ad ad

राजनीति


नेपाल–भारत ऊर्जा बैठक : एकीकृत ग्रीड, इनर्जी बैंकिङ लगायतमा सहमति

नेपाल–भारत ऊर्जा बैठक : एकीकृत ग्रीड, इनर्जी बैंकिङ लगायतमा सहमति

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार १२:५३,

भारत र नेपालका ऊर्जा सचिवहरुको नेतृत्वमा ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा द्विपक्षीय वार्ता भएको छ।

भारत–नेपाल संयुक्त संचालक समितिको सो बैठक शुक्रबार भिडियो कन्फरेन्स मार्फत सम्पन्न गरिएको हो।

भारत–नेपाल संयुक्त संचालक समिति दुई देशका सरकारबीच उर्जाको क्षेत्रमा भएका विभिन्न प्रयासलाई विस्तार एवम् समन्वय गर्ने सर्वोच्च द्विपक्षीय संयन्त्र हो।

‘वार्तामा दुवै पक्षले उर्जाको क्षेत्रमा भएका सहकार्यलाई थप मजबुत बनाउने लगायत एकीकृत ग्रीडको विकास एवम् विस्तार, आवश्यकता अनुसार थप अन्तरदेशीय विद्युत प्रसारण लाइनको निर्माण, नेपालको जलविद्युत तथा सौर्य उर्जा परियोजनामा लगानी लगायतका प्रतिबद्धता दाहोर्याएका छन्,’ भारतीय दूतावासले भनेको छ।

नेपाली ऊर्जा उत्पादकको भारतीय बजारमा पहुँच विस्तार गर्न तर्जुमा भएका उपयुक्त नियमावली तथा निर्देशिका, इनर्जी बैंकिङ्गको विकास, अन्तरदेशीय प्रसारण लाइनको विकासबारे छलफल गरिएको थियो।

द्विपक्षीय वार्तामा भारतीय कम्पनी एसजेभीएन लिमिटेडद्वारा निर्माण जारी रहेकाे ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको प्रगतिको समीक्षा गरी उक्त परियोजनाको कार्यान्वयन द्रूत रुपमा अघि बढाउने सहमति पनि गरिएको छ।

‘यस क्षेत्रको विकासका लागि दुवै देशका सरकारले निकटमा रहेर समन्वय गरिरहेका छन्। फलस्वरुप गएको पाँच वर्षमा यस क्षेत्रमा उल्लेख्य प्रगति भएको छ। दक्षिण एसियाको पहिलो ४०० केभी क्षमताको अन्तरदेशीय मुजफ्फरपुर–ढल्केबर विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ भने ४०० केभी क्षमताको गोरखपुर–बुटवल प्रसारण लाइनको वित्तीय मोडालिटिबारे पनि सहमति भइसकेको छ र अब चाँडै यस परियोजनाको निर्माण सुरु हुनेछ,’ दूतावासले भनेको छ।

९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको निर्माण उल्लेख्य रुपमा अघि बढेको निष्कर्ष निकाल्दै दुई देशबीच विद्युतको अन्तरदेशीय व्यापारका लागि दुवै पक्षले नियमन मोडालिटिलाई छिट्टै अन्तिम रुप दिने बताइएको छ।

उक्त बैठकमा नेपालका उर्जा सचिव दिनेश कुमार घिमिरेले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।

भारत सरकारका उर्जा सचिव संजीव नन्दन सहाय, नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्रा तथा विभिन्न मन्त्रालय तथा भारतीय दूतावास, एनएचपीसी लिमिटेड, एनटीपीसी लिमिटेड लगायतका भारत सरकार अन्तर्गतको सार्वजनिक निकायका अधिकारी सहितको १७ सदस्यीय टोलीको सहभागिता थियो।

यस बैठकको तयारी स्वरुप बिहीबार सहसचिव स्तरीय भारत–नेपाल संयुक्त कार्य समितिको बैठक सम्पन्न भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .