ad ad

राजनीति


ओलीले ल्याउने प्रस्तावले नेकपाको भविष्य निर्धारण गर्छः प्रचण्ड

ओलीले ल्याउने प्रस्तावले नेकपाको भविष्य निर्धारण गर्छः प्रचण्ड

सागर न्यौपाने
मंसिर ८, २०७७ सोमबार ९:१६,

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले ल्याउने जवाफी राजनीतिक प्रस्तावले पार्टीको भविष्य निर्धारण गर्ने बताएका छन्।

सोमबार आफूलाई भेट्न खुमलटार निवास पुगेका स्थायी समिति सदस्यहरुसँग प्रचण्डले पार्टीभित्रको विवाद समाधान हुन्छ या अझ चर्किन्छ भन्ने विषय ओलीको प्रस्तावमा निर्भर रहने बताए।

‘म लगायतका सचिवालयका बहुमत सदस्य पार्टी एकता रक्षाकै पक्षमा छौँ,’ प्रचण्डको भनाइ उधृत गर्दै खुमलटार पुगेका एक स्थायी समिति सदस्यले भने, ‘अहिलेसम्म कुरा मिलेको छैन, उहाँ (प्रधानमन्त्री) को प्रस्ताव कस्तो आउँछ, ओली जी कसरी प्रस्तुत हुनुहुन्छ त्यसले पार्टीको भविष्य निर्धारण गर्छ।’

अध्यक्ष प्रचण्डले कात्तिक २८ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाउँदै प्रस्ताव पेस गरेका थिए। मंसिर ३ गते बसेको बैठकमा ओलीले प्रचण्डको प्रस्तावको जवाफ दिन १० दिनको समय माग गरेका थिए। मंसिर १३ मा अर्को बैठक बस्ने बताइएको छ।

प्रचण्डले नेताहरुसँग ओली पार्टीलाई एकताबद्ध बनाउन गम्भीर नदेखिएको र देशैभर गुट सक्रिय पारेको पनि बताए।

‘मैले एकताको रक्षाका लागि धेरैपटक हदैसम्मको लचकता अपनाएको छु, अब पनि म फुटको पक्षमा छैन, तर, अहिले अवस्था यस्तो बनिसक्यो कि मैले मात्र चाहेर हुँदैन, समस्या उहाँ (ओली)जीले निकाल्नुभयो। समाधान पनि उहाँकै हातमा छ,’ प्रचण्डले भने।

ओलीले ल्याउने प्रस्तावमाथि सचिवालयमा हुने छलफल व्यवस्थित भए पार्टी फुटलाई रोक्न सकिने उनको बुझाइ छ।

‘उहाँको प्रस्ताव कस्तो आउँछ, त्यसबारे सचिवालयमा छलफल होला। सचिवालयमा हुने बहसलाई व्यवस्थित गर्न सकियो भने पार्टी फुट रोक्न सकिन्छ,’ प्रचण्डले भने, ‘अहिलेसम्म फुटतिर भन्दा हल गर्नुपर्ने पक्षमा हामी लागेपनि ओलीजीका देशव्यापी क्रियाकलाप, कांग्रेससँग सत्ताकै विषयमा भएको भनिएका छलफलले विषयलाई बिगार्नतिर लगेको छ।’

ओली–प्रचण्डबीच सहमति गराउन चार नेताको दौडधुप
ओली र प्रचण्डबीच संवाद गराएर सहमति कायम गराउन दोस्रो तहका नेताहरुले सक्रियता देखाएका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी समिति सदस्य शंकर पोखरेल, स्थायी समिति सदस्य घनश्याम भुसाल, जनार्दन शर्मा र वर्षमान पुन लगायतका नेताहरुले सो पहल गरिरहेका छन्।

‘चार दिनदेखि उहाँहरुले छलफल गरेर सहमति गराउन दौडधुप गरिरहनुभएको छ तर, अहिलेसम्म कुनै निष्कर्ष निस्किएको छैन,’ एक नेताले भने।

प्रचण्ड र ओली दुवै जनालाई भेट गरेर मिलेर जान सुझाव दिइएको उनले बताए।

भदौ २६ मा स्थायी समितिले गरेको निर्णय ओलीले कार्यान्वयन नगरेपछि नेकपामा विवाद चुलिएको हो।

सरकार सञ्चालनमा एकलौटी गरेका ओलीले पार्टीमा समेत छलफल नगरी एकल निर्णय गर्न थालेपछि कार्यकारी अध्यक्ष प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरु एक ठाउँ उभिएका छन्।

पछिल्लो समय प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसन र मदन भण्डारी स्पोटर््स एकेडेमीमार्फत देशभर कार्यक्रम गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .