ad ad

राजनीति


सुदूरपश्चिममा माओवादी केन्द्रलाई ठूलो धक्का

सुदूरपश्चिममा माओवादी केन्द्रलाई ठूलो धक्का

गोकुल जोशी
चैत ८, २०७७ आइतबार २:३५,

आफ्ना प्रभावशाली नेता लेखराज भट्ट एमालेमा प्रवेश गरेपछि सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रलाई ठूलो धक्का लागेको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट विजयी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्ट एमाले–माओवादी केन्द्र एकीकरणअघि माओवादी केन्द्रको सुदूरपश्चिम इन्चार्ज थिए।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र मानिने भट्टलाई पार्टी एकीकरणका बखत कुनै पनि पद दिइएन। एमाले–माओवादी मिलेर बनेको तत्कालीन नेकपाको सुदूरपश्चिम इन्चार्ज एमालेका नेता डा.भीम रावललाई बनाइयो।

अध्यक्ष ‘प्रचण्ड’कै इच्छामा रावललाई स्थान दिएर आफूलाई पाखा पारिएको भन्दै भट्ट असन्तुष्ट बनेका थिए। पार्टी एकीकरणको साढे २ वर्षपछि मात्रै भट्ट ओली नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्तिमन्त्री भएका थिए।

रावललाई मन्त्री बनाउने दबाब पन्छाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टलाई साथ लिएका थिए। त्यसपछि तत्कालीन नेकपामा भट्ट प्रचण्डको साथ छाडेर प्रधानमन्त्री ओलीनिकट बनेका हुन्।

गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरिएपछि तत्कालीन नेकपामा दुईधार देखियो। यसपछि त भट्ट ओली प्यानलमा उभिएको झनै स्पष्ट भयो।

नेपाल कम्युनिस्ट पार्टी नाम विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गर्दै साविक एमाले र माओवादी केन्द्र नै पुनर्स्थापना गरिदियो।

तर गृहमन्त्री रामबहादुर थापा (बादल), आपूर्तिमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह, खेलकूदमन्त्री दावा थापा, श्रममन्त्री गौरीशंकर चौधरीलगायत माओवादी केन्द्रका नेता एमालेतर्फ लागे। ओलीले एमाले सुदूरपश्चिमको इन्चार्जमा रावल हटाएर भट्ट राखेका छन् ।

भट्ट एमालेमा सामेल भएपछि पार्टीमा ठूलो धक्का लागेको माओवादी केन्द्रका नेताहरू बताउँछन्।

‘प्रदेशको इन्चार्ज तथा एक प्रभावशाली नेता एमालेमा समाहित भएपछि हाम्रो पार्टीले निकै ठूलो क्षति बेहोर्नुपरेको छ,’ सुदूरपश्चिमका माओवादी केन्द्रका एक नेताले नेपालखबरसँग भने, ‘उहाँको पार्टीभित्र बलियो पकड छ। त्यसैले उहाँसँग माओवादी केन्द्रको ठूलो पंक्ति एमालेमा जाने निश्चित छ। यसले पार्टीलाई कमजोर बनाउँछ।’

सुदूरपश्चिमका प्रभावशाली नेता लेखराज भट्टसँगै माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गर्नेको संख्या बढ्दै गएको छ।

माओवादी केन्द्रबाट प्रतिनिधि सभामा विजयी ३ सांसदमध्ये २ सांसद एमालेमा लागेका छन्। भट्टसँगै कैलाली–३ बाट प्रत्यक्ष निर्वाचित गौरीशंकर चौधरी पनि एमालेको केन्द्रीय सदस्य बनेका छन्। कञ्चनपुर–३ मा विजयी प्रचण्डकी बुहारी विना मगर मात्रै माओवादी केन्द्रमा छिन्।

यस्तै अछाम–२ (ख) बाट निर्वाचित माओवादी नेता तथा सुदूरपश्चिम प्रदेश सभा सांसद झपडबहादुर बोहरा पनि आर्थिक, मामिला तथा योजना मन्त्रालयबाट राजीनामा दिएर एमालेमा लागेका छन्।

माओवादी त्यागेर एमाले रोजेका सुदूरपश्चिम प्रदेशका एक्ला सांसद बोहरालाई ओलीले केन्द्रीय सदस्य बनाएका छन्। एमालेमा गएका आफ्ना नेतालाई पार्टीमा फर्किन माओवादी केन्द्रले आग्रह गरिरहेको भए पनि उनीहरू एमाले नछाड्ने अडानमा छन्। यस्तो अवस्थामा माओवादी केन्द्रले कारबाही प्रक्रिया अगाडि बढाए बोहराको सांसद पद जाने निश्चित छ।

प्रदेश सांसद बोहराले बरु कारबाही भोग्न तयार रहेको तर आफू अब माओवादी केन्द्रमा नफर्किने बताएका छन्।

‘अब माओवादीमा फर्किने सम्भावना छैन। पार्टीको विधानअनुसार कारबाही सहन पनि तयार छु,’ बोहराले नेपालखबरसँग भने, ‘त्यो बेला मन्त्री त छाडें। सांसद पद छाड्न मलाई केही चिन्ता छैन।’

संसद् विघटनका बखत बोहराले आर्थिक, मामिला तथा योजना मन्त्रालयबाट राजीनामा दिएर प्रधानमन्त्री ओलीका पक्षमा उभिएका थिए।

लेखराज भट्ट एमालेमा लागेपछि त्यसको प्रभाव जिल्लादेखि गाउँ–गाउँसम्म देखिन्छ। माओवादी केन्द्रमा भट्टनिकट नेता/कार्यकर्ता एमालेमा प्रवेश गर्ने क्रम बढेको हो।

एमाले–माओवादी एकीकरणपछि कञ्चनपुरको अध्यक्ष बनेका माओवादी नेता वीरबहादुर थापा (पातल) एमालेमा छन्।

यस्तै नेकपा माओवादी केन्द्र बाजुराका संयोजक भरत बुढा, पोलिटब्युरो सदस्य सहदेव बोगटी र मिलन खत्री, केन्द्रीय आयोजक कमिटी सदस्य अर्जुन रोकाया, काली धराला र सुरेश रोकाया पनि केही दिनअगाडि मात्र एमालेमा प्रवेश गरेका छन्।

उता एमाले–माओवादी गठनबन्धनमा माओवादीका त्रिलोचन भट्ट नेतृत्वको सरकार अल्पमतमा छ। ५३ सांसद रहेको प्रदेश सरकारमा साविक एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ सांसद छन्।

यो पनि : प्रदेश सांसद बोहरा भन्छन् : पद छाड्छु, ओली छाड्दिनँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .