ad ad

राजनीति


क्षमा माग्दै प्रचण्ड–नेपाल समूहले घोषणा गर्‍यो देशव्यापी आमहड्ताल, यस्ताे छ विज्ञप्ति

क्षमा माग्दै प्रचण्ड–नेपाल समूहले घोषणा गर्‍यो देशव्यापी आमहड्ताल, यस्ताे छ विज्ञप्ति

नेपालखबर
माघ २१, २०७७ बुधबार ८:३०,

प्रचण्ड–नेपाल समूहले भोलि (बिहीबार) देशव्यापी आमहड्तालको कार्यक्रम सार्वजनिक गरेको छ।

बुधबार प्रतिनिघि सभा विघटनविरुद्ध संघर्ष समितिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको हो।

‘हामी सरकारको कदमविरुद्ध बाध्य भएर आमहड्तालजस्तो कार्यक्रम गर्न बाध्य भयौँ, त्यसका लागि हामी क्षमा चाहन्छौँ’, पत्रकार सम्मेलनमा नेत्री पम्फा भुसालले भनिन्।

उनले आज (बुधबार) साँझ मशाल जुलुसको कार्यक्रम राखिएको जानकारी दिइन्।

उनले बन्दका क्रममा यातायात, पसल, कलकारखाना सबै बन्द रहने र स्वास्थ्य तथा अत्यावश्यक बस्तु आयात गर्ने साधनहरु भने चल्न दिने जानकारी दिइन्।

 उनले  परीक्षा सञ्चालनमा पनि कुनै अवरोध नहुने जानकारी दिइन्।

यस्ताे छ विज्ञप्ति ः

नेपाल कम्युनिष्ट पार्टी (ने क पा)
केन्द्रीय संघर्ष समिति

मितिः २०७७।१०।२१

वर्तमान केपी ओली सरकारले प्रतिनिधि सभा विघटनको असंवैधानिक अलोकतान्त्रिक, निरंकश र प्रतिगामी कदम चालेपछि यतिबेला सबै राजनीतिक पार्टीहरु, नागरिक समाज, संघ संस्थाहरु र आम जनसमुदायसहित सिंगो देश उक्त असंवैधानिक एवम् प्रतिगामी कदमका विरुद्ध आन्दोलनरत रहेको छ।

यसरी देश आन्दोलनमय रहेकै अवस्थामा आज २०७७ माघ २१ गते सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवम् गैर कानूनी ढंगले नियुक्त गरिएका संवैधानिक अंगका पदाधिकारी एवम् सदस्यहरुलाई बलमिच्याँई गरी सपथ ग्रहण गराउने कार्य गरिएको छ। संवैधानिक परिषद्को बैठकमा त्यसका एक सदस्य प्रतिनिधि सभाका सभामुखलाई प्रक्रिया संगत ढंगले उपस्थितिको लागि आमन्त्रित समेत गरिएको छैन। त्यसैले सो बैठक नै अवैधानिक छ। र, साथै संविधानमा संवैधानिक अंगका पदाधिकारी र सदस्यहरुको संसदीय सुनुवाई हुनुपर्ने अनिवार्य व्यवस्था छ।

सरकार आफैले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदम चालेर संसदीय सुनुवाई समिति सुचारु हुन नसक्ने स्थिति उत्पन्न भएको वर्तमान अवस्थाका कारणले सभामुखले सुनुवाइ हुन नसक्ने जानकारी गराउँदै संवैधानिक परिषद्मा फाइल फिर्ता पठाएको तथ्य पनि सबैलाई ज्ञात नै छ । यति हुँदा हुँदै पनि आज सपथ ग्रहण गराउनु निरंकुशता, जोरजर्बजस्ती र निर्लज्जताको पराकाष्ठा हो। हाम्रो पार्टी यसको घोर भर्त्सना गर्दै खारेजीको माग गर्दछ।

यसले के कुरा थप पुष्टि गरेको छ भने प्रतिनिधि सभा विघटनको असंवैधानिक कार्य छुट्टै एउटा प्रतिगामी कदम मात्र नभएर नेपाली जनताले बलिदानीपूर्ण संघर्षबाट हासिल गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको एतिहासिक राजनीतिक परिवर्तन र नेपालको संविधानलाई समूल अन्त्य गर्न उद्दत पुनरुत्थानवादी प्रतिगामी षड्यन्त्रको एक कडी हो।

तसर्थ संविधान एवम् लोकतन्त्रको रक्षा गर्न र फाँसिष्ट जंगलराजबाट देशलाई बचाउन सम्पूर्ण देशभक्त र लोकतान्त्रिक शक्तिहरु एकताबद्ध हुँदै संघर्षलाई अझ सशक्त रुपमा अघि बढाई सफल बनाउनु यो ऐतिहासिक क्षणमा सबैको साझा कार्यभार हुन आएको छ।

संविधानतः यो सरकार प्रतिनिधि सभा विघटन गर्ने आफ्नो प्रतिगामी कदमपछि स्वतः काम चलाउ सरकारमा परिणत भइसकेको छ। तर त्यसपछि मन्त्रिपरिषद्को पुनर्गठन गर्ने असंवैधानिक कार्य गरिएको छ । राष्ट्रिय भूमि आयोगका जिल्ला स्तरीय अध्यक्ष र सदस्यहरुका अतिरिक्त अन्य नियक्तीहरु गरिएका छन् । पूर्व प्रधानन्यायाधीश र वरिष्ठ कानून व्यवसायीहरुलाई लान्छित एवम् अपमानित गर्दै धम्क्याउने कार्य गरिएको छ।

अदालत र निर्वाचन आयोगलाई सार्वजनिक रुपमै दबाब दिइँदै छ। नागरिक समाजको शान्तिपूर्ण आन्दोलनमा निर्ममतापूर्वक बल प्रयोग गरी नागरिक अगुवाहरुमाथि आक्रमण गरिएको छ । पुलिस प्रशासन र सरकारी गुण्डाहरुले आन्दोलनकारी युवा विद्यार्थीहरुलाई जथाभावी आक्रमण गरी सख्त रुपमा घाइते बनाइएको छ। सरकारी सेवामा रहेका कर्मचारीहरु र पेशागत समुदायलाई आतंकित बनाइएको छ।

काम चलाउ सरकारको यस प्रकारको असंवैधानकि र दमनकारी क्रियाकलापलाई बन्द गर्न हामी कडा चेतावनी दिन चाहन्छौं । प्रतिगमनलाई असफल पार्न र निरंकुशतन्त्रलाई अन्त्य गर्न जुनसकै मूल्य चुकाउनु परे पनि हामी तयार रहेको कुरा स्पष्ट पार्न चाहन्छौँ।

तसर्थ हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० असंवैधानिक रुपमा बलजफ्ती गरिएको संवैधानिक अंगहरुका पदाधिकारी र सदस्यहरुको नियुक्तीको ज्यादतीपूर्ण निरंकुश कदमको विरोधमा भोली २०७७ माघ २२ गते देशव्यापी आमहड्तालको आह्वान गर्दछ ।

प्रतिनिधि सभा विघटनको प्रतिगामी कदम र कामचलाउ सरकारको गैर संवैधानिक, स्वेच्छाचारी एवम् दमनकारी क्रियाकलापको विरुद्ध पनि संघर्षलाई यस रुपमा अघि बढाउनुपर्ने बाध्यात्मक स्थिति उत्पन्न हुन गएको छ। हामी यसरी बाध्यात्मक रुपमा घोषणा गर्न परेको आमहड्तालको कार्यक्रमलाई व्यापक समर्थन एवम् सहभागितासहित पूर्ण रुपमा सफल पार्न सम्पूर्ण राजनीतिक पार्टी, नेता कार्यकर्ताहरु, नागरिक समाज, पत्रकार, बुद्धिजीवि, प्राध्यापक, शिक्षक, पेशाकर्मी, उद्योगी व्यवसायी, यातायात व्यवसायी, मजदुर, युवा विद्यार्थी लगायत सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौँ।

कोभिड–१९ को मारबाट मुक्त भई नसकेको वर्तमान अवस्थामा यसबाट हुने असहजताको निम्ति हाम्रो पार्टी सबैसँग क्षमायाचना गर्न चाहन्छ। तर नेपाली जनताले गरेको दशकौंको संघर्ष र हजारौं सहिदहरुको बलिदानबाट प्राप्त संविधान र लोकतन्त्रको रक्षा गर्न र सरकारी गुण्डाराज तथा निरंकुशतन्त्रलाई अन्त्य गर्न संघर्ष गर्ने पर्ने अनिवार्य स्थितिको बोध तपाईंहरु सबैमा रहेको अपेक्षासहित संघर्षमा समर्थन, सहयोग र सहभागिताका लागि विनम्र अनुरोध गर्दछौं।

देशव्यापी आमहड्तालमा यातयात, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्थाहरु बन्द हुनेछन्। यसबाहेक अस्पताल, एम्बुलेन्स, पानी, दुध, औषधी लगायत अत्यावश्यक सेवाहरु सुचारु रहनेछन् । विद्यार्थीहरुको परीक्षा सञ्चालनमा कुनै अवरोध हुनेछैन । आज २०७७ माघ २१ गते साँझ देशव्यापी रुपमा मसाल जुलुस गरिनेछ।

यसअघि नै घोषित २०७७ माघ २८ गते काठमाडौंमा हुने विरोध प्रदर्शन र सभा यथावत् रहेको छ । २०७७ माघ २२ गते काठमाडौंमा आयोजना गरिने युवा ऱ्याली कार्यक्रम माघ २८ गते पछि गरिनेछ।

नारायणकाजी श्रेष्ठ
संयोजक, केन्द्रीय संघर्ष समिति
पेरिसडाँडा, कोटेश्वर, काठमाडौं

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .