ad ad

राजनीति


सत्ता जोगाउन जसपा फकाउँदै ओली, रेशम चौधरी रिहा गर्ने ‘प्रतिबद्धता’

सत्ता जोगाउन जसपा फकाउँदै ओली, रेशम चौधरी रिहा गर्ने ‘प्रतिबद्धता’

सागर न्यौपाने
फागुन २४, २०७७ सोमबार १६:४५,

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता जोगाउन जनता समाजवादी पार्टी (जसपा), नेपालको साथ खोजेको रहस्य खुलेको छ।

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि समस्यामा परेका ओलीले आइतबार बिहान जसपाका अध्यक्ष महन्थ ठाकुरसँग बालुवाटारमा छलफल गरेका हुन्।

जसपाका एक नेताले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले आफूलाई साथ दिन ठाकुरसँग आग्रह गरेका छन्।

‘प्रधानमन्त्री ओलीले बोलाएपछि महन्थ ठाकुरजी बालुवाटार जानुभएको थियो,’ ती नेताले नेपाखबरसँग भने, ‘उहाँले तपाईंको सहयोग चाहियो, सरकारमा आउनुस् भन्ने प्रस्ताव राख्नुभयो।’

जवाफमा ठाकुरले आफ्ना सांसद रेशम चौधरीको रिहाइ र मुद्दा फिर्ता गरी संविधान संशोधन गर्न तयार हुनुपर्ने सर्त राखेका छन्।

‘प्रधानमन्त्रीको प्रस्तावमा जवाफ दिँदै ठाकुरजीले रेशम चौधरीको रिहाइ र तत्काल मुद्दा फिर्ता हुनुपर्ने र संविधान संशोधन यति दिनमा गर्छु भन्ने प्रतिबद्धता जनाउनुपर्ने बताउनुभएछ,’ ती नेताले सुनाए।

त्यस क्रममा प्रधानमन्त्री ओलीले रेशम चौधरीको रिहाइ गर्न तयार रहेको बताएको उनको दाबी छ।

‘तपाईंले विप्लवलाई अस्ति भर्खर सार्वजनिक गर्नुभयो, रेशम माननीयलाई पनि छाड्ने वातावरण बनाउनुपर्‍याे भन्दा प्रधानमन्त्री ओलीले हुन्छ, म रेशमलाई निकाल्छु, भन्नुभएछ,’ ठाकुरनिकट ती नेताले थपे।

उनका अनुसार प्रधानमन्त्रीले जसपाका नेताहरूको माग सम्बोधन गर्छु भनेर प्रतिबद्धता नै जनाएका छन्। एक–दुई दिनमा चौधरी रिहा गरिने तयारी रहेको उनको दाबी छ।

‘प्रधानमन्त्रीले चाहेपछि ३ दिनमा विप्लवसँगको वार्ता मिल्यो भने हाम्रा सांसद रेशम चौधरीको पनि रिहाइ तत्काल हुन सक्छ,’ उनले भने। 

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई मान्यता नदिएर पहिलेकै अवस्थामा फर्काइदिएपछि ओलीले जसपालाई सरकारमा ल्याउने कोसिस गरेका हुन्।

नेकपा बदरको फैसलाका कारण एमाले र माओवादी केन्द्र आजबाट औपचारिक रूपमै अलग भइसकेका छन्।

एमालेका १ सय २० सांसद छन्। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए जसपासँग मिलेर ओलीले विश्वासको मत जोगाउन सक्छन्। सोही कारण उनले जसपाका नेताहरूसँग भेटघाट तीव्र पारेका हुन्।

संसद् बैठक बुधबार बस्दै छ। माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्ती ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ। यसैकारण उनले जसपासँग मिलेर जान चाहेको देखिन्छ।

जसपाका अर्का एक नेताका अनुसार जसपालाई पनि नेपाली कांग्रेस र माओवादी केन्द्रसँग मिलेर जानुभन्दा एमालेसँग मिलेर जाँदा सहज हुने देखिएको छ।

तर जसपामा ठाकुर मात्र नभएर उपेन्द्र यादव र बाबुराम भट्टराईजस्ता नेता पनि छन्।

जसपाले संविधान संशोधनको विषय पनि उठाइरहेको छ। एमालेकै कारण संविधान संशोधन नभएकाले ओलीसँग मिलेर जाँदा त्यो काम सहज हुने विश्लेषण गरिएको ती नेता बताउँछन्।

‘मुख्यतः अवराेध एमाले नै हो, कांग्रेस र माओवादी संविधान संशोधन गर्न तयार थिए,’ उनले भने।

‘सरकारमा आउन ओलीले पटकपटक भन्नुभएको छ, तर हाम्रो माग पूरा नभई सरकारमा जाने सम्भावना छैन,’ नेता केशव झाले नेपालखबरसँग भने।

एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वाेच्चको फैसलापछि प्रचण्ड र शेरबहादुर देउवासँग कुनै छलफल नभएको उनले बताए।

जसपाले भोलि मंगलबार संसदीय दलको बैठक राख्दै छ। जसमा सर्वोच्चको फैसलापछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल हुने सांसद राजकिशोर यादवले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .