ad ad

राजनीति


हरिबोल गजुरेललाई प्रश्नः युद्ध लड्दादेखि प्रचण्डलाई दिएको साथ अहिले किन छाड्नुभयो?

हरिबोल गजुरेललाई प्रश्नः युद्ध लड्दादेखि प्रचण्डलाई दिएको साथ अहिले किन छाड्नुभयो?

सागर न्यौपाने
पुस ५, २०७७ आइतबार १४:५,

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि मुलुक संकटमा परेको छ।

प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्थाविपरीत कदम चालेकोले राष्ट्रपति भण्डारीले यो कदमलाई रोक्नुपर्ने आवाज उठेपनि त्यसको सुनुवाइ भएन।

यही घटनाक्रमबीच आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी समिति बैठकले प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको छ।

ओलीलाई कारबाही गर्ने निर्णय गरेको सो स्थायी समितिको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट भनेर चिनिएका हरिबोल गजुरेल अनुपस्थित रहे। यही विषयमा उनीसँग गरिएको संक्षिप्त कुराकानीः

तपाईं स्थायी समितिको बैठकमा किन जानुभएन?
बैठकमा जान भ्याइएन। म सिन्धुली गएको थिएँ, फर्कँदाफर्किँदै ढिलो भयो।

फेरि बैठकमा सबै आएनन् रे, एउटा गुटको मात्रै बसेको पनि भनेको सुनेँ। महासचिव पनि आएनन् भन्छन्। अरु मैले बुझ्न पाएको छैन भरखर बाहिरबाट आएको।

तपाईँले प्रचण्ड गुट छाडेको हल्ला छ नि त।
कुन गुट? म त कुनै गुटमा छैन। मैले पहिला पनि भनेको छु, म कुनैपनि समीकरण, गुटमा छैन भनेर।

सँगै युद्ध लडेर आएको तपाईंहरु। यतिखेर आएर प्रचण्डको साथ किन छाड्नुभएको?
मैले क्रान्तिकारी धार छाड्ने कुरा आउँदैन। अवसरवादीको पछि लागेर पो हिँडिँदैन। क्रान्तिकारी धार त छाडिँदैन।

अनि नयाँ बन्ने एमाले पार्टीमा रामबहादुर थापासँगै तपाईंहरु पनि जाने कुरा हल्ला मात्र हो उसो भए?
उहाँहरुले के के बनाउनुहुन्छ, हेर्दै जाउँ, बुझ्दै जाउँ। यसमा मेरो केही पनि प्रतिक्रिया छैन। म सबै घटनाक्रम बुझ्नुपर्ने अवस्थामा छु।

सबै घटनाक्रम कहाँ के कसरी भयो थाहा पाउनुपर्‍यो नि। एकथरीले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने योजना बनाएपछि यसो गरेको पनि भन्छन्।

तपाईंले प्रचण्डको साथ चाहिँ छाड्नु भएको हो कि होइन त?
मैले आजको घटनाक्रम बुझेको छैन।

यो घटनाक्रम कसरी यहाँसम्म पुग्यो भन्ने कुरा म यहाँ नभएकाले थाहा छैन। यसो भेटेर कुरा गर्नुपर्‍यो। सबैसँग छलफल गर्नुपर्‍यो। त्यत्तिकै हावादारी बोल्दिने कुरा हुँदैन।

त्यसो भए प्रचण्डलाई आजभोलि भेट्नुहुन्छ?
भेट्छु। भेटेपछि कुरा गर्छु। सबैकुरा बुझेपछि मात्र यही हो भन्ने थाहा हुन्छ।

पछिल्लो घटनाक्रम कहाँ, कसरी भएको रहेछ भन्ने थाहा पाउनु पर्‍यो, अनि मात्र यस्तो रहेछ भन्ने प्रष्ट हुन्छ।

अहिले अरु कुरा पनि आइरहेको छ।

अविश्वासको प्रस्ताव दर्ता गर्न लिएर गएपछि ओलीले संसद विघटन गरिदिए भन्ने पनि छ। मलाई त्यस्तो हल्ला पनि सुनाउँछन्। यस्तो सुनियो सुनेपछि त बुझ्नुपर्‍यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .