ad ad

राजनीति


माइतीघरमा प्रचण्ड–नेपालको ५१ मिनेटको धर्नामा जे देखियो

माइतीघरमा प्रचण्ड–नेपालको ५१ मिनेटको धर्नामा जे देखियो

सागर न्यौपाने
माघ १८, २०७७ आइतबार १५:५८,

वीर सहिदलाई ठोकेर सलामी
निरंकुशताको जाऊँ साथी मलामी
रातो झण्डा रातै रुमाल
संघीयता जोगाउने हो भने कस कम्मर, रगत उमाल

बागमती प्रदेशकी सांसद मीना ज्ञवालीले प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघरमा मण्डलमा गाएको गीतको अंश हो यो।

उनी कुनै गायक होइनन्। न त गीत गाउने बेला संगीतको साथ थियो उनलाई। तर, प्रतिगमनविरुद्धको उनको यो गीतले धर्नामा बसेका सबैलाई जुरुक्क बनायो।

माघ १४ देखि संविधान सभाका सदस्यहरुले माइतीघरमा धर्ना दिँदै आएका थिए। आइतबार मध्यान्ह १२ बजेदेखि धर्ना कार्यक्रम थियो।

मध्यान्ह १२ बजेर ४ मिनेट जाँदा धर्नामा आइपुगे– अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड।

‘यो धर्ना संविधानसभा सदस्यहरुको होइन?’ प्रचण्डले छेउमा बसेकी पम्फा भुसाललाई सोधे।

भुसालले जवाफ दिइन्, ‘हो। तर, यहाँ प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसद पनि छन्।’

प्रचण्डलगत्तै माधवकुमार नेपाल पनि आइपुगे। दुई शीर्ष नेता आएसँगै मण्डलमा मानिसहरुको संख्या ह्वात्तै बढ्यो।

पछाडितिरबाट चर्को नारा लाग्न थाल्यो– ‘प्रतिगमन मुर्दावाद!’

पहिलो पंक्तिमा प्रचण्ड, नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, अष्टलक्ष्मी शाक्य, पूर्णाकुमारी सुवेदी र देव गुरुङ थिए।

प्रतिनिधि सभा विघटनपछि पुस १० गते प्रचण्ड र नेपाल सोही स्थानमा ‘हामी यहाँ छौँ’ लेखिएको प्ले कार्ड टाँसेर सडकमै केही बेर बसी आन्दोलन सुरु गरेका थिए।

त्यसको ३८ दिनपछि फेरि सोही स्थानमा उनीहरु ५१ मिनेट धर्ना बसे। प्रचण्ड–नेपाल विघटनविरुद्ध यसरी लामो समय धर्नामै बसेको पहिलो पटक हो।

पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेका प्रचण्ड–नेपालले १५ गते बुटवल, १६ गते विराटनगर र १७ गते धनगढीमा विशाल विरोध सभा गरी फर्किएका हुन्।

देशका प्रमुख सहरका सभामा मानिसहरुको व्यापक उपस्थितिबाट प्रचण्ड–नेपाल पक्ष उत्साहित देखिन्थ्यो।

धर्ना सुरु भएको १० मिनेटपछि सम्बोधनको कार्यक्रम सुरु गर्ने तयारी भयो। त्यसको चाँजोपाँजो मिलाइरहेकी थिइन, पम्फा भुसाल।

‘तपाईंहरु पनि सम्बोधन गर्ने हो कि?’ भुसालले सोधिन्।

‘हामीले भन्दा संविधान सभाकै सदस्यले बोल्दा राम्रो होला,’ नेपालले जवाफ दिए।

‘संविधान सभाको उपाध्यक्ष पूर्णाकुमारी सुवेदी बोल्दा राम्रो हुन्छ,’ प्रचण्डले थपे।

‘पूर्णाजी!’ प्रचण्डले बोलाए, ‘तपाईं बोल्नु। संविधान बनाउदाखेरीका सबै कुरा समेटेर। त्यो प्रभावकारी हुन्छ।’

त्यसपछि पम्फा भुसालले गंगा चौधरीलाई बोल्न आग्रह गरिन्। चौधरी बोलिरहँदा देव गुरुङ कसैले सोध्यो– साँच्ची निर्वाचन आयोगले चुनाव चिन्ह र पार्टीको विषयमा के निर्णय गर्छ?’

मोबाइल हेरिरहेका उनले टाउको नउठाई जवाफ फर्काए, ‘ठ्याक्कै यही गर्छ भन्ने निष्कर्ष निकाल्न सकिएको छैन, जे पनि गर्न सक्छ।’

नेताहरु चौधरीको भाषण ध्यानपूर्वक सुनिरहेका थिए।

‘१७ हजार नेपालीले बलिदानी किन गरे?’ चौधरीको प्रश्न सुन्नेबित्तिकै प्रचण्डले कान ठाडो पारे, ‘१७ हजारले यही गणतन्त्र ल्याउन बलिदानी गरेका हुन्।’ प्रचण्डले समर्थनमा मुन्टो हल्लाए।

‘मधेस आन्दोलन किन भयो? यही समावेशी व्यवस्था ल्याउन हो,’ चौधरीले थपिन्, ‘संघीयताकै कारण हामीले आफ्नै सरकार बनाउन सक्यौँ। तर, प्रधानमन्त्री ओलीले संविधान च्यात्ने काम गरे, हाम्रो अधिकार समाप्त गरे। त्यो स्वीकार्य छैन।’

चौधरीको भाषणमा जब जनयुद्ध र बलिदानीका प्रसङ्ग आउँथे, प्रचण्डले निकै चासो दिएको देखिन्थ्यो।

चौधरीपछि पूर्णाकुमारी सुवेदी बोल्न थालिन्।

‘संविधानसभाबाट निर्माण गरेको संविधानले प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुने र दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था गरेको छ। कसैले सनकको भरमा प्रतिनिधि सभा विघटन गर्न नपाऊन् भनेरै संविधानमा धारा ७६ को एक देखि ७ सम्म व्यवस्था गरिएको हो,’ उनले भनिन्।

सुवेदीको भाषण चलिरहेको बेला प्रचण्डले मोबाइल निकालेर समाचार पढे।

१२:२२ मा राष्ट्रियसभा सदस्य दीनानाथ शर्मा आइपुगे। नारायणकाजीकै छेऊमा उनलाई बस्न आग्रह गरियो। प्रचण्डले शर्मालाई सोधे, अनि तपाईंको स्वास्थ्य कस्तो छ?’

‘हल्का रुघा लागेको हो, अहिले अलि ठीक भएको छ,’ शर्माले प्रचण्डलाई जवाफ दिए।

केही बेरपछि एकजना नेताले प्रचण्डलाई पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे प्रश्न राखे।

‘घरमै आएर भेट्नु न,’ प्रचण्डले भने।

त्यही बेला सांसद मीना ज्ञवाली गीत गाउन थालिन्–

लोकतन्त्रको चीरहरण हुँदा
जाग युवा रात मानी नसुत
रातो झण्डा...
तयार छौं सडकमै मर्नलाई
संविधानको सुरक्षा गर्नलाई
रातो झण्डा...
संघीयता जोगाउने हो भने कस कम्मर रगत उमाल
सूर्य हाम्रो छ साथमा झलमल झलमल
फटाहाले नपार अलमल
रातो झण्डा रातै रुमाल
नेकपालाई बचाउने हो भने कस कम्मर, रगत उमाल।

ज्ञवालीको गीत सुनेर सबैले ताली बजाए। केहीले स्वरमा स्वर मिलाउन थाले।

माधव नेपालले प्रशंसा गर्दै भने– ‘कति मीठो स्वर, कस्तो राम्रो सन्देश।’

गीतले वातावरण उर्जामय बनाइदियो।

त्यसपछि सुरेन्द्र पाण्डेले दश मिनेट बोले। उनले आधुनिक महाभारत युद्ध हुन लागेको बताउँदै आफूहरुले विजय प्राप्त गर्ने दाबी गरे।

त्यही बेला प्रचण्डलाई संविधान सभाका सदस्य गंगा पराजुलीले भनिन्, ‘कमरेड हामीले २६ गते सहिद, बेपत्ताको तर्फबाट कार्यक्रम गर्दैछौँ।’

प्रचण्डले सोधे– ‘कहाँ हुन्छ त्यो कार्यक्रम?

‘यही बबरमहलदेखि बानेश्वरसम्म।’

‘उहाँ आउने भनेपछि थप उत्साहित भएका छौँ,’ पराजुलीले नेपालखबरसँग भने।

अन्त्यमा पम्फा भुसालले २१ गतेसम्मको लागि तय गरिएको धर्ना कार्यक्रमलाई आजै समापन गर्न लागेको जानकारी दिइन्।

धर्ना सकिएपछि बागमती प्रदेशको मुख्यमन्त्रीकी उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई सबैले घेरा हाले।

उनलाई कसैले शुभकामना र बधाई दिइरहेका थिए भने कोही उनीसँग तस्बिर खिचाउन तँछाडमछाड गरिरहेका थिए।

नेपालखबरको प्रश्नमा उनले भोलिबाट प्रदेशमा अविश्वासको प्रस्तावमाथि छलफल सुरु हुने बताइन्।

‘भोलिबाट छलफल सुरु हुन्छ,’ शाक्यले भनिन्, ‘अब छलफलमै गएपछि धेरै कुरा थाहा हुन्छ।’

तर, आइतबार साँझ नै प्रदेशसभाका सभामुखले सो बैठक फागुन ५ गतेसम्म स्थगित गरेका छन्। जसका कारण अविश्वास प्रस्तावमाथिको छलफलमा ढिलाइ हुने भएको छ।

आफूहरुको धर्नाले अदालतलाई सही निर्णय दिन सहयोग पुग्ने संविधान सभा सदस्य मञ्चकी अध्यक्ष कल्पना धमलाले बताइन्। राष्ट्रपति र प्रधानमन्त्रीले गरेको गल्ती नजिकै रहेको सर्वोच्च न्यायालयले नदोहोर्‍याउने उनको विश्वास छ।

‘सिंहदरबार र सर्वाेच्चको छेउमै अध्यक्षद्वयको उपस्थितिमा संविधान बनाउँदाका हामी सांसदहरुले दिएको धर्नाले निर्णय गर्नेहरुलाई बल पुगेको छ,’ उनले भनिन्, ‘सही निर्णय आउँछ, आएन भने पनि सडकबाटै प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .