ad ad

राजनीति


ओली समूह प्रवेश गरेका यादव भन्छन्: १५ दिनभित्र जसपामा पहिरो जान्छ

ओली समूह प्रवेश गरेका यादव भन्छन्: १५ दिनभित्र जसपामा पहिरो जान्छ

सागर न्यौपाने
माघ २१, २०७७ बुधबार ८:३४,

नेकपाको ओली समूहमा प्रवेश गरेका जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता डा. शिवजी यादवले १५ दिनभित्र जसपामा पहिरो जानेगरी नेताहरु ओली पक्षमा लाग्ने दाबी गरेका छन्।

ओली समूहमा प्रवेश गरेलगत्तै नेपालखबरसँग कुरा गर्दै पूर्वसांसद डा. यादवले जसपाका उच्चदेखि स्थानीय तहसम्मका नेताहरुको ठूलो संख्या ओली समूहमा प्रवेश गर्ने दाबी गरे।

‘हेरिराख्नुस् १५ दिनभित्र जसपामा पहिरो जान्छ,’ यादवले भने, ‘अहिले नै यतिउति संख्या ताक्दिन तर लिडरदेखि कार्यकर्तासम्म, संघदेखि प्रदेश र स्थानीय तहसम्मको ठूलो संख्यामा साथीहरु प्रधानमन्त्रीको पार्टीमा जोडिनेछन्,’ उनले भने।

यादवले जनताको जनमत लिन चुनावमा जाने विषयलाई पार्टीले अस्वीकार गरेर आन्दोलन सुरु गरेको हुँदा आफूले जसपा परित्याग गरेको बताए।

‘निर्वाचनमा नजाने कुरामै मेरो मुख्य असहमति हो, हामीले संविधान सभाले बनाएको संविधानलाई नमानेर जलाएकै थियौं, पछि चुनावमा सहभागी भयौं,’ संसदमा यसअघि सचेतक समेत रहिसकेका यादवले भने, ‘फेरि अहिले चुनावको विरोध गर्नेे निर्णय पनि उहिलेको संविधान नमान्ने जस्तै हुने देखेर म त्यो पार्टीमा बस्न उचित ठानिनँ,’

dr shivajee yadhav e1612312781322

उनका अनुसार ओली नेतृत्वको पार्टीमा जोडिनको लागि एकमहिनादेखि तयारी भएको थियो।

‘पटक पटक छलफल भएको हो, यसैपनि म उहाँसँग विभिन्न च्यानलबाट जोडिएकै थिएँ, हिजो चाहिँ पार्टी नै प्रवेश गर्ने निर्णय गरेँ,’ उनले भने।

पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित अवस्थामा छ। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले सडक आन्दोलन चर्काइरहेको छ। नेपाली कांग्रेस र जसपा लगायतका संसदमा रहेका दलले पनि प्रतिनिधि सभा पुनस्र्थापना माग गरेर आन्दोलन गरिरहेका छन्।

आन्दोलनकै क्रममा रहेको पार्टीसँग असन्तुष्टि जनाएर उनी सत्तारुढ दलमा प्रवेश गरेका हुन्।

डा. यादव संविधान सभाको निर्वाचनमा उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरममा सक्रिय भएका हुन्।

त्यसयता उनी उपेन्द्रकै पार्टीमा थिए। रुसबाट इन्जिनियरिङ अध्ययन गरेर फर्केलगत्तै उनी सक्रिय राजनीतिमा लागेका हुन्।

जसपाका एक नेताकाअनुसार सो पार्टीले गठन गरेको कार्यकारिणी परिषदमा सदस्य नबनाएदेखि पार्टी नेतृत्वप्रति उनको असन्तुष्टि बढेको थियो।

‘५१ सदस्य रहेको कार्यकारिणी परिषदमा सदस्य नबनाएपछि उहाँ असन्तुष्ट हुनुहुन्थ्यो, अहिले उहाँले पार्टी नै छोड्नुभएछ,’ ती नेताले भने।

यो पनि: 
जसपा नेता शिवजी यादव नेकपा ओली समूहमा प्रवेश

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .