नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई राख्ने कि अविश्वासको प्रस्ताव पेश गर्ने भन्ने विषयमा निर्णय गर्न आग्रह गरेको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको अनौपचारिक बकैठकपछि पत्रकारसँग कुरा गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीको निर्णय कुर्नु भन्दा पनि आफ्नै दृष्टिकोणका आधारमा सरकारबारे निर्णय गर्न आग्रह गरेको बताए।
कांग्रेस र राजपाले माओवादीले सरकारलाई समर्थन फिर्ता लिएपछि आफूहरुले निर्णय गर्ने बताएको भन्ने पत्रकारको प्रश्नमा उपाध्यक्ष श्रेष्ठले माओवादीले सरकारलाई समर्थन छैन भनेर भनिसकेको र लेखेर दिने प्राविधिक कुरामात्रै बाँकी रहेको बताए।
‘हामीले औपचारिक रुपमा यो सरकारलाई समर्थन छैन भनेर लेखेर दिने प्राविधिक कुराका कारणले नेपाली कांग्रेस र जसपाले निर्णय नगरेको भन्ने कुरा सत्य होइन्’, उनले भने, ‘नेपाली कांग्रेस र जसपाले आफ्नै निर्णय दृष्टिकोणका आधारमा निर्णय गर्नुपर्यो। यो सरकारलाई राख्ने कि अविश्वासको प्रस्ताव पेश गर्ने त्यसको निम्ति हामी गम्भीर अपिल गर्दछौँ।’
उनले कांग्रेस र जसपालाई सरकारमा जाने भए पनि स्पष्ट हुन हुन आग्रह गरे।
‘हामी सबै राजनीतिक पार्टीहरुलाई आ–आफ्नो कुरा प्रस्ट ल्याउन आग्रह गर्छौं। केपी ओलीकै सरकारमा जानु छ, समर्थन छ भने गरे हुन्छ’, उनले भने।
प्रवक्ता श्रेष्ठले ओली सरकारको विस्थापन र संसद पूरा आयू चल्नुपर्छ भन्ने आफूहरुको मत रहेको बताए।
प्रतिक्रिया