ad ad

राजनीति


आफ्नै अफिस जान किन मन लाग्दैन प्रधानमन्त्रीलाई?

आफ्नै अफिस जान किन मन लाग्दैन प्रधानमन्त्रीलाई?

सागर न्यौपाने
पुस २७, २०७७ सोमबार ११:३४,

प्रधानमन्त्री केपी ओली नौ महिनादेखि सिंहदरबार गएका छैनन्।

२०७६ फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

मिर्गौला प्रत्यारोपणको नौ दिनपछि चैत २ गते ओली सिंहदरबार पुगेका थिए। त्यसयता उनी सिंहदरबार गएका छैनन्।

त्यसलगत्तै कोरोना संक्रमण फैलियो। चैत ११ देखि देशव्यापी लकडाउन गरियो। त्यसपछि त प्रधानमन्त्री बाहिर निस्किने कुरै आएन।

त्यसयता ओलीले महत्वपूर्ण बैठकहरु प्रधानमन्त्री निवासमै राख्दै आएका छन्। कतिसम्म भने धुम्बाराहीस्थित पार्टी कार्यालयमा राखिएको बैठकमा समेत जान उनले अस्वीकार गरिदिए। त्यसैले उनकै लागि भनेर बैठक पटकपटक बालुवाटारमै सारियो।

नेकपाको धुम्बाराही कार्यालयका एक नेताका अनुसार ओली आउने भनेर पुरै हल डिसइन्फेक्ट गरिएको थियो। दुरी कायम गरेर कुर्सीको व्यवस्थापन गरिएको थियो। तर, ओली गएनन्।

यसबीचमा नेकपाको अधिकांश बैठक बालुवाटारमै बस्यो।

KP Oli Office3

तर, स्वास्थ्यको कारण देखाउँदै आफ्नै कार्यालय जान नचाहेका प्रधानमन्त्री पछिल्लो समय कार्यक्रममा सहभागी हुन पूर्व किमाथांकादेखि पश्चिम धनगढीसम्म पुगेका छन्।

अहिले पनि कोरोना संक्रमणको जोखिम घटेको छैन। तर, पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि ओलीको दौडधुप निकै बढेको छ।

पार्टी फुट्ने निश्चित भएपछि ओली संगठन विस्तार अभियानमा लागेका छन्। हजारौंको भीडलाई घण्टौँ लगाएर सम्बोधन पनि गरिरहेका छन्।

पुस १५ गते बबरमहलमा रहेको कार्की ब्यांक्वेटमा पुगेर प्रधानमन्त्री ओलीले झण्डै हजार बढीको भीडलाई एक घण्टा सम्बोधन गरे।

पुस १९ गते पनि ओलीले सोही ठाउँमा उपत्यकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गरे। उनी पुस १८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी पुगेर काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेलामा सहभागी भएका थिए।

पुस २५ मा युवा संघको बागमती प्रदेशस्तरको भेलालाई प्रज्ञामै पुगेर सम्बोधन गरे।

पुस २४ मा धनगढीमा गएर ओलीले बृहत् सभा नै गरे। 

KP Oli Office5

डाक्टर लिएर हिँड्छन्
धेरै मानिसलाई कोरोना संक्रमणको जोखिमबीच ओली कसरी दौडधुप गरिरहेका छन् भन्ने पनि परेको छ। उनकी निजी चिकित्सक दिव्यासिंह शाहले भने सावधानीपूर्वक कार्यक्रममा जान प्रधानमन्त्रीलाई कुनै छेकबार नभएको बताइन्।

‘अहिले जोगिने भनेको कोभिडसँग हो,’ डा. शाहले भनिन्, ‘नियमित औषधि सेवन गर्नेबाहेक प्रधानमन्त्रीले एक्स्ट्रा केही गर्नुपर्ने अवस्था छैन। प्रत्यारोपण गरेको केही महिना स्वास्थ्य अवस्था क्रिटिकल थियो। औषधिको मात्रा बढी चलाइएको थियो। अहिले सबै सामान्य अवस्थामा छ।’

डा. शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था निकै राम्रो भएकोले प्रत्यारोपण गर्दाको समयमा जस्तो विशिष्ट स्वास्थ्य सुरक्षा लिनुपर्ने अवस्था नभएको बताइन्।

‘कार्यक्रममा जानै नमिल्ने भन्ने छैन। तर, सावधानीपूर्वक जानुपर्‍यो, सुरक्षाको विधि अपनाउनुपर्‍यो,’ डा. शाह भन्छिन्, ‘भीडमा चाहिँ सकभर नजानू भनेर हामीले सुझाव दिने गरेका छौँ।’

उनका अनुसार जहिले पनि एक जना डाक्टर प्रधानमन्त्रीको साथमै हुने गरेका छन्।

‘उहाँको साथमा एकजना डाक्टर जानुहुन्छ, औषधि नियमित हुँदा अब मिर्गौला प्रत्यारोपण गरेकै कारण कार्यक्रममा जान नमिल्ने भन्ने छैन,’ शाहले थपिन्।

KP Oli Office4

उसो त आफ्नो स्वास्थ्य सप्रिँदै गएको अनुभव प्रधानमन्त्री ओलीलाई पनि भएकै छ। कात्तिक २३ गते माधवकुमार नेपाल लगायतका नेतासँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले दोस्रोपल्ट मिर्गौला प्रत्यारोपणपछि आफू झन् जवान हुँदै गएको बताएका थिए।

‘खै के भएको हो कुन्नि, हाच्छ्यूँ पनि आउँदैन, यताउता केही पनि भएको छैन। ताजा पनि छु, झन–झन बलियो भएको छु। मेरा त जुँगा पनि आधा कालो भएर आएका छन्, जोस पनि २२ वर्षेको जस्तो हुँदै आएको छ,’ ओलीले भनेका थिए।

स्वास्थ्यले बाधा नगर्दा पनि ओली आफ्नै कार्यालय सिंहदरबार चाहिँ किन जान मन गर्दैनन् त?

सिंहदरबार नगए पनि ओलीले राम्ररी सरकार चलाइरहेको तर्क गर्छन् अर्थमन्त्री विष्णु पौडेल। कार्यक्रमहरुमा जाँदा पनि सुरक्षाका उपाय अपनाउने गरिएको उनले बताए।

‘उहाँ पूर्ण रुपले स्वस्थ हुनुहुन्छ। कोभिडसँग जोगिएर हिँड्नुभएको छ,’ पौडेलले भने, ‘प्रधानमन्त्रीले राम्ररी सरकार सञ्चालन गरिरहनुभएको छ। सिंहदरबार पनि बेलाबेला आउनुभएकै छ नि!’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .