ad ad

राजनीति


प्रचण्ड-माधव नेपालसहित नेकपाका ६ नेताले पाँच कानुनविद्सँग के छलफल गरे?

प्रचण्ड-माधव नेपालसहित नेकपाका ६ नेताले पाँच कानुनविद्सँग के छलफल गरे?

सागर न्यौपाने
कात्तिक २०, २०७७ बिहिबार ११:५,

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताइरहेका बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुले बिहीबार कानुनविद्हरुसँग छलफल गरेका छन् ।

पार्टीभित्र अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग शक्ति संघर्ष चर्किरहेका बेला प्रचण्ड–नेपालले वरिष्ठ कानुनविद्सँग जनवर्गीय संगठनको कार्यालय रहेको पेरिसडाँडामा बिहीबार छलफल गरेका हुन्।

छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य रघुजी पन्त, मात्रृका यादव, नेकपा संसदीय दलका प्रमुख सचेतक तथा स्थायी समिति सदस्य देव गुरुङ, पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधान, वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित पाँच जना उपस्थित रहेको स्रोतले जनाएको छ।

सो छलफलमा अध्यक्ष प्रचण्डले पार्टीभित्रको पछिल्लो अवस्थाको बारेमा जानकारी गराएका थिए। पार्टीभित्र केही गतिरोध देखिएको भन्दै उनले मिलेरै जाने प्रयत्नमा रहेको बताएको एक सहभागीले जानकारी दिए।

छलफलमा सहभागी मुक्ति प्रधानले भने यो नियमित भेट भएको दाबी गरे।

‘पार्टीकै सदस्य भएपछि अध्यक्षहरु, वरिष्ठ नेताहरुसँग छलफल भइरहन्छ, त्यही आधारमा आज छलफल भएको हो’, पूर्व महान्यायाधिवक्ता प्रधानले नेपालखबरसँग भने, ‘हाम्रो पेशागत कुरा, मुद्दा मामिलाका बारेमा परामर्श भयो।’

तर, पार्टीभित्र देखिएको अन्तरविरोध, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्नसक्ने संभावित कदम र त्यसको कानुनी उपचारका बारेमा समेत छलफल भएको स्रोतको दाबी छ।

‘छलफलमा प्रधानमन्त्री ओलीले आगामी दिन चाल्नसक्ने कदम र त्यसको कानुनी बैधताका विषय पनि उठेको थियो,’ सहभागी अर्का एक नेताले भने, ‘पार्टीभित्रको अन्तविरोधपछि अल्पमतमा परेका व्यक्तिले जे कदम चालेपनि त्यसलाई कानुनी रुपमा अवैध बनाउन सकिने कुरा पनि उठ्यो।’

प्रधानले भने पार्टी अन्तरविरोधसँग जोडिएको विषयमा कुनै छलफल नै नभएको दाबी गरे।

‘पार्टीभित्रको विवादको विषयमा छलफल नै भएको होइन, अहिले बाघ कराउनु र कुखुरा हराउनु एकैपटक भएको मात्र हो’, उनले थपे।

छलफलमा एक सहभागीले प्रधानमन्त्री ओलीले बुधबार एक कार्यक्रममा आफूले राजीनामा नदिने बताएको विषयमा प्रचण्डलाई जिज्ञासा राख्दा उनले आफू पनि छक्क परेको जवाफ दिएका थिए।

‘उहाँको राजीनामा कसले माग्यो र उहाँले त्यसो भन्नुभयो हामीले बुझन् सकेका छैनौं’, प्रचण्डको भनाई थियो, ‘पार्टी कमिटीको बैठक राखेर सबै विवाद समाधान गरौं भन्दा उहाँ (प्रधानमन्त्री) त्यस्ता कुरा गर्दै हिंड्नु भएको छ।’

प्रधानमन्त्री ओलीले बिहीबारको नियमित मन्त्रीपरिषद् बैठकमा पनि राजीनामा नदिने अडान दोहोर्याएका थिए। तर, राजीनामा कसले मागेको हो भन्ने बारे उनले खुलाएका छैनन्।

पेरिसडाँडामा न्याय परिषद् सदस्य नियुक्तिको विषयमा पनि छलफल भएको अर्का एक सहभागीले बताए।

नेपाल बार एशोसिएसनको सिफारिसमा नियुक्त हुने न्याय परिषद्को सदस्यका लागि अध्यक्ष तथा प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल समूहले अलग अलग नाम प्रस्ताव गरेपछि त्यसबारे छलफल भएको हो।

ओली पक्षले महेश नेपालको नाम अघि सारेका छन् भने प्रचण्ड–नेपाल समूहले रामप्रसाद श्रेष्ठलाई प्रस्ताव गरेका छन्।

कानुनविदसँगको छलफल सकेपछि प्रचण्ड प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार गएका थिए, जहाँ सचिवालयको बैठक राख्ने विषयमा कुरा नमिल्दा कुनै सहमति हुन सकेन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .