ad ad

राजनीति


कांग्रेसका पूर्व केन्द्रीय सदस्य श्रेष्ठको निधन, तीन दिन पार्टीको झण्डा आधा झुकाइने

कांग्रेसका पूर्व केन्द्रीय सदस्य श्रेष्ठको निधन, तीन दिन पार्टीको झण्डा आधा झुकाइने

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार १२:३८,

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी ८० वर्षीय श्यामलाल श्रेष्ठको निधन भएको छ।

मस्तिष्कमा रक्तश्राव भई उपचारका क्रममा आज काठमाडौं मोडेल अस्पतालमा निधन भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। स्वर्गीय श्रेष्ठ पार्टीको एघारौं महाधिवेशन २०६२ मा गिरिजाप्रसाद कोइरालाको सभापतित्वकालमा पार्टीको केन्द्रीय सदस्य थिए।

श्रेष्ठ विसं २०१८ सालमा निरंकुश पञ्चायती व्यवस्थाको विरोध गर्दै भएको क्रान्तिका क्रममा बमकाण्डमा पक्राउ परेका थिए। नेपालमा प्रजातन्त्र स्थापनार्थ भएका आन्दोलन/संघर्षका क्रममा उनले ११ वर्ष भन्दा बढी समयसम्म जेल जीवन बिताएका थिए।

३० वर्ष लामो प्रजातान्त्रिक आन्दोलनहरुमा सक्रिय रहेर बहुदलीय व्यवस्थाको स्थापनाका निमित्त विशिष्ट योगदान गर्ने र त्यस आन्दोलनमा सक्रिय भएका कारण पञ्चायती व्यवस्थाको दमन र प्रतिशोधमा परेका राजनीतिक पीडितहरुलाई सम्मान गर्नका लागि नेपाल सरकारबाट सन्त नेता कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको राजनीतिक पीडित समितिको उनी सदस्य थिए।

श्रेष्ठ २०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. ३ बाट पार्टीका तर्फबाट उम्मेदवार र २०५६ सालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौंको सभापति भएका थिए। स्वर्गीय श्रेष्ठ राजनीतिका साथै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका थिए। विसं २०७२ मा उनलाई जननायक बीपी कोइराला स्मृति ट्रष्टद्वारा बीपी सेनानी सम्मानबाट विभुषित गरिएको थियो। स्वर्गीय श्रेष्ठको एक छोरा र तीन छोरी छन्।

श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै कांग्रेसले मंसिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।

कांग्रेसले मंसिर २९ गतेका लागि पूर्व निर्धारित ७७ जिल्लामा हुने विरोध प्रदर्शनको आन्तरिक तयारीसँग सम्बन्धित कार्यहरु भने सूचारु रहने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .