ad ad

राजनीति


धनुषा र सर्लाहीमा आजदेखि स्थानीय तहका नागरिकलाई जिल्ला प्रशासनको सेवा बारअनुसार पालैपालो

धनुषा र सर्लाहीमा आजदेखि स्थानीय तहका नागरिकलाई जिल्ला प्रशासनको सेवा बारअनुसार पालैपालो

शैलेन्द्र महतो
बैशाख १२, २०७८ आइतबार ४:३६,

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि प्रदेश २ का धनुषा र सर्लाही जिल्ला प्रशासन कार्यालयले आज (आइतबार) देखि आफ्ना स्थानीय तहका नागरिकलाई बारअनुसार पालैपालो सेवा प्रवाह गर्ने भएका छन्।

त्यस सम्बन्धमा दुवै जिल्ला प्रशासन कार्यालयले तालिका नै बनाएर सूचना जारी गरेका हुन्।

धनुषा जिल्ला प्रशासन कार्यालयद्वारा जारी तालिकाअनुसार आइतबारका दिन सबैला, गणेशमान चारनाथ र नगराइन नगरपालिका, सोमबार मिथिलाबिहारी, क्षिरेश्वरनाथ र धनुषाधाम नगरपालिका तथा मंगलबार मुखियापट्टी मुसहरनिया गाउँपालिका, मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाका नागरिकले जिल्ला प्रशासनबाट सेवा लिन पाउनेछन्।

यसैगरी बुधबार सेवा लिने पालो लक्ष्मीनिया गाउँपालिका, हंसपुर नगरपालिका र जनकनन्दनी गाउँपालिका, बिहीबार औरही गाउँपालिका, सहिदनगर र विदेहनगर नगरपालिकाका नागरिकको हो।

हप्ताको अन्तिम दिन शुक्रबार भने जनकपुरधाम उपमहानगरपालिकाका नागरिकका लागि पालो छुट्याइएको छ।

धनुषा जिल्ला प्रशासन कार्यालयका अनुसार संघ/संस्था दर्ता र नवीकरण आइतबारदेखि बुधबारसम्म र पत्रपत्रिका, छापाखाना दर्ता तथा विधान संशोधनसम्बन्धी सेवा बिहीबार र शुक्रबार मात्र दिइनेछ।

यस्तै सर्लाहीमा जिल्ला प्रशासनबाट सेवा लिने कार्यतालिकाअनुसार आइतबार चक्रघट्टा गाउँपालिका, बलरा नगरपालिका र बसबरिया गाउँपालिका, सोमबार गोडैता नगरपालिका, चन्द्रनगर गाउापालिका र वडा नम्बर १ बाहेक हरिपुर नगरपालिकाका नागरिकको पालो परेको छ।

यस्तै मंगलबार ब्रह्मपुरी गाउँपालिका, विष्णु गाउँपालिका र रामनगर गाउँपालिका, बुधबार कविलासी नगरपालिका, धनकौल गाउँपालिका र इश्वरपुर नगरपालिकाका वडा नं. १३, १४ र १५ का नागरिकलाई सेवा दिइनेछ।

बिहीबार कोडेना गाउँपालिका र मलंगवा नगरपालिका तथा शुक्रबार हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका नागरिकलाई सेवा प्रवाह गरिने सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङद्वारा जारी सूचनामा उल्लेख छ।

सूचनाअनुसार राष्ट्रिय परिचयपत्र अभियान सञ्चालन भइरहेका पालिकाका नागरिकलाई तथा शान्ति सुरक्षा, मुद्दा मामिला, विपद् र दुर्घटनासम्बन्धी सेवा दैनिक रूपमा दिइने सर्लाही जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

भीडभाड नहोस् र कोरोना संक्रमण फैलिन नपाओस् भनेर धुनषा र सर्लाही जिल्ला प्रशासन कार्यालयले स्थानीय तहका नागरिकलाई सेवा प्रवाहमा पालो प्रणाली अपनाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .