्।

बुधबार विहान उपप्रधान मन्त्री ईश्वर पोखरेलसहित ओलीले प्रदेश १ का आफूपक्षीय नेताहरुसँग अनलाइन छलफल गरी पार्टीमा अर्का अध्यक्षमार्फत विभिन्न षडयन्त्र भइरहेको बताएका थिए।

प्रदेश १ का नेकपा अध्यक्ष देवराज घिमिरेका अनुसार पार्टीभित्र देखिएको पछिल्लो समस्याबारे आज बुधबार विहान प्रधानमन्त्रीले प्रदेश १ का नेताहरुसँग छलफल भएको हो।

घिमिरेले छलफल मुख्यतः पछिल्लो राजनीतिक गतिरोधबारे केन्द्रित रहेको जानकारी गराए।

प्रदेश १ का नेतासँग ओलीले आफूले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एउटा समझदारी गर्‍यो तर अर्को साइडबाट छुट्टै षडयन्त्र हुने गरेको गुनासो गरेका थिए।

‘पार्टीभित्र अनेक खालका षडयन्त्र भइरहेको छ, सरकार असफल बनाउने प्रयत्न भएको छ, एकातिर समझदारी गर्‍यो,

साइडबाट अर्कै षडयन्त्र भइसक्छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै घिमिरेले नेपालखबरसँग भने।

ओलीले पार्टीभित्र विचारको समस्या भएकै कारण गतिरोध देखिएको समेत बताएका थिए।

‘पार्टी विचारबाट बन्ने हो, अब विचारमाथिको बहस सुरु गर्नुपर्छ, हामीले महाधिवेशनसम्म जनताको जनवाद भनेका छौं, तर अब यसले मात्रै जनताको भावनाको सम्मान गरेन भने बहुदलीय जनवादको पनि बहस सुरु गर्नुपर्ने हुनसक्छ भनेर प्रधानमन्त्रीले भन्नुभयो,’ घिमिरेले थपे।

अनलाइन छलफलमा प्रदेश १ का ओलीनिकट नेताहरुमात्र सहभागी रहेको उनले बताए। तर, उनले कति जनाको सहभागिता थियो भन्ने उल्लेख गर्न चाहेनन्।

‘हामी केही जिम्मेवार नेता मात्र थियौं, संख्या त किन चाहियो र, जे होस् कुनै न कुनै जिम्मेवारीमा रहेका नेताहरुले पछिल्लो राजनीतिक घटनाक्रमबारे इन्फरमेसन ग्याप नहोस् भनेर प्रधानमन्त्रीसँग छलफल गरेका हौं’, उनले भने।

आफूहरुले पार्टी एकताको डोरीलाई कसिलो बनाउनुपर्छ भनेर सुझाव दिएको भन्दै घिमिरेले गतिरोधको छिटो अन्त्य गर्न सुझाव दिएको बताए।

आफूहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले एकता कायम गर्ने प्रयत्न जारी भएपनि विभिन्न समीकरण बनाउने काम भइरहेको र नेताहरु बहुमतीय खेलतिर लागेको समेत बताएका थिए।

सो छलफलका क्रममा केही नेताहरुले पूर्वमाओवादीसँग एकता गरेर गल्ति भएको मनसाय व्यक्त गरेपछि ओलीले भनेका थिए, ‘ऐतिहासिक आवश्यकताका आधारमा एकता भएकोले त्यसमा अन्यथा मान्नुपर्ने कारण छैन।’

अब एकतालाई जोगाउन सकिन्छ कि सकिदैन भन्ने प्रश्न उठेकोमा त्यसलाई जोगाउने प्रयत्न नै आफूले गर्ने प्रधानमन्त्री ओलीले बताएका थिए। ‘तर, परिस्थिति कसरी अगाडि बढ्छ त्यसमै भरपर्छ,’ प्रधानमन्त्रीले थपेका थिए।

सो छलफलमा मन्त्रिमण्डल पुनर्गठन, पार्टी कमिटीको बैठक लगायतका विषयमा प्रदेश १ का नेताहरुले चासो राखेका थिए।

त्यसमा ओलीले अर्का अध्यक्षसँग सहमति नभई केही नहुने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .