ad ad

राजनीति


जानकी मन्दिरमा सुरु भयो राम र जानकी विवाहको काज

जानकी मन्दिरमा सुरु भयो राम र जानकी विवाहको काज

शैलेन्द्र महतो
पुस ४, २०७७ शनिबार १४:४०,

जनकपुरको जानकी मन्दिरमा राम र जानकीको विवाहको काज (विधि) प्रारम्भ भएको छ।

जानकी मन्दिर प्रांगणमा बनाइएको विवाहमण्डप (मरबा) मा मिथिलाको वैदिक परम्पराअनुसार राम र जानकी (सीता) को विवाह साँझदेखि सुरु भएको हो।

अहिले राम र जानकी विवाहको काज चलिरहेको छ।

त्रेता युगमा प्राचिन मिथिलाको राजधानी जनकपुरमा राम र जानकीको विवाह भएको स्मरणमा प्रत्येक वर्ष आजकै दिन विशेषरुपले डोला फेर गरी स्वयम्बर र विवाह गर्ने परम्परा कायमै छ।

Ram Janaki couple

शनिबार बेलुका जानकी मन्दिर प्रांगणमा राम र जानकीको विवाह हेर्न हजारौंको संख्यामा श्रद्धालुहरुको घुइँचो लागेको हो।

विवाह कार्यक्रममा राम र जानकीको स्वरुप बनाइएका बालबालिकाको विधि गर्ने गरिन्छ।

रातभर सुमधुर गीतसंगीत, झाँकीकिर्तन र मिथिलाको गाली गीतसहित सांस्कृतिक कार्यक्रम गरी ख्याल ठट्टा हुने गर्दछ।

विवाहको काजमा मैथिलानीहरुले जन्तीलाई थरी थरीका गाली गीतले स्वागत गर्ने गर्छन्।

विवाहअघि आज शनिबार दिउँसो जनकपुरको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदानमा डोला फेर गरी राम र जानकीको स्वयम्बर गरिएको थियो।

राम मन्दिरबाट भगवान रामको डोल र जानकी मन्दिरबाट जानकीको झाँकी किर्तन, बाजागाजा सहितको लस्कर बाह्रविघा मैदानमा पुगेपछि स्वयम्बर गर्ने परम्परा रहेको छ।

RamJanaki 1

बाह्रविघा मैदानमा डोला फेर गरी भएको राम–सीताको स्वयम्बर हेर्न हजारौंको संख्यामा यसवर्ष पनि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको थियो।

बाह्रविघामा स्वयम्बर पश्चात् निस्केको दुबै डोला जनकपुरको नगर परिक्रमा गरी जानकी मन्दिर पुगेपछि साँझदेखि विवाहको विधि सुरु हुने परम्परा रहेको छ।

Ram Janaki bihe janti 1

सप्ताहव्यापी रुपमा मनाइने विवाहपञ्चमीको मुख्य दिन आज राति राम र जानकीको विवाह सम्पन्न भएपछि भोलि जन्तीका रुपमा रहेका साधुशन्तलाई विविध परिकारको भोजन खुवाई विदाइ गरिने जानकी मन्दिरमा महन्त रामतपेश्वर दासले बताए।

जन्तीलाई विदाइ गर्ने दिनलाई रामकलेवा भन्ने गरिन्छ। रामकलेवामा पनि सांस्कृतिक कार्यक्रम आयोजना हुने गर्दछ।

Ram Janaki bihe janti

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .