ad ad

राजनीति


कांग्रेसले थाल्यो २९ गतेको देशव्यापी प्रदर्शनको तयारी, सडकमा उत्रन कार्यकर्तालाई निर्देशन

कांग्रेसले थाल्यो २९ गतेको देशव्यापी प्रदर्शनको तयारी, सडकमा उत्रन कार्यकर्तालाई निर्देशन

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार १०:१,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बैठकले मंसिर २९ गतेको प्रदर्शनमा सहभागी हुन कार्यकर्ताहरुलाई आह्वान गरेको छ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पूर्वपदाधिकारी सहितको बैठकले मंसिर २९ मा ७७ जिल्लाको प्रदर्शनमा सहभागिताका लागि कार्यकर्तालालाई आह्वान गरेको हो।

वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा २९ गतेको प्रदर्शनको तयारीबारे छलफल भएको बताए।

‘२९ गतेको लागि हामीले ७७ वटै जिल्लामा जुन र्‍याली निकालेर अहिलेको सरकारको दमन नीतिलाई विरोध गर्नेबारेमा छलफल भएको हो’, बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता पौडेलले भने।

उनले ७७ वटै जिल्लामा प्रदर्शन गर्ने गरी छलफल भएको जानकारी दिए।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाको महामारीमा पनि सरकारको ध्यान भ्रष्टाचारमा केन्द्रित रहेको भन्दै प्रदर्शन भ्रष्टाचारको विरुद्धमा केन्द्रित हुने बताए। उनले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पोडेल लगायतका कांग्रेस कार्यकर्ताको गिरफ्तारीको विरोध गर्न जनाए।

‘कोरोनाको महामारी चलिरहेको छ र सरकारको ध्यान कोरोनाको महामारीतर्फ गम्भीर छैन’, उनले भने, ‘हाम्रो प्रदर्शन सरकारलाई सही बाटोमा ल्याउनका लागि हो।’

 शान्तिपूर्ण बाटोमा आउन विप्लवलाई कांग्रेसको आग्रह

त्यस्तै कांग्रेस बैठकले हिंसात्मक राजनीतिमा उत्रिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण राजनीतिक बाटोमा आउन समेत आग्रह गरेको छ।

कांग्रेसले मोरङमा बर्बर ढंगले शिक्षकको हत्या भएको भन्दै हत्यामा संलग्नलाई कारबाही गर्न समेत माग गरेको छ।

‘मोरङमा बर्बर ढंगले शिक्षक हत्याको विरोध, कडा कार्वाही माग। ब्यक्ति हत्याको बाटो छोडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह’, प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

प्रवक्ता शर्माले व्यक्ति हत्याको राजनीति गलत भएको बताउँदै हत्यामा संलग्नलाई कडा कारबाही गर्नुपर्ने बताए।

‘व्यक्ति हत्या २०२७÷०२८ सालमा एउटा कम्युनिस्ट पार्टीले गरेको होस् वा ०५७÷०५८ तिर अर्को कम्युनिस्ट पार्टीले गरेको होस् वा अहिले अर्को कम्युनिस्ट पार्टीले गर्ने प्रयास गरेको छ’, शर्माले भने, ‘व्यक्ति हत्याको राजनीति हिजो पनि गलत छ, आज पनि गलत छ। घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .