ad ad

राजनीति


७ नेतासँग शेखर कोइरालाको छुट्टै बैठक, महाधिवेशन र आन्दोलनबारे बन्यो नयाँ रणनीति

७ नेतासँग शेखर कोइरालाको छुट्टै बैठक, महाधिवेशन र आन्दोलनबारे बन्यो नयाँ रणनीति

सागर न्यौपाने
फागुन ३, २०७७ सोमबार १४:८,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव हुनुपर्नेमा जोड दिइरहेका बेला सभापतिका दाबेदार मानिएका नेता शेखर कोइराला भने आन्दोलनको पक्षमा उभिएका छन्। आन्दोलनबिना संसद् पुनर्स्थापना र चुनाव दुवै नहुने उनको निष्कर्ष छ।

कोइरालाले फागुन ५ मा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलन चर्काउने प्रस्ताव लैजाने तयारी पनि गरेका छन्।

माघ २७ गते धुलिखेलस्थित आगन्तुक रिसोर्टमा कोइरालाले प्रतिनिधि सभा विघटन र पार्टीको महाधिवेशनको विषयमा केन्द्रित रहेर ७ युवा नेतासँग रणनीतिक बैठक गरेका थिए।

बैठकमा गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियार, गुरुराज घिमिरे, दीपक गिरी र बद्री पाण्डे सहभागी थिए, जो अबको कांग्रेसको राजनीतिमा निर्णायक शक्ति मानिन्छन्।

धुलिखेल बैठकमा सहभागी नेताहरुका अनुसार कोइरालाले प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध सशक्त आन्दोलन हुनुपर्ने बताएका थिए।

‘केपीले असंवैधानिक, अलोकतान्त्रिक कदम चालेका छन्, यसको विरुद्ध कडा आन्दोलन गर्नुपर्छ,’ कोइरालाको भनाइ उधृत गर्दै सहभागी नेता जीवन परियारले नेपालखबरसँग भने, ‘प्रतिनिधि सभा पुनर्स्थापनाको विकल्प छैन। यो अलोकतान्त्रिक कदमलाई सर्वाेच्च अदालतले खारेज गर्नुपर्छ।’

कोइरालाले संविधान बनाउन ओलीको कुनै भूमिका नभएको पनि बताएका थिए।

‘लोकतान्त्रिक गणतन्त्र ल्याउने कुरामा होस् वा संविधान बनाउन होस्, यसमा केपी ओलीको भूमिका छैन, बरु यो व्यवस्था र संविधान बनाउन प्रचण्ड–माधव नेपालको भूमिका निकै छ,’ कोइरालाले भने।

ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेसले विरोध जनाएको छ। तर, सभापति देउवा भने आन्दोलनभन्दा चुनाव हुनुपर्ने पक्षमा छन्। संसद् विघटनपछिका हरेकजसो वक्तव्यमा देउवाले चुनावलाई बढी जोड दिँदै आएका छन्। सोमबार मात्रै देउवाले बुटवलमा चुनावी कार्यक्रम अघि नबढाएको भन्दै निर्वाचन आयोगको आलोचना गरे।

देउवाले मुखले विरोध गरेपनि ओलीसँगको मिलेमतोमा संवैधानिक आयोगमा नियुक्ति गराएको आरोप लागिरहेको छ। यस्तो बेलामा कांग्रेसका प्रभावशाली नेता कोइरालाले युवा नेताहरूसँग छलफल गरेर आन्दोलनबिना चुनाव पनि नहुने निष्कर्ष निकालेका हुन्।

‘अहिले प्रधानमन्त्रीले गरेको संविधान मिच्ने र संविधानमाथि निर्मम प्रहार गर्ने कदम सच्याउनुपर्छ, त्यसका लागि आन्दोलन चर्काउनुपर्छ भनेर कोइरालाले भन्नुभयो,’ धुलिखेल बैठकमा सहभागी नेता गुरु घिमिरेले भने।

सो बैठकमा चन्द्र भण्डारीले कोइरालालाई प्रश्न गरेका थिए– ‘चुनावको मिति घोषणा भइसकेको छ। चुनाव हुने नै भयो भने के गर्ने? अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नै गर्छ भन्ने ग्यारेन्टी के छ? हामी त्यसलाई मानेर जाने कि चुनावमा जाने?’

‘ओलीले चुनाव गर्न मिति घोषणा गरेका हुन् र?’ कोइरालाले जवाफमा भने, ‘ओलीले संसद् विघटन गर्दिनँ भनेको पार्लियामेन्टमा रेकर्ड छ। तर किन गरे त? पार्लियामेन्टमा संसद् विघटन गर्दिनँ भन्ने ओलीले त्यही गरे। अनि अहिले चुनाव गर्छु भनेपनि त्यो गराउने ग्यारेन्टी के छ?’

त्यसैले आन्दोलन र जनदबाबले मात्र संसद् पुनर्स्थापना हुने कोइरालाको भनाइ थियो।

‘प्रधानमन्त्रीबाट संविधानको धाराको हत्या र दुरुपयोग भएको छ, यसको पुनर्स्थापनाको लागि आन्दोलन र जनदबाबले मात्र सम्भव छ,’ कोइरालाले थपे।

सोही अनुसार केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनको प्रस्ताव लगिन लागिएको परियारले बताए।

‘आन्दोलन फरक मोडेलको गर्नुपर्छ, संयुक्त आन्दोलन गर्न नसकेपनि कम्तीमा ७ ठूला सहरमा ठूलो विरोध सभा राख्नुपर्छ। यही प्रस्ताव केन्द्रीय समितिमा लैजान्छौँ,’ परियारले भने।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले कांग्रेससहित अन्य दललाई संयुक्त आन्दोलनमा आउन आग्रह गरिरहेको छ।

धुलिखेलमा कोइरालाले छानिएका सात युवा नेताहरूसँग बसेर खासगरी सभापतिमा आफ्नो उम्मेदवारीबारे लेखाजोखा गरेको र महाधिवेशन केन्द्रित रणनीति बनाएको बताइएको छ। तर सहभागी युवा नेताहरू त्यसबारे खासै खुल्न चाहेनन्।

२०७८ भदौभित्र कांग्रेसको महाधिवेशन गर्नुपर्ने बाध्यकारी अवस्था छ। अहिलेको कार्यसमितिको समयसीमा फागुन १९ गते सकिँदैछ। त्यसपछि फेरि ६ महिनाभन्दा बढी समय थप गर्न मिल्दैन।

युवा नेताहरूले कोइरालासँग कांग्रेसको आगामी महाधिवेशन र नेतृत्वको विषयमा चासो राख्दै संस्थापनइतरका सभापतिका आकांक्षीहरु एकठाउँमा आउन र एक मत भएर नेतृत्व चयन गरेर जान सुझाव दिएका थिए।

‘नयाँ नेतृत्वमा कसलाई लैजाने? हामी कसको पक्षमा उभिने हो?’ युवा नेताहरूले कोइरालालाई सोधे।

कोइरालाले नेताहरुसँग सरसल्लाह गरेर जाने जवाफ मात्रै फर्काए।

कोइराला सभापतिका आकांक्षी हुन्। त्यसैले आकांक्षीहरुले नै नाम घोषणा गर्ने वातावरण बनाउनुपर्ने सुझाव घिमिरेले दिएका थिए।

‘आगामी नेतृत्वका विषयमा हामी एक ढिक्का भएर र एकमतले निर्णय गर्छौँ तर, त्यसको समय आएपछि,’ कोइरालाले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .