ad ad

राजनीति


वागमती सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

वागमती सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

नेपालखबर
चैत १६, २०७७ सोमबार १५:१,

माओवादी केन्द्रले वागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

सोमबार बसेको वागमती प्रदेश माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री डोरमणी पौडेललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सांसद विशाल खड्काले जानकारी दिए।

वागमती प्रदेशमा माओवादी केन्द्रको २३ सांसद छन्। पुस १० गते मुख्यमन्त्रीविरुद्ध तत्कालिन नेकपाका माधवकुमार नेपाल र प्रचण्ड पक्षका संसदहरुले अविश्वास प्रस्ताव पेश गरेका थिए। तर फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकता भंग गरेपछी माधवकुमार नेपाल एमालेमै फर्केका छन्।

नेपाल पक्षले पौडेल विरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने भएपछी माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

‘हाम्रो दलको बैठकले वागमती प्रदेशमा प्रतिपक्षीमा बस्ने निर्णय गरेको छ’, खड्काले भने, ‘अब दलको बैठकले पुरानै संरचना पनि बनाएको छ।

बैठकले वागमती प्रदेशको संसदीय दलको नेतामा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल र उप–नेतामा कुमारी मोक्तानलाई चयन गरेको उनले जानकारी दिए। यस्तै, दलको प्रमुख सचेतकमा बुद्धिमान माझी र सचेतकमा प्रतिमा श्रेष्ठलाई चयन गरेको बताए।

बागमती प्रदेशमा कुल ११० जना प्रदेशसभा सदस्यमध्ये एमालेका ५७ जना र माओवादी केन्द्रका २३ जना सदस्यहरु छन्। यस्तै नेपाली कांग्रेसको २२ जना सदस्य रहेको छन् भने ​विवेकशील साझाको ३, नेमकिपाको २, राप्रपाको २ र स्वतन्त्र सदस्य १ जना रहेका छन्।

नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपनि एमालेलाई सरकार टिकाउन बहुमत पुग्छ। अब कांग्रेसको स्थानमा माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .