ad ad

राजनीति


सचिवालय बैठकअघि नेकपामा दुर्घटनाको चिन्ता

सचिवालय बैठकअघि नेकपामा दुर्घटनाको चिन्ता

सागर न्यौपाने
मंसिर १२, २०७७ शुक्रबार १५:२०,

नेकपाको सचिवालय बैठक शनिबार बस्दैछ। कुनै अप्रत्याशित घटना नभए बैठक रोकिने सम्भावना नरहेको नेताहरु बताउँछन्।

तर, बैठकसँगै नेकपा दुर्घटनामा जाकिने हो कि भन्ने चिन्ता नेताहरुमा देखिएको छ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावको जवाफसहितको प्रतिवेदन बैठकमा पेस गर्नेछन्। उनले त्यसका लागि लिएको दश दिनको समय सकिइसकेको छ। ओलीले प्रतिवेदन तयार पनि गरिसकेका छन्।

प्रचण्ड–माधव नेपाल पक्ष ओलीले गल्ती स्वीकार्नै पर्ने अडानमा देखिन्छन्। सचिवालयका बहुमत सदस्यको तर्फबाट प्रचण्डले पेस गरेको प्रस्तावको ओलीले कडा प्रतिवाद गरे पार्टी फुटको दिशामा जानसक्ने उनीहरुको भनाइ छ। यद्यपि ओली लचिलो भएर प्रस्तुत भए समाधानतर्फ अघि बढ्ने नेताहरुले दाबी गरे। 

ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनले नै उनी एक पदबाट हट्ने वा दुवै पदबाट हट्ने भन्ने टुंगो लगाउने सचिवालयका एक सदस्यले दाबी गरे।

‘यसअघि पार्टी र सरकार सञ्चालनमा भएका कमीकमजोरीलाई आत्मालोचना गर्दै आगामी दिन मिलेर जानुपर्ने गरी उहाँ प्रस्तुत भए दुई पदमध्ये एक पदबाट मात्र हट्ने गरी सहमतिको प्रयास गरिनेछ,’ ती नेताले नेपालखबरसँग भने, ‘तर, रुपान्तरण हुने र गल्ती महशुस गर्ने होइन, बदला लिने गरी प्रधानमन्त्री प्रस्तुत भए उहाँ दुवै पदबाट हट्नुपर्ने हुनसक्छ।’

प्रचण्डले गरेको आलोचनालाई ओलीले शत्रुतापूर्ण रुपमा लिएर उनले तह लगाउने व्यवहार गरे नेताहरुसँग उनलाई हटाउनुको विकल्प नरहने उनी बताउँछन्।

भदौ २६ गतेको निर्णय कार्यान्वयन गरेर मात्रै अब ओलीको दुवै पद जोगिने सम्भावना नरहेको ती नेताले दाबी गरे। 

‘प्रधानमन्त्रीले भदौ २६ को निर्णय आफैँले उल्लंघन गर्नुभएको हो, अब त्यता फर्किने हो भने उहाँले गरेका एकलौटी निर्णय खारेज गर्नुपर्ने हुन्छ, त्यो मान्नुहुन्छ जस्तो लाग्दैन,’ उनले भने।

‘उहाँ कसरी प्रस्तुत हुनुहुन्छ हामी त्यो हेर्छौं,’ उनले थपे, ‘कडै रुपमा प्रस्तुत भए हामी प्रधानमन्त्रीको प्रतिवेदन सचिवालयमा छलफल नै नगरी सीधै स्थायी कमिटीमा लैजान पनि सक्छौँ।’

स्थायी कमिटी सदस्य सुवास नेम्वाङ भने ओलीको प्रतिवेदन सकारात्मक सोचसहित आउने र त्यसले पार्टीलाई थप एकतावद्ध बनाउने अपेक्षा राख्छन्।

‘सचिवालयले के गर्छ यसै भन्न त सकिँदैन तर, प्रधानमन्त्रीको जवाफ आएपछि पक्कैपनि त्यसलाई अध्ययन गर्न समय चाहिएला, समय लेला, त्यसलाई ध्यान दिँदा पार्टीले सकारात्मक निष्कर्षमा पुर्‍याउन पनि समय लिनुपर्ने हो। सकारात्मक सोचले त्यही नै माग गर्छ क्यारे,’ पार्टीमा प्रधानमन्त्री ओली निकट नेता नेम्वाङले भने।

नेम्वाङले यतिबेला एकताबद्ध हुनुको विकल्प नरहेको बताए।

‘विवाद समाधान गर्नुपर्छ, सकारात्मक निष्कर्षमा पुर्‍याउनुपर्छ र पार्टीलाई थप एकतावद्ध बनाउनुपर्छ, त्यसबाहेक विकल्पै छैन,’ नेम्वाङले थपे।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने भोलिको बैठकमा के के गर्ने भन्ने अहिले नै तय नभएकोले बैठक बसेपछि मात्र निर्णय हुने बताए।

‘अहिलेसम्म के गर्ने भन्ने आएको छैन, बैठकमा उहाँको प्रस्ताव पेस भएपछि नै के गर्ने भन्ने कुरा थाहा हुन्छ,’ श्रेष्ठले भने।

आइतबार चीनका रक्षामन्त्रीको नेपाल भ्रमण भएकाले शनिबार ओलीको प्रतिवेदन पेस भएपछि केही दिनका लागि बैठक स्थगित हुनसक्ने बालुवाटारनिकट नेताहरु बताउँछन्।

विवाद बढ्दै जाँदा दुवै पक्षले आआफ्नो तयारी बलियो बनाएका छन्। प्रचण्ड–नेपाल पक्षले प्रदेश र जिल्ला स्तरका नेताहरुसँग समेत पछिल्लो परिस्थितिबारे रिपोर्ट लिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .