ad ad

राजनीति


ओली सहमत भएनन्, अबको रणनीति तय गर्न प्रचण्ड–नेपाल पक्ष बस्दै

ओली सहमत भएनन्, अबको रणनीति तय गर्न प्रचण्ड–नेपाल पक्ष बस्दै

सागर न्यौपाने
कात्तिक २४, २०७७ सोमबार १५:३१,

सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबारका लागि सचिवालयको बैठक डाकेका छन्।

सचिवालयका बहुमत सदस्यले लिखित आग्रह गर्दा पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक राख्न नमानेपछि प्रचण्डले नै बैठक बोलाउने भएका हुन्।

‘बैठक बोलाउन दिएको दुईदिनको समय सकिएको छ, अहिलेसम्म बालुवाटारबाट केही पनि ठोस प्रस्ताव आएको छैन,’ सचिवालय एक सदस्यले नपालखबरसँग भने ‘भोलि हामी बस्छौं र के गर्ने भन्ने विषयमा निर्णय गछौं।’

‘आज रातिसम्म पर्खिने कुरा हो,’ ती नेताले थपे, ‘उताबाट केही आएन भने बैठकको लागि पत्र बुझाउने हामी पाँच जना बसेर निर्णय गर्छौँ।’

बैठकमा सबै सचिवालय सदस्यलाई बोलाइने उनले बताए।

‘सचिवालयका सबैलाई बोलाउँछौँ,’ उनले भने, ‘उहाँहरु (ओली पक्षका सचिवालय सदस्य) आउनुभएन भने हामी पाँच जना त बस्नैप¥यो सल्लाह गर्नको लागि।’

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने रातिसम्म प्रधानमन्त्री ओलीको कदमको प्रतीक्षा गरिने बताए।

‘उहाँले बैठक बोलाउनुहुन्छ कि बेलुकासम्म कुर्छौँ,’ श्रेष्ठले भने, ‘उहाँले बैठक बोलाउनुहुन्छ भन्ने अपेक्षा गरेका छौ, भएन भने भोलि हामी सल्लाह गर्छौँ।’

प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीच सहमति नभई बैठक नराख्ने अडान लिएका छन्। नेकपा विधानले दुवै अध्यक्षको सहमतिमा पार्टीका बैठक राख्ने उल्लेख छ।

सोमबार बिहान महासचिव विष्णु पौडेल अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। तर, उनले पनि बैठकका विषयमा ठोस प्रस्ताव नल्याएपछि प्रचण्डले बैठक राख्न लागेका हुन्।

शुक्रबार पनि प्रचण्डले सचिवालयको अनौपचारिक बैठक राखेका थिए। तर, प्रधानमन्त्री ओलीले आफ्नो सहमतिबिना बैठक राखे पार्टी फुटाइदिने चेतावनी दिएका थिए। सो बैठकमा सचिवालयका सबै नेताहलाई उपस्थितिको लागि खबर गरेपनि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ मात्र उपस्थित भएका थिए। शनिबार उनीहरुले ओलीलाई बैठक माग गर्दै पत्र बुझाएका थिए।

४८ घण्टामा घटेन दुरी
बैठक बसाल्न नेताहरुले ओलीलाई दिएको ४८ घण्टाको अवधिमा खुमलटार र बालुवाटारबीच दुरी घटाउने ठोस् पहल नै भएन।

यो अवधिमा प्रधानमन्त्री ओलीले एक टेलिभिजलाई अन्तर्वार्ता दिँदै कार्यकारी अध्यक्ष प्रचण्डप्रति तीव्र असन्तुष्टि जनाए। उनले यो संयुक्त सरकारजस्तो भएको, सरकारलाई घेराबन्दी गरिएको, भागबण्डा खोजेर काम गर्न नदिएको, समीकरण र समूह बनाउँदै बहुमतको बलमा दबाब बढाइएको लगायतका असन्तुष्टि जनाएका थिए।

प्रधानमन्त्री ओलीले आइतबार माधव नेपालसहित ४ जना नेताहरुसँग छलफल गरे। बैठकमा राख्ने विषयको टुङ्गो नलागी नबस्ने उनले अडान लिएका थिए।

उता कार्यकारी अध्यक्ष प्रचण्डसहितका पाँच नेताहरुपनि आन्तरिक छलफलमा थिए।

सोमबार प्रचण्ड, नेपाल, प्रवक्ता श्रेष्ठसहितका नेताहरुले आगामी दिनमा कसरी जाने भन्ने विषयमा छलफल गरेका थिए।

ओलीनिकट नेताका अनुसार उनले बैठकको तयारी गर्न महासचिवलाई निर्देशन दिएका छन्।

‘बैठक बोलाउन प्रधानमन्त्रीले निर्देशन दिएको बुझेको छु, बैठकको लागि सबै प्रक्रिया मिलाएर तयारी गर्नू भनेर उहाँले भन्नुभएको छ,’ ओलीनिकट एक स्थायी समिति सदस्यले भने।

सोमबार नै पार्टीभित्रको संकटका विषयमा छलफल गर्न भन्दै विघटित कार्यदलका नेताहरु प्रधानमन्त्री ओलीको समय लिएर बालुवाटार गएका थिए। तर, कार्यदलका सदस्यमध्ये जनार्दन शर्मा र पम्फा भुसाल उपस्थित नभएपछि उनीहरुले प्रधानमन्त्री ओलीलाई नभेटी फर्किएको स्थायी समिति सदस्य भीम रावलले बताए।

शर्मा प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए भने भुसाल राज्य व्यवस्था समितिको बैठकमा सिंहदरबारमा थिइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .