ad ad

राजनीति


६ नेताबीच सहमति गरेर देउवासँग छलफलमा बसे जसपाका नेता

६ नेताबीच सहमति गरेर देउवासँग छलफलमा बसे जसपाका नेता

नेपालखबर
चैत २७, २०७७ शुक्रबार ११:५०,

जनता समाजवादी पार्टी (जसपा) का नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न ढिलाइ गर्न नहुने निष्कर्ष निकालेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठकमा सहभागी हुनुअघि पौने घण्टा आपसी छलफलमा बसेका जसपाका ६ नेताबीच एकखालको समझदारी बनेको नेताहरुले बताएका छन्।

महाराजगञ्जमा रहेको एक कार्यालयमा जसपाका ६ नेताबीच छलफल भएको र ओलीको विकल्प खोज्नेगरी समझदारी बनाएको एक नेताले जानकारी दिए।

पौने घण्टा भएको छलफलमा अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भटटराई, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए।

सो छलफलमै अग्रगामी पक्षसँग मिलेर जाने समझदारी बनाएको ती नेताले नेपालखबरलाई जानकारी दिए।

‘केपी शर्मा ओलीको विकल्प खोज्न अब पनि ढिलाइ गरे सो कदमले देशलाई थप संकटतर्फ धकेल्नेछ, ओली रहेसम्म केही सुनिश्चितता हुँदैन,’ जसपाभित्र बनेको समझदारी उल्लेख गर्दै एक नेताले भने, ‘ओलीको निरन्तरतामा अल्झिनु निकै घातक छ, निरन्तरता होइन काँडा निकाल्दा राम्रो हुन्छ।’

पार्टीभित्र प्रधानमन्त्री ओलीलाई साथ दिएर जाने कि नयाँ सत्ता समीकरण बनाउन कांग्रेससँग मिल्ने भन्ने विषयमा दुई धार छ।

महन्थ ठाकुर, राजेन्द्र महतो र लक्ष्मणलाल कर्ण ओलीसँग मिलेर जसपाले उठाएका माग सम्बोधन गराउनुपर्ने पक्षमा छन भने, यादव, भट्टराई र श्रेष्ठ नयाँ सत्ता समीकरण बनाउनुपर्ने पक्षमा छन्।

पार्टीभित्र दुईधार भएपछि सत्ता समीकरणको लागि निर्णायक बनेको जसपालाई लिएर सरकार बनाउन कांग्रेस हच्किएको छ। त्यसैकारण देउवाले ओलीविरुद्ध कुनै कदम चाल्न सकेका छैनन्। अविश्वासको प्रस्ताव पनि ल्याउन देउवा तयार छैनन्।

देउवाले जुन विकल्प मान्छन् त्यसमै छलफल गर्ने
स्रोतका अनुसार ओली हटाउनको लागि जुनसुकै विकल्पबारे छलफल गर्न तयार हुनुपर्ने समेत जसपाका नेताहरुबीच समझदारी बनेको छ।

‘संविधान उल्लंघनकर्तालाई राख्न हुँदैन, ओली हटाउन कुन कुन विकल्पमा सहमति हुन्छ ती सबैमा खुला रहनुपर्छ भन्ने समझदारी भएको हो,’ स्रोतले भन्यो।

शुक्रबार देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जसपाबीचको बैठकमा जसपाले नयाँ सत्ता समीकरणका लागि समय मागेको थियो।

जसपाले भोलिपनि आफ्ना ६ जना शीर्ष नेताको बैठक राख्ने भएको छ।

भोलि पार्टीको बैठक राखेर सत्ता समीकरणबारे ठोस निर्णय गर्ने नेताहरुको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .