पूर्वराजा ज्ञानेन्द्र शाह र राजपरिवारका अन्य सदस्यको सुरक्षामा खटिएका २५ सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ।
मंगलबार पूर्व राजा शाहको सुरक्षामा खटिएका २५ सशस्त्र प्रहरीलाई फिर्ता बोलाइएको सशस्त्र प्रहरीका प्रवक्ता डीआइजी राजु अर्यालले जानकारी दिए।
यसअघि पूर्व राजाको सुरक्षामा खटिएका ५८ सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको थियो।
डीआइजी अर्यालले पूर्व राजाको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई यसअघि नै फिर्ता बोलाउने सरकारको निर्णय अनुसार फिर्ता बोलाइएको बताए। उनली शाह झापा भ्रमणमा रहेका कारण केही ढिला भएको बताउँदै उनी काठमाडौँ फर्किए लगत्तै सुरक्षाकर्मी फिर्ता गरिएको बताए।
‘पूर्व राजा शाह झापामा भएकाले २५ जनाको सुरक्षाटोली उहाँसँगै थियो। अस्ति उहाँ फर्किएपछि आज टोलीलाई फिर्ता बोलाएका हौँ’, प्रवक्ता अर्यालले नेपालखबरसँग भने।
२५ सुरक्षाकर्मी फिर्ता बोलाएसँगै अब ज्ञानेन्द्र शाहसँग डीएसपीको नेतृत्वमा १६ सुरक्षाकर्मी परिचलित हुनेछन्।
सरकारले गत माघमा ‘अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७’ ल्याएको थियो। सोही कार्यविधिअनुसार पूर्वराजा, पूर्व प्रधानमन्त्रीहरु, पूर्व गृहमन्त्रीलगायतको सुरक्षा कटौती गरिएको हो।
Shares
प्रतिक्रिया