ad ad

राजनीति


ओलीलाई पाण्डेको चुनौतीः त्यो मेसेजबारे जाँचबुझ कार्यदल गठन गरौँ र नेपाल टेलिकमसँग तथ्यहरु मागौँ (पूर्णपाठ)

ओलीलाई पाण्डेको चुनौतीः त्यो मेसेजबारे जाँचबुझ कार्यदल गठन गरौँ र नेपाल टेलिकमसँग तथ्यहरु मागौँ (पूर्णपाठ)

नेपालखबर
चैत १७, २०७७ मंगलबार १२:३४,

नेकपा–एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई फागुग २८ गतेको केन्द्रीय कमिटी बैठकबारे सूचना र बैठकको कार्यसूचीबारे जानकारी नदिएको बताएका छन्।

एमालेको माधवकुमार नेपाल पक्षले सो बैठकमा ओलीले आफूनिकटका सदस्यहरु मात्र राखेर आफू अनुकूल निर्णय गराएको र आफ्नो विरोध गर्नेहरुलाई जिम्मेवारीविहीन पारेको भन्दै सो बैठकको निर्णय नमान्ने बताउँदै आएका छन्।

‘केन्द्रीय कमिटीको बैठक भन्दा तीन दिनपहिले नै केन्द्रीय कमिटीका सदस्यहरुलाई दिनुपर्छ। तपाइँले त्यस्तो सूचना र विषयसूची दिनुभएको छैन। संसदीय दलको बठैकमा बोल्दै तपाईंले २८ गतेको उक्त बैठकमा सबैलाई खबर पठाइएको दाबी गर्नुभयो,’ पाण्डेले ओलीलाई पठाएको स्पष्टीकरण पत्रमा भनेका छन्, ‘तपाईंलाई मेरो चुनौती छ त्यो तपाईँको सत प्रतिशत झुठो दाबी हो। तपाईंको आफ्नै गुटका सदस्यहरुलाई पठाइएको मेसेजमा समेत केन्द्रीय कमिटीको बैठक भनेर खबर गरिएको थिएन। त्यसमा लेखिएको थियो– कमरेड अभिवादन, यहि फागुन २८ गते शुक्रवार विहान ठीक ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उपस्थितिका लागि अनुरोध छ। ईश्वरी रिजाल, सचिव, नेकपा (एमाले) केन्द्रीय कार्यालय, धुम्बाराही’।

अध्यक्ष ओलीले यस्ता झुठा कुरा पटक–पटक गर्ने गरेको पाण्डेको आरोप छ।

‘उदाहरणका रुपमा राष्ट्रपतिकहाँ पठाइएको समावेदन फिर्ता गर्दा अध्यादेश फिर्ता गर्छु भनेर सहमति गर्नुभयो, समावेदन फिर्ता भयो। तर तपाईँ आफैले फिर्ता गर्छु भनेको अध्यादेश फिर्ता लिनु भएन। त्यसैगरी अहिले फागुन २८ गतेको गुटको बैठकलाई पार्टी केन्द्रीय कमिटीको बैठक भन्नु भएको छ,’ पाण्डेले भनेका छन्।

याे पनि : नेपाल र रावल ६ महिना निलम्बित, भुसाल र पाण्डेलाई पुनः स्पष्टीकरण (पत्रसहित)

उनले ओलीले आफूहरुलाई शत्रुलाई जस्तो पत्र पठाएको हुँदा त्यसको जवाफ लेखिरहनु आवश्यक नभएको तर्क गरेका छन्।

तर आफूले पार्टीपंक्तिलाई जानकारी दिनका लागि जवाफ दिएको उनले बताएका छन्।

‘तपाईँले पठाउनु भएको मिथ्या पत्रका बारेमा स्पष्टिकरण दिनु पर्ने त हुँदै होइन, कुनै पनि उत्तरसमेत लेख्न जरुरी छैन तर तपाईँले लगाउनुभएका आरोपहरु कति पूर्वाग्रही छन् र तपाईँका दावीहरु कति झूठा छन् भन्ने कुरा पार्टीपंक्तिलाई जानकारी गराउनु पर्ने भएकोले यो पत्र लेख्दै छु,’ ९ पृष्ठ लामो स्पष्टीकरणमा उनले भनेका छन्, ‘साथै, अहिलेका समस्या केवल विधानको पालना गर्ने वा नगर्ने भन्ने मात्रै होइन तपाईँले पार्टीलाई राजनीतिक, वैचारिक तथा सैद्धान्तिक रुपमा नेतृत्व गर्न असफल हुँदैजाँदा आएका समस्या हुन् भन्ने मेरो मूल्याङकन पनि यहाँ उल्लेख गर्न चाहन्छु।’

सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीलाई बुझाएको स्पष्टीकरण पत्र: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .