ad ad

राजनीति


ओलीको कदमविरुद्ध देशका ‘बेस्ट ब्रेन’ एकै ठाउँमा छन्ः प्रचण्ड

ओलीको कदमविरुद्ध देशका ‘बेस्ट ब्रेन’ एकै ठाउँमा छन्ः प्रचण्ड

सागर न्यौपाने
माघ २३, २०७७ शुक्रबार ९:५७,

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीको प्रतिगमनविरुद्ध मुलुकका ‘बेस्ट ब्रेन’ एकै ठाउँमा उभिएको बताएका छन्।

शुक्रबार बिहान ललितपुरको सानेपामा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रचण्डले आमहडताल गर्नुपर्नाको कारणदेखि संयुक्त आन्दोलनसम्मका विषयमा पत्रकारहरुको प्रश्नको जवाफ दिए। प्रचण्डका भनाइ १५ बुँदामाः

१. बेस्ट ब्रेन एकठाउँमा छौं। पूर्वप्रधानन्यायाधीश हेर्नुस्, उहाँहरुको क्षमता हेर्नुस्। निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्तहरु हेर्नुस्। उहाँहरु शान्तिको निम्ति, नेपालको संविधान निर्माणको निम्ति लोकतन्त्रको सुदृढिकरणको निम्ति ठूलो भूमिका खेलेका व्यक्तित्व हो। नियम कानुनको व्यवस्था बुझेका।

नागरिक आन्दोलन, पत्रकार, बुद्धिजीवी, प्रध्यापक भन्नुस्। राम्रो र स्वच्छ दिमाग भएका मानिसहरु ओली कदमविरुद्ध खडा भइनै सके। यो राष्ट्रको स्वाधीनतालाई सुदृढ गर्ने सवाल पनि हो, राष्ट्रिय एकतालाई कायम राख्ने सवाल पनि हो।

२. केपीजीले प्रतिक्रियावादीका अघि आत्मसमर्पण गर्नु भयो। उहाँले गर्नुभयो भनेर नेपाली जनताले पनि आत्मसमर्पण गर्न सक्छ त? कुनै हालतमा सकिँदैन। त्यसकारण यो सवाल सत्य र असत्यको हो। निरङ्कुशता र लोकतन्त्रबीचको लडाइँ भइसकेको छ। माधव नेपाल र प्रचण्डको कुरा होइन।

३. संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गलत छ भनेर कांग्रेसका प्रवक्ताले विज्ञप्ति निकाल्नुभएको छ। त्यसकारण कांग्रेसले समर्थन गरेको भन्ने लाग्दैन। प्रवक्ताले निकाल्ने विज्ञप्ति पार्टीको आधिकारिक नै हुन्छ। शेरबहादुरजीलाई केही अप्ठेरो होला। जसपा त हाम्रो जस्तै कडा संघर्षमा छ।

४. विप्लवलाई प्रतिबन्ध लगाउने विषयमा पार्टीमा सल्लाह नगरी मन्त्रिपरिषदबाट निर्णय भएछ। म त्यो पार्टीको अध्यक्ष, मलाई नै थाहा छैन। हामीले यो प्रतिबन्ध लगाउने कुरा गलत हो भनेकै हो, म लगायत माधवजीले। अहिले सरकारले वार्ता गर्न चिठ्ठी पठायो रे भन्ने पनि सुनिएको छ, वार्तामा ल्याउन। सरकारले इमान्दारीपूवर्क वार्तामा ल्याउन चाहेको भए सबैभन्दा पहिला त प्रतिबन्ध हटाउनुपर्छ। प्रतिबन्ध पनि राख्ने अनि वार्ता पनि गर्छु भन्ने त मिल्दैन। उहाँहरु आउने हो भने हाम्रो समर्थन रहन्छ। मेरो उहाँहरुसँग कुरा भएको छैन। म सबैलाई चिन्छु। विभिन्न व्यक्तिबाट रिपोर्ट त आइराख्छ, मैले प्रतिक्रिया पनि दिइराखेको हुन्छु। तर, मसँग छुट्टै कुराकानी भएको छैन।

५. केपीजी सबै ठाउँमा अल्पमतमा हुनुहुन्छ। सचिवालयमा अल्पमत, स्थायी समितिमा एक तिहाइ मात्रै, केन्द्रीय समितिमा पनि एक तिहाइ मात्र, संसदभित्र दुई तिहाइ बहुमत उहाँको विरोधमा छ। उहाँले सजिलै छाडेको भए समस्या हल हुन्थ्यो। जतासुकै अल्पमतमा परेको कुरा त जगजाहेर छ। उहाँ किन अल्पमतमा पर्नुभयो? उहाँको त्यही आचरण व्यवहार र शैलीका कारण अहिले आएर सबैकुरा भाँचकुच पारेर सिध्याइदिन्छु भन्ने खालकोमा उहाँ जानुभाछ। उहाँमा लोकतन्त्रको चिन्ता अलिकति पनि छैन। हामी त सक्दैनौँ, म पनि सक्दिनँ अनि माधवजी पनि सक्न हुन्न। अल्पमतमा पर्दा यो पनि भत्काइदिन्छु, त्यो पनि तोडिदिन्छु भन्नै सक्दैनौँ। कसले उहाँलाई उचालेको छ भन्ने जगजाहेर छ।

६. पुस ५ गते संसद् विघटन भएदेखि सबै दलसँग सहकार्य भइरहेको छ। यसबीचमा माधवजी र म लगातार छलफलमा छौँ। अन्तक्र्रिया लगातार भइरहेको छ। यसलाई संयुक्त आन्दोलन बनाउने कोसिसमा हामी छौँ। त्यसरी हेर्दा अहिलेको असंवैधानिक अलोकतान्त्रिक कदमलाई करेक्सन गर्नैपर्छ भन्ने सबै दल र आन्दोलनरतहरुको भावना र विचार छ। त्यसैले नै संयुक्त अन्दोलनको आधार दिएको छ।

७. एमसीसीबारे पार्टीले अन्तिम निर्णय लिएको छैन। हाम्रो पार्टीको केन्द्रीय समितिमा छलफल चल्यो, कार्यदल बन्यो त्यसले सुझाव प्रतिवेदन दिएको छ। तर, पार्टीले अन्तिम अन्तिम निर्णय गरिसकेको स्थिति छैन।

अहिले हामी संवैधानिक परिषदमा भएको ज्यादतीपूर्ण नियुक्ति, म त यसलाई गुण्डागर्दी भन्छु। यो सामान्य खालको छैन। सुनुवाइ समिति छैन। सभामुखले सुनुवाइ समिति नभएकोले प्रक्रिया नपुगेको भनेर फिर्ता पठाएको स्थिति छ। यो बेलामा दश थरीका नारा लगाउनुभन्दा आन्दोलनको माग के हो त्यसैमा केन्द्रित गरौँ भनेको हो मैले।

नारा त थुप्रै लगाउन सकिन्थ्यो। एकातिर एमसीसीबारे पार्टीले औपचारिक निर्णय गरिसकेको छैन। अर्काेतिर आन्दोलन एउटा विषयमा केन्द्रित छ। दश वटा नारा लगाउन थालियो भने त्यसले हाम्रो प्रहारको निसाना कमजोर हुन्छ भन्ने अर्थमा मात्रै मैले रोकेको हो।त्यसको अर्थ म एमसीसीको समर्थनमा गएँ, मैले नीति बदलँे भन्ने होइन। बरु मैले अमेरिकी राजदूतलाई पनि यो संशोधन हुन सक्छ कि सक्तैन भनेर सोधेको थिएँ।

८. म आफैँ शान्तिप्रति प्रतिबद्ध, बहुदलीय प्रतिस्पर्धाप्रति प्रतिबद्ध, अब फेरि हिंसा, फेरि युद्धतिर जाने भन्ने कुरा हुनै सक्दैन। मेरो प्रतिबद्धता हो यो। तर, शान्ति र आन्दोलनको पर्यायको रुपमा आएको संविधानलाई कुल्चने, लोकतन्त्रको हत्या गर्ने, अराजकताको सुरुवात गर्नेका विरुद्ध म नगएर, हाम्रो पार्टी नगएर सबै चिज ठीकठाक हुन्छ भन्ने छैन। यदि राज्यको नेतृत्वले देशलाई दुर्घटनातिर लग्यो भने कोही न कोही त अराजकताविरुद्ध उत्रिन्छ।

यो सामान्य विषय होइन, राष्ट्र, शान्ति, संविधानको विषय जोडिएको छ। यो विषयलाई सच्याइन्छ कि सच्याइँदैन भन्ने हो। लोकतन्त्रको रक्षा हुन्छ कि हुँदैन, संविधान र शान्तिको रक्षा हुन्छ कि हुँदैन भन्ने सवाल हो। केपीजीले पहिला प्रतिनिधि सभा भंग गरे फेरि संवैधानिक निकायमा ठूलो नौटङ्की। निरंकुशताको यो पराकाष्ठा हो।

९. सबैभन्दा ठूलो सेटिङ त जनता हो जनता उठेपछि सबै सेटिङ भत्किन्छ। कसैले सेटिङ अनुसार हुन्छ र जनताले खुरुखुरु मान्छन् भन्ने नसोचे हुन्छ। चुनाव पनि अवैधानिक हुन्छ। त्यसले समस्याको हल दिँदैन। नेपाली जनताले खुरुखुरु मान्दैन। निर्वाचन आयोग र अदालतले संविधान अनुसार गर्छ। गरेन भने कयामत हुन्छ। यो अहिले सोच्ने विषय होइन, त्यही बेला जे हुन्छ, हुन्छ।

१०. अहिलेसम्मका उपलब्धी संघीयता, गणतन्त्र, समावेशी लगायत समग्र परिवर्तन सरकार बनेको तीन वर्ष पुग्दानपुग्दै दुर्घटनामा किन पर्‍यो? कहाँनेर हाम्रो कमजोरी भयो? आत्मसमीक्षाको तयारीमा छौँ र श्वेतपत्र प्रकाशन गर्ने तयारीमा छौँ। कहाँनेर कमजोरी भयो भन्ने विषय समेटेर श्वेतपत्र निकाल्छौँ, इतिहासले थाहा पाउनुपर्छ।

११. संवैधानिक आयोगमा भएका नियुक्ति, नैतिकत, कानुन र व्यवस्थाका आधारमा प्रतिगामी कदम हो। कोरम नपुगेको बैठकले नियुक्ति गरेछ, त्यो बेला पार्टी फुटेकै छैन, हामी स्थायी समितिको बैठकमा नियुक्ति गरेकै छैन भन्नुहुन्छ। कोरम नपुगेको, अल्पमतको लोकतन्त्रविरोधी कदम हो सबैलाई निचोरेर नियुक्ति गरियो।

१२. प्रधानमन्त्री नै नेगेटिभ भएपछि हुँदो रहेनछ। बजेट ल्याउँदा पनि नीति तथा कार्यक्रम ल्याउदा पनि पार्टीभित्र छलफल गरिएन। पहिलो बजेट ल्याउँदा हाम्रो घोषणा पत्रको मर्म अनुसार नभएको भन्दै संसदभित्रै साथीहरुले विद्रोह गर्ने अवस्था बन्यो। झण्डै दुईतिहाई सरकार बनाइएको छ, जनतालाई अब के के हुन्छ भन्ने पारिएको पनि छ तर सरकार उल्टो बाटो हिँड्न थालिहाल्यो।

दोस्रो बजेट आयो त्यस्तै भयो। तेस्रो बजेट आयो त्यस्तै भयो। केपी करेक्सन हुनेतिर भन्दा अझ निरङ्कुश ‘आई एम द स्टेट’ भन्ने तिर गए।

१३. अहिलेको आन्दोलनमा युवा पुस्ता जोडियो। फेरि युवा पुस्ता राजनीतिमा जोडियो। नत्र डर भएको थियो। युवाहरु लोकतन्त्रप्रति जागरुक हुने वातावरण बनेको छ। हामी त अब २÷४ वर्ष रहौंला। उत्तरार्धतिर छौं।

१४. आत्मसमीक्षा गर्छौँ। हाम्रो पनि त्रुटि भएको छ। तर त्यसको अर्थ हामी असक्षम भयौं, बाटो छोडिदिनुपर्छ भनेर पलायन हुने पक्षमा हाम्रो पार्टी छैन। हामी कोही नेता पलायनको पक्षमा छैनौं। हामी फेरि पनि संघर्ष गरौं, राष्ट्र, जनता र लोकतन्त्रको पक्षमा, संविधानको पक्षमा लडाइँको मैदानमा छौं। फेरि पनि सत्यक पक्षको लडाइँमा छौं।

१५. यो नेकपाको आन्तरिक विषय हुँदै होइन। आमहडताल गर्नुपर्नाको कारण संवैधानिक निकायमा पदाधिकारी नियुक्ति नै हो। ४८ घण्टाको समयमा सूचना दिनुपर्ने कुरा पनि पालना गरिएन। प्रधानमन्त्रीले हामीलाई ढाँट्नुभयो।

४५ जना र आमन्त्रित गरी स्थायी समितिमा ५० जना नेता छौं। अध्यादेश फिर्ता लिन्छु भनेर प्रतिबद्धता गर्नुभयो पछि बुझ्दा अल्पमतले कोरम नपुगी नियुक्ति गरिसकेको रहेछ।

निर्ममतापूर्वक लोकतन्त्रको हत्या भयो। राज्यसत्तालाई कब्जा गर्ने प्रयास भयो। यस विरुद्ध खडा छौं। आमहडताल रहर होइन। त्यही भएर पहिलो र दोसोे चरणको आन्दोलनमा हडताल राखेनौँ। यो पटक राज्यसत्तालाई एकजना मान्छेले निर्ममतापूर्वक सबै मूल्यमान्यता, संविधानका सबै प्रावधान कुल्चिएपछि अब चैँ गुण्डाराज नै हुने भयो, यसलाई तुरुन्त प्रतिवाद गर्नुपर्‍यो भनेर हडताल गरेका हौँ। ज्यातिविधि भयो, त्यसकार तुरुन्त सडकमा हामफाल्न गयौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .