ad ad

राजनीति


प्रचण्डसँग ओलीले ‘एक्सनको जवाफमा महाएक्सन’ लिने चेतावनी दोहोर्‍याएपछि बैठकका लागि दुई दिन कुर्ने निर्णय

प्रचण्डसँग ओलीले ‘एक्सनको जवाफमा महाएक्सन’ लिने चेतावनी दोहोर्‍याएपछि बैठकका लागि दुई दिन कुर्ने निर्णय

सागर न्यौपाने
कात्तिक २५, २०७७ मंगलबार १६:२९,

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका बहुमत सचिवालय सदस्य बैठक गर्नका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप दुई दिन समय दिने निर्णयमा पुगेका छन्।

प्रधानमन्त्री ओलीले मंगलबार भएको प्रचण्डसँगको भेटमा पनि बहुमत सदस्यले आफूविरुद्ध कुनै ‘एक्सन’ लिए त्यसको जवाफमा आफूले ‘महाएक्सन’ लिने चेतावनी दोहोर्‍याएपछि प्रचण्डपक्षीय नेताहरुले सहमतिमै सचिवालय बैठक राख्ने प्रयासका लागि थप दुई दिन दिने निर्णय गरेका हुन्।

केहि दिनपहिले भएको प्रचण्डसँगको भेटमा पनि ओलीले ‘एक्सनको जवाफमा महाएक्सन लिने’ चेतावनी दिएका थिए।

पार्टीमा विवाद चर्किंदै गएपछि प्रचण्डसहितका बहुमत नेताहरुले ती विषयलाई पार्टी कमिटीमा छलफल र निर्णय गरी सुल्झाउनुपर्ने बताउँदै बैठक राख्न ओलीलाई दबाब दिँदै आएका छन्।

तर ओलीले बैठकमा छलफल गर्ने विषयबारे दुई अध्यक्षबीच पहिले नै समझदारी बनाएर मात्र बैठक गर्न आफू तयार रहेको बताउँदै आएका छन्।

शनिबार बहुमत सदस्यहरुले लिखित रुपमै बैठकको माग गर्दै ओलीलाई एक पत्र बुझाएका थिए।

त्यतिबेला दुई दिनभित्र बैठक राख्न भनिएकोमा सो समय सकिएपछि मंगलबार प्रचण्डले बैठक राख्न जोड गरेका थिए। तर, ओली बैठकका लागि तयार नभएपछि प्रचण्डसहितका पाँच नेताहरुले पार्टी कार्यालयमा अनौपचारिक बैठक गरेका थिए।

सो अनौपचारिक बैठकमा उपस्थित हुनुअघि बालुवाटार पुगेका प्रचण्डलाई ओलीले आफू बैठकका लागि तयार नरहेको कुरा दोहोर्‍याएका थिए।

सचिवालय बैठक राख्ने सूचना पाएपछी प्रधानमन्त्रीनिकट नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आज मंगलबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए।

उनले दुई अध्यक्षबीचको संवादहीनता लम्ब्याउन नहुने भन्दै दुई नेताबीच सहमति कायम गरेर अघि बढ्न आग्रह गरेका थिए।

तर बालुवाटारबाट ओलीको सन्देश लिएर जतिजना नेताहरु आए पनि बैठकबारे कुनै ठोस प्रस्ताव नआएको भन्दै प्रचण्ड सहितका नेताहरू सचिवालय बैठक बस्ने निर्णयमा पुगे।

साेमबार पार्टी महासचिव तथा अर्थमन्त्री बैठकबारे सहमति प्रयासस्वरुप प्रचण्ड निवास पुगेका थिए।

बैठकबारे जानकारी दिन बालुवाटार पुगेका प्रचण्डलाई ओलीले ‘एक्सन’ लिए आफुले ‘महाएक्सन’ लिने चेतावनी नै दोहोर्‍याए।

सो कुरा प्रचण्डले पछि पार्टी कार्यालयमा भएको बैठकमा अन्य नेताहरुलाई जानकारी गराएका थिए।

प्रचण्डले ओलीसंगको संवादबारे धुम्बाराहीमा पुगेर भनेका थिए, ‘ओलीजीसँग मैले बिहीबार बैठक बसौं भनें। तर उहाँले तत्काल किन बस्नुपर्‍यो? पहिला तपाईं र मबीच समझदारी बनाऔं। त्यसपछि बैठक बसौंल भन्नुभयो,’

सचिवालयका एक नेताका अनुसार त्यसपछि प्रचण्डले ओलीलाई पार्टीमा थुप्रै विषयहरु छलफल गरेर एउटा निकास दिनुपर्ने भएकोले आजभोलि नै बैठक बसौं भनेर जोड गरेका थिए।

‘सहमतिको लागि दिएको दुई दिनको समय सकियो, तपाईं भोलि बाहिर जाने हो भने पनि पर्सि गरौं भन्ने प्रस्ताव गरेँ,’ प्रचण्डले अन्य नेताहरुसँग भनेका थिए।

तर ओलीले उनलाई प्रचण्डसहितका नेता अल्पमत र बहुमतको आधारमा अगाडि बढ्न खाेजेकाे र बिभिन्न योजना बनाएको भनी आक्रोश व्यक्त गरेका थिए।

‘के के योजना बनाउनु भएको छ, तपाइँसहितको बहुमत टोलिले यदि एक्सन लिन लाग्नुभएको छ भने म महाएक्सनमा जान्छु,’ ओलीको भनाइ उद्धृत गर्दै प्रचण्डले भनेका थिए।

मंगलबार अपरान्ह बसेको सचिवालय सदस्यहरुको अनौपचारिक बैठकमा वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको सहभागिता थियो।

सो बैठकले बिहीबारसम्म औपचारिक बैठकका लागि पर्खने निर्णय गरेको छ।

यो पनि :
ओलीले ठोस निर्णय नदिएपछि कार्यकारी अधिकार प्रयोग गर्दै प्रचण्डले बोलाए सचिवालय बैठक

मुख्यमन्त्री पोखरेल भन्छन्- सहमतिको सूत्र नै स्थायी समितिका निर्णयको कार्यान्वयन

नेकपा स्थायी समितिको निष्कर्ष- सरकारका महत्वपूर्ण निर्णय सचिवालयको सुझाव र दुई अध्यक्षको सहमतिमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .